Sunday, March 24, 2019

बैदेशिक ऋण: सम्बृद्धि कि अभिशाप?

​​बिगत केहि बर्ष यता प्राय हरेक राजनीतिकर्मीहरुले बाक्यै पिच्छे प्रयोग गर्ने शब्दहरु हुन् : आर्थिक वृद्धि, सम्बृद्धि र सुशासन। अहिले आएर यसमा "बैदेशिक ऋण" पनि थपिने देखिएको छ।

हालै प्रधानमन्त्रि केपी ओलीले चीन भ्रमणका दौरान बहु-चर्चित "केरुङ/काठमाडौँ  रेलमार्ग" आयोजना अघि बढाउने भनेर समझदारी गरेपश्चात यसबारे बहस र छलफल सुरु भएको छ। यो रेल आयोजना पक्षधरहरु भन्छन: यो रेलमार्ग सम्पन्न गर्नसके यसले देशमा समृद्धिको ढोका खोल्नेछ, अर्थ ब्यबस्थामा कायापलट ल्याउनेछ। त्यसैले यो आयोजना कुनै हालतमा जसरि भएपनि सम्पन्न गर्नुपर्छ। जसरि भएपनि भन्नाले पाए अनुदानमा, नपाए ऋण (बैदेशिक) लिएर भएपनि भन्ने अर्थ लाग्छ।

अर्को पक्ष भन्छ: रेल अनाबश्यक होइन, आबश्यक नै हो। आबश्यक हुँदाहुँदै पनि केहि महत्वपूर्ण सवालहरु छन्, जस्तै: "रेल आयोजना ब्यबसायिक दृस्टीले फाइदामुलक छ/छैन? रेल संचालन गर्ने सबैभन्दा उपयुक्त र आबश्यक स्थान कहाँ हो? प्रस्तावित रेल संचालन गर्ने ठाउँ भौगोलिक हिसाबले जोखिमयुक्त छ/छैन? रेल संचालन गर्नु अघि हाम्रा अति आबश्यक प्राथमिकता के के छन्? यति ठुलो स्केलको मेगा परियोजना संचालन र ब्यबस्थापन गर्न हामिसंग अनुभब, क्षमता, साधन र स्रोत के छ? बैदेशिक ऋण लिएर यस्तो परियोजना संचालन गर्नु कति उपयुक्त र आबश्यक हो? के यो रेल आयोजनाले गर्ने सम्भाब्य आम्दानी बैदेशिक ऋणको साँवा र ब्याज तिर्न सक्षम छ त? आदि। यसरि प्रस्तावित "केरुङ/काठमाडौँ  रेलमार्ग" परियोजनाको बारे पक्ष र बिपक्षमा विभिन्न धारणाहरु संचार माध्यम र सामाजिक संजालमा आएका छन्। 

रेल आर्थिक बिकासको अति आबश्यक पूर्वाधार हो भन्नेमा दुइ मत नहोला। तर यहि मत बैदेशिक ऋण बारेमा नहोला। किनभने बैदेशिक ऋण आर्थिक र राजनैतिक हिसाबले एकदमै जोखिमपूर्ण, बिबादित र जटिल समस्याको बिषय हो। एकदमै फाइदामुलक परियोजनामा अति नै आबश्यक नभई बैदेशिक ऋण लिनुहुँदैन। फाइदामुलक नभएमा बैदेशिक ऋण पन्छाउनै पर्छ। बैदेशिक ऋण सम्बन्धमा धेरै सतर्कता अपनाउनै पर्छ। त्यसको प्रमुक कारण हो जोखिम। बैदेशिक ऋणले हरेक देशलाई २ प्रमुख जोखिमसंग जोडिदिन्छ: पहिलो बैदेशिक ऋण बिदेशी मुद्रामा हुने हुँदा बिदेशी मुद्राको जोखिमका कारण ऋणको साँवा तथा ब्याज रकम बढेर जाँदा ठुलो आर्थिक संकट आएर देश नै टाट पल्टन सक्ने अधिक सम्भाबना र अर्को हरेक बर्ष बैदेशिक ऋणको साँवा तथा ब्याजको रुपमा बिदेशी मुद्राको ठुलो भाग विदेश पलायन हुनेहुँदा देशमा पुँजीगत तथा बिकासका कार्यमा कमि आइ मन्दी आउन सक्ने ।

रेल आयॉजनाका पक्षधरहरु भने बैदेशिक ऋणबारे सहि जानकारी बिना हचुवाको भरमा "बैदेशिक ऋण पासो होइन, समृद्धिको ढोका हो" भन्ने गलत र भ्रामक प्रचारमा लागेका छन्।  बैदेशिक ऋण बारेको यस्तो अनाबश्यक, अति प्रचार र गलत बुझाइ प्रायोजित पनि हुनसक्छ। यो प्रयोजन बैदेशिक ऋण दिन चाहने मित्र राष्ट्रहरुबाट हुनसक्छ, जसको अभिस्ट नेपालमा परियोजनाहरु सफल पार्नु भन्दापनि असफल हुने परियोजनामा ऋण दिएर अफ्टेरो परिस्थिति सिर्जना गरि राजनैतिक वा आर्थिक नियन्त्रण हासिल गर्नु हुनसक्छ। 

सायद रेल आयॉजनाका पक्षधरहरुले "बैदेशिक ऋणलाइ बैदेशिक लगानी" भन्ने बुझेर पनि त्यस्तो प्रचारमा लागेका पनि हुन् सक्छन। यसो हो भने यी दुइको फरक बुझाउनुपर्ने हुन्छ। बैदेशिक लगानी बिल्कुलै ठिक छ, यसमा अति कम जोखिम हुन्छ त्यसैले ल्याउनुपर्छ। बैदेशिक ऋण ठिक छैन, यसमा अति धेरै जोखिम हुन्छ।  त्यसैले सकेसम्म ल्याउनु हुँदैन र ल्याएपनि गहिरो सोंच/विचार गरेर मात्र ल्याउनुपर्छ।

रेलको बिबिध पक्षबारे बहसका पाटाहरु यो आलेखको बिषय होइनन। यो आलेख मुख्य रुपमा "बैदेशिक ऋण कति ठिक/बेठिक, कति आबश्यक/अनाबश्यक? बैदेशिक ऋण लिएर मेगा परियोजना संचालन गर्नु कति उपयुक्त हो? बैदेशिक ऋणको बिदेशी राष्ट्रहरुमा के/कस्तो अनुभब छ? बैदेशिक ऋण कति जोखिमयुक्त छ?" आदिमा केन्द्रित रहनेछ। 

के हो बैदेशिक ऋण: बिदेशी राष्ट्र, बैंक वा संघसंस्थासंग बिदेशी मुद्रामा लिइएको ऋण र आयात व्यापारमा विदेशीलाई बिदेशी मुद्रामा तिर्नुपर्ने बाँकी रकम समेतको योगलाई बैदेशिक ऋण भनिन्छ। यी सबै बैदेशिक ऋण हुन्: निजि क्षेत्रको बिदेशी बैंकलाई तिर्न बाँकी साँवा/ब्याज रकम; बिश्व बैंक, एसियन डेभलपमेन्ट बैंक, अन्तरराष्ट्रिय मुद्रा कोष, बैंक फर इन्टरनेसनल सेटलमेन्ट, अन्तरराष्ट्रिय फाइनान्स कर्पोरेसन जस्ता अन्तरराष्ट्रिय संस्थाहरुलाई तिर्न बाँकी साँवा/ब्याज रकम; बिदेशी संघ/संस्थालाई बिक्रि गरिएको ऋणपत्र/डिबेन्चर/ट्रेजारीमा भुक्तानी दिन वा चुक्ता गर्न बाँकी साँवा/ब्याज रकम; र बैदेशिक व्यापारका कारण चालु खातामा बिदेशी आयात बापत तिर्न बाँकी रकम।

किन बैदेशिक ऋण: बैदेशिक ऋण लिने पहिलो कारण देशको आन्तरिक ऋण वा स्रोतबाट आयोजना वा परियोजनामा लगानी गर्न पुँजीको संकलन हुन् नसक्ने भएमा हो। अर्को कारण परियोजना राष्ट्रिय/अन्तरराष्ट्रिय महत्वको छ र यसले देशमा आर्थिक हिसाबले कायापलट ल्याउछ। अर्थात परियोजना प्रसस्त आम्दानी गर्नसक्ने, ऋणको साँवा र ब्याज आँफै आर्जन गरेर तिर्न सक्ने छ भन्ने हो। अर्को अवस्था देश औधोगिक बिकासमा अघि बढेको र आर्थिक प्रगति गरिरहेको हुनुपर्छ। 

अहिलेको हाम्रो अवस्थामा बैदेशिक ऋण कति आबश्यक र जायज छ भन्ने प्रश्न टड्कारो रुपमा आउंछ। त्यसैले माथिका यी अवस्थामा भएमा बैदेशिक ऋणको लागि पहल गर्ने र ल्याउने हो, अन्यथा होइन। 

कति बैदेशिक ऋण : कुनै देशले कति बैदेशिक ऋण लिनसक्छ भन्ने निर्णय त्यो देशको बैदेशिक मुद्रामा आम्दानी, सरकारी आम्दानी र ऋणको साँवा र ब्याज बिदेशी मुद्रामा तिर्न सक्ने क्षमतामा भर पर्दछ। यस सम्बन्धमा अन्तर्राष्ट्रिय मुद्रा कोषले दिएको आधार सबैभन्दा उपयुक्त र ब्यबहारिक छ। जस अनुसार "कुनै देशको बैदेशिक ऋणको स्वीकार्य मात्रा आजको खुद बर्तमान मूल्य (Net Present Value) मा कुल बैदेशिक निकासीको १५०% भन्दा कम वा कुल सरकारी आम्दानीको २५०% भन्दा कम हुनुपर्छ।

अतर्राष्ट्रिय मुद्रा कोषको यो आधार विश्वभर मान्य र ज्यादा प्रयोगमा छ। तर यसको अर्थ यो होइन कि यो आधार हरबखत लागु हुन्छ। यसभन्दा पहिला बैदेशिक ऋण लिने पहिलो सर्त हो : ऋणको साँवा र ब्याज परिआयोजना आँफैले आम्दानी गरेर तिर्न सक्ने भरपर्दो र टिकाउ आधार। अर्थात् बैदेशिक ऋण टिक्ने परियोजनामा देशले थेग्न सक्ने गरि मात्र हुनुपर्छ। देशले थेग्न नसक्ने बैदेशिक ऋण भएमा देशले दिर्घकालिन आर्थिक वृद्धि, बढ्दो व्यापारिक गतिबिधि र बैदेशिक लगानी हाँसिल गर्न दुरुह वा असम्भब प्राय हुन्छ। तसर्थ बैदेशिक ऋण लिनु पुर्ब धेरै ध्यान पुर्याउनुपर्छ।

कम वा मध्यम आय भएका देशहरुले बैदेशिक ऋण लिने/नलिने, लिए कति थप ऋण थेग्न सक्छन भन्ने पत्ता लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोषले २००२ मा ल्याएको External Debt Sustainability Analysis पद्दतिको प्रयोग गर्नुपर्छ। यो पद्दतिले देशको आर्थिक र मौद्रिक नीतिहरु, सुक्ष्म तथा बृहत आर्थिक अवस्था र अन्य अवस्थाहरु,जसले सम्भाब्य अस्थिरता र प्रतिकुल घटना निम्त्याउन सक्छन, को अध्ययन र बिष्लेषण गर्छ । यसका तिन तहमा बिष्लेषण गर्छ: पहिलो हाल बिद्यमान ऋणको अवस्था र सो को आयु/अवधि बनावट, स्थिर वा परिबर्तानिय ब्याजदरहरु, सूचकांक र ऋणदाताहरुको समिक्षा गर्नु; दोश्रो भुक्तानी समस्या आउनु अगावै नीतिगत सुधार लागु गर्न आबश्यक परेमा ऋण संरचना वा नीतिगत रुपरेखामा भएका कमजोरी पत्ता लगाउनु; र तेश्रो त्यस्तो समस्या देखा परेमा वा देखापर्ने आशंका भएमा ऋण-स्थिर बनाउने बैकल्पिक नीतिगत बाटाहरुको परिक्षण गर्ने।

यी तिन तहको बिश्लेष्ण गरेर बैदेशिक ऋणले पैदा गर्नसक्ने सम्भावित बित्तिय समस्यालाइ पत्ता लगाउन, रोक्न र समाधान गर्न सकिन्छ।
बैदेशिक ऋणका फाइदा/बेफाइदा: बैदेशिक ऋणको फाईदा भनेको ठुलो लगानीको लागि आबश्यक पुंजीको उपलब्ध हुनु हो। बैदेशिक ऋणले बित्तिय कारोबारमा बाहिर विश्वसँग जोड्छ। यसले बृहत अर्थशास्त्रीय नीति र पद्धतिको विकास गर्न पनि मद्दत गर्छ।

तर बिदेशी रास्ट्रहरुको अनुभब हेर्दा बैदेशिक ऋणका धेरै बेफाइदा देखिएको छ। कारण बैदेसिक ऋणले ठुला आर्थिक समस्याहरु ल्याउन सक्ने सम्भाबना धेरै भएकोले हो।  पहिलो बेफाइदा हो: बैदेशिक मुद्राको जोखिम। बैदेशिक ऋण बिदेशी मुद्रामा लिइने हुँदा यसमा बिदेशी मुद्राको बिनिमय दरमा परिबर्तन भएर साँवा/ब्याज बढ्ने ठुलो जोखिम रहन्छ। अर्को बेफाइदामा बैदेशिक ऋणको साँवा र ब्याज बार्षिक रुपमा भुक्तानी गर्दा देशको संकलित बैदेशिक मुद्रा र कोषको ठुलो भाग विदेश प्रबाह हुन्छ। बैदेशिक ऋण लिंदा ठुलो परिणाममा पुंजी देशभित्र आउने हुँदा मुद्रा स्फिर्ती हुने र समाल्नै नसक्ने गरि अर्थतन्त्रमा असर पर्न जान्छ। बैदेशिक ऋणले अर्थतन्त्रमा मुद्रा स्फ्रीति, ब्याजदर, संकुचन, मन्दी जस्ता अन्य धेरै समस्याहरु ल्याउन सक्ने देखिन्छ। 

बैदेशिक ऋणका समस्या: आन्तरिक स्रोत र बैदेशिक ऋण हरेक देशको अर्थतन्त्रको दुइ महत्वपूर्ण पक्ष हुन् जसले त्यो देशको अर्थतन्त्रको स्थायित्व र आर्थिक कार्य सम्पादनलाइ निर्देशित गर्छन । प्राय धेरै बिकासोन्मुक देशहरु बैदेशिक ऋणबाट संधै नै पिडित भैआएका छन्। ति देशहरु आर्थिक विकास र उन्नतिको लागि भनेर बैदेशिक ऋण लिन्छन तर त्यै बैदेशिक ऋणबाट थिचिएर उठ्न सक्दैनन । उल्टो तिनको अर्थतन्त्र कम्जोर र निरिह बनेको हुन्छ। बिगतमा बलियो र चुस्त ब्यबस्थापन भएका अर्थतन्त्रहरु बैदेशिक ऋण लिए पश्चात भ्रस्ट्राचार र पैसा विदेश लाने खेलले डरलाग्दो गरिबी र छिन्नभिन्न अर्थब्यबस्थामा पुगेको पाइएको छ। ६० को दशकमा अफ्रिकन देशहरुले स्थायित्व र बिकास कायम गरिरहेका थिए। तर जब विकासलाई अरु द्रुत गति दिने भनेर अन्धाधुन्द बैदेशिक ऋण लिए तब आर्थिक रुपमा अरु पछाडी धकेलिए। सोहि दशकमा ल्याटिन अमेरिको देशहरुको अनुभब पनि अफ्रिकन देशहरुको भन्दा भिन्न छैन।

किन तेस्तो भयो भन्दा ति देशहरु बैदेशिक ऋणले आफ्नो अर्थतन्त्रलाई कसरि नकारात्मक असर वा प्रभाव पर्नसक्छ भनेर कुनै पुर्बअनुमान नै गरेनन। लगानीको लागि ऋणपुंजी पाउँदा आँखा चिम्लेर लिंदै गए र त्यहि ऋणले पैदा गरेको संकटबाट बाहिर निस्कन सकेनन। तसर्थ, कुनैपनि देशले बैदेशिक ऋण लिनु पुर्ब यी केहि बुँदाहरुमा पर्याप्त ध्यान पुर्याउनु पर्छ :

- आबश्यक भन्दा ज्यादा उदार र अति आत्मबिस्वासी भएर आर्थिक विकास र वृद्धि हाँसिल गर्छु भन्ने भएमा जथाभाबी बैदेशिक ऋण लिन पुगिन्छ र यसको ठुलो समस्या आउछ। साथै ऋणदाताहरुमा पनि संभावित समस्याहरुको आंकलन नगरी ऋण दिने लालसा र चाहना बढी भएमा यस्तो स्थिति पैदा हुन्छ। उदाहरंणको रुपमा हाम्बनटोटा बन्दरगाहलाइ लिन सकिन्छ। यसमा ऋणदाता चीन र ऋणी श्रीलंका दुवै ऋण लिन/दिन अति उत्साही भएर समस्या आएको हो।
-  लगानी गलत ठाउमा भएर आबश्यक प्रतिफल प्राप्त नभएमा साँवा र ब्याज तिर्न नसक्दा पनि बैदेशिक ऋणको समस्या आउंछ। बिकसोंमुक देशमा आबश्यक सिप, साधन र पूर्वाधार नभएर ऋणको लगानी सहि नहुँदा यो अवस्था आउन सक्छ।
-  स्वदेशी मुद्राको बिदेशी मुद्रसंगको विनिमय दरमा अप्रत्यासित रुपमा ह्रास आएमा साँवा र ब्याजको रकम  बढ्न गएर बैदेशिक ऋणको ठुलो समस्या आउछ। 
-  अन्तरराष्ट्रिय बजारमा बस्तुको मुल्यमा ह्रास आएर निर्यात मूल्यमा कमि आई निर्यात आम्दानी घट्दा बैदेशिक ऋणको साँवा/ब्याज तिर्न नसक्ने भएर बैदेशिक ऋणको समस्या आउछ। १९८२ मा मेक्सिकोमा ठ्याक्कै यहि समस्या आएको थियो। 
-  बाहिरि राष्ट्रहरुमा विवाद र आर्थिक मन्दी भएर आफ्नो स्वदेशी बस्तुको बिदेशमा मागमा ह्रास आएमा निर्यात घट्न गई बस्तुको माग र कुल गार्हस्थ उत्पादन घट्न सक्छ र बिदेशी ऋणको समस्या आउछ।
बैदेशिक ऋणको साँवा र ब्याज बिदेशी राष्ट्रलाई बुझाउदै गर्दा स्वदेशी वा बिदेशी मुद्राको ठुलो धनराशी देशको अर्थतन्त्रबाट बाहिर जान्छ, जुन धनराशी देशमै लगानी गरि सार्बजनिक क्षेत्रमा सुधार ल्याई आर्थिक बिकासमा टेवा पुग्न सक्थ्यो। ठुलो धनराशी बिदेसिदा देशमा लगानीको लागि पुंजीको उपलब्धता घट्न जान्छ, जसले अन्तत कुल गार्हर्स्थ उत्पादन नै घटाउछ। 
दिगो नहुने बैदेशिक ऋण बढ्दै जाँदा यसले बिदेशी र निजि क्षेत्रको लगानिलाई दुरुत्साहित गर्छ।
बिदेशी ऋणमा ब्याज तिर्न नसकेको अवस्थामा सो तिर्नका लागि अरु बढी बिदेशी ऋण लिनुपर्ने बाध्यता आइ लाग्नसक्छ। त्यो हुँदा बैदेशिक ऋणको मात्रा र समस्या बढेर सुल्झाउनै नसक्ने गरि झन् गुजिल्टीएर जानसक्छ।
बिदेशी ऋणको दलदलमा फसेका कारण रास्ट्रको क्रेडिट रेटिंग खस्कन गइ अरु नयाँ ऋण वा लगानीको अवसर गुम्न सक्ने समस्या पनि उत्पन्न हुनसक्छ। बिगतमा बैदेशिक ऋणको अनुपात बढेर जाँदा साहारा क्षेत्रका विकासोन्मुख अफ्रिकन देशहरुको समग्र क्रेडिट रेटिंग घट्न गएको थियो, जसले सस्तो दरको ऋण नपाउने वा बिदेशी लगानी नआउने समस्या पैदा गर्छ। 
राजनैतिक स्थिरता नहुँदा पनि बैदेशिक ऋणको सहि प्रयोग र ब्यबस्थापन हुन् सक्दैन।  अन्तत बैदेशिक ऋणले समस्या नै पैदा गर्दछ।

कोसंग लिने बैदेशिक ऋण: आ-आफ्ना राजनैतिक र आर्थिक चासोका कारण चीन/भारत जस्ता हाम्रा दुवै छिमेकि देसहरु नेपालमा आफ्नो भूमिका बढाउने होडबाजीमा छन्। यसको लागि उनीहरु प्रसस्त बैदेशिक ऋण दिन तयार देखिन्छन्। तर नेपालले दुवै छिमेकि देसहरुसंग बैदेशिक ऋण लिएर यिनैबाट परियोजनाको काम पनि गराउदा जोखिमपूर्ण हुन्छ। हामीले चीन र भारत जस्ता छिमेकि देसहरुसंगको सम्बन्ध बिगार्न सक्दैनौं ति देशसंग बैदेशिक ऋण लिनु अरु जोखिमपूर्ण हुन्छ।

बैदेशिक ऋण लिंदा भोलि ऋणको साँवा र ब्याज तिर्न समस्या परेमा वा तिर्न नसक्ने भएमा सो ऋण मिनाह हुनसक्ने हेर्नुपर्छ ।ऋण लिंदा त्यस्तो ऋणदाता खोज्नुपर्छ जसले भोलि अफ्टेरो अवस्थामा ऋण मिनाह गर्न सकोस। एक असफल राष्ट्र छिमेकी राष्ट्रहरुको लागि पनि नैतिक समस्या (Moral Hazards) हुने र नकारात्मक परिणाम दिने हुन्छ। त्यसैले यस्तो अवस्थामा ऋण मिनाह अति आबश्यक हुन्छ। बिश्व बैंक, एसियन डेभलपमेन्ट बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, बैंक फर इन्टरनेसनल सेटलमेन्ट, अन्तर्राष्ट्रिय फाइनान्स कर्पोरेसन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुसंग लिएको बैदेशिक ऋण तुलानात्मक रुपमा ति संस्थाहरुबाट ऋण मिनाह गर्न सजिलो हुन्छ। त्यसैले यी संस्थाबाट बैदेशिक ऋण लिंदा केहि सजिलो हुनसक्छ। तर कुनै देशको सरकारी वा निजी संस्थाले सजिलै ऋण मिनाह गर्दैनन । जस्तै श्रीलंकाले आफ्नो ह्याम्बनटोटा बन्दरगाह बनाउन चीन सरकारको स्वामित्व भएको व्यापारिक संस्थाबाट ऋण लिएको हुनाले सो संस्थाले ऋण मिनाह गर्न मानेन। 

तर यहाँ प्रश्न उठ्छ: के यी अन्तर्राष्ट्रिय संस्थाहरु प्रस्तावित "केरुङ/काठमाडौँ  रेलमार्ग" परियोजनामा ऋण दिन सहमत छन् त? यी संस्था तबमात्र ऋणको लागि सहमत हुन्छ जब त्यो परियोजनाले आँफै आम्दानी गरेर ऋण तिर्ने सामर्थ्य राख्दछ। यी संस्था ऋण दिन तयार हुन्छन भने त्यस्तो ऋण लिनु धेरै हदसम्म सहि निर्णय हुनसक्छ। 

अन्य देशको अनुभब : बिकासोन्मुख देशहरुले लिएको बैदेशिक ऋण सफल भएको इतिहास लगभग छैन। विकासोन्मुख देशहरुले बैदेशिक ऋण लिए पश्चात प्राय ति देशहरुमा बित्तिय समस्या आएको तथ्य छ। ल्याटिन अमेरिकी देशहरुमा ८० को दशकमा बैदेशिक ऋण ठुलो समस्याको रुपमा उदाएको थियो। १९८२ मा मेक्सिकोले बैदेसिक ऋणको साँवा र ब्याज तिर्न नसक्ने जानकारी दिएपछि यो समस्याको सुरुवात भएको थियो। 

६० र ७० को दशकमा ब्राजिल, अर्जेन्टिना र मेक्सिकोले औद्योगिकारणका लागि पूर्वाधारमा लगानी गर्ने भन्दै अन्तरराष्ट्रिय ऋणदाताहरुबाट ठुलो मात्रामा बैदेशिक ऋण भित्र्याएका थिए। त्यस बखत यी देशहरुको अर्थतन्त्र बढ्दो थियो, त्यसैले ऋणदाताहरु यी देशमा ऋण लगानी गर्न उदार थिए। अरबका तेल उत्पादक देशबाट सहज र सुलभ रुपमा प्राप्त पैसा पश्चिमी देशका निजि क्षेत्रका बैंकहरुले यस्ता देशहरुको सरकारी ऋणपत्रमा लगानी गर्न उत्साहित हुन्थे। भविष्यमा हुने तेल उत्पादनको बिक्रिबाट हुने आम्दानीको धितोमा मेक्सिकोले अमेरिकी डलरमा ब्यापक ऋण लिएको थियो। तर जब विश्व बजारमा तेलको मूल्य खस्कियो,तब मेक्सिकोको अर्थतन्त्र धरापमा पर्यो र उ बैदेशिक ऋण तिर्न नसक्ने घोषणा गर्नपुग्यो।यहि अवस्था अर्जेन्टिना,ब्राजिल र चिलेमा पनि आयो ।
९० को दशकमा धेरै देशहरुमा यो समस्या दोहारिको थियो। मेक्सिकोमा फेरी १९९४ मा, थाईल्याण्ड, फिलिपिन्स, दक्षिण कोरिया, हंगकंग, सिंगापुर, ताइवान जस्ता पुर्बी-एसियाका देशहरुमा १९९७ मा, उत्तर कोरिया र रसियामा १९९८ मा, ब्राजिलमा १९९९ मा र अर्जेन्टिनामा फेरी २००२ मा बैदेशिक ऋणको समस्या आएको थियो। १९९४-९८ को समयमा उत्तर कोरिया पनि बैदेशिक ऋण तिर्न नसकि टाट उल्टेको तथ्य छ।


अफ्रिकी राष्ट्रहरुको आफ्नै अनुभब र पिडा छ। १९५०-६० को दशकलाइ "स्वर्ण युग" भनेर अनुभब गरेका अफ्रिकन देशहरुसंग १९७० अघिसम्म बैदेशिक ऋण लगभग शुन्य थियो। सो समयमा उनीहरुलाइ आउने बैदेशिक सहयाता पनि नाम मात्रको थियो। ७० को दशक यता बिगत ६०/६५ बर्षमा धनि राष्ट्रहरुले अफ्रिकन राष्ट्रहरुलाई करिब १० खर्ब डलरको ऋण सहयोग गरे। विकासोन्मुख यी अफ्रिकी देशहरुले लिएको तेत्रो बैदेशिक ऋण कि त व्यक्तिको बिदेशी खातामा राखिने कि त पश्चिमी देशबाट आएका परियोजना परामर्शदाताहरुलाई तिरेर सकिदो रहेछ। ऋणको शर्त अनुसार साँवा र ब्याज तिर्नका लागि यी देशहरुले आफ्नो सामाजिक खर्च र  गतिविधिमा उलेख्य कमि ल्याउनुपर्ने अवस्था आएको थियो। जसको परिणाम हाल अफ्रिकन देशहरुको प्रतिब्यक्ति आय १९७० को दशकमा भए भन्दा पनि कम छ। ३५ करोड जनता दिनको १ डलरभन्दा कम आयमा गुजारा चलाउछन् र यो संख्या बिगत २ दशकमा दोब्बर भएको छ।

२००८-०९ पछिको मन्दीपछि पोर्चुगल, इटाली, आयरल्याण्ड, ग्रिस र स्पेन, जसलाई पिग्स (PIIGS) भनिन्थ्यो, जस्ता युरोपेलि देशहरुमा आएको बैदेशिक ऋणको ठुलो संकट २०१५ सम्म तानिएको थियो र हाल मुस्किलले टरेको छ। ग्रिस त लगभग टाट नै उल्टेको थियो। स्पेन र पोर्चुगल्को अवस्था पनि अति खराब थियो। अहिले पोर्टोरिको यहि समस्यासंग जुझीरहेको छ। चीनबाट लिएको बैदेशिक ऋणले पैदा गरेको कठिन समस्याबाट त्राण पाउन हालैमात्र श्रीलंकाले आफ्नो ह्याम्बनटोटा बन्दरगाह ९९ बर्षको लागि चीनलाई नै सुम्पेको छ। बैदेशिक ऋणले पैदा गरेका यस्ता समस्याहरुको उदाहरणहरु संसारमा अरु पनि थुप्रै छन्।

निस्कर्ष: ऋण एक आबश्यक तर दुष्टकर ब्यबस्था हो। बैदेशिक ऋण त झनै कष्टकर ब्यबस्था हो। तुलानात्मक रुपमा आन्तरिक ऋण धेरै सरल र अतिकम जोखिमपूर्ण हुन्छ। आन्तरिक होस् वा बैदेशिक, ऋणलाई पूर्णरुपमा नकार्न सकिदैन तर बैदेशिक ऋणबाट भने सकेसम्म टाढै रहनुपर्छ। परियोजना अति नै सफल हुने वा आय गर्न सक्ने नभई बैदेशिक ऋणमा हात हाल्नु हुँदैन। बैदेशिक ऋणको सट्टा बैदेशिक लगानीमा जोड दिनु बढी उपयुक्त हुन्छ। आन्तरिक ऋणबाट परियोजनामा लगानी गर्न सके पनि जोखिम धेरै कम हुन्छ।
आर्थिक रुपमा एकदमै सम्भाव्य परियोजनाहरु बिदेशी लगानी वा आन्तरिक ऋणबाट गराउने हो भने यो समृद्धिको ढोका बन्न सक्छ, अन्यथा दुरुह छ । ल्याटिन अमेरिकी, अफ्रिकन, एसियन र केहि युरोपियन राष्ट्रहरुको दृस्टान्त हेर्दा बैदेशिक ऋण समृद्धिको ढोका होइन,अभिशाप भएको छ। युरोपमा आएको हालैको ऋण समस्या खासगरि ग्रिस र पोर्चुगल जस्ता धेरै बैदेशिक ऋण हुने देशहरुका कारण यूरोपियन युनियन भित्र र अन्तरराष्ट्रिय पुंजीबजारमा समेत ठुलो समस्या पैदा गरिदिएको थियो। ग्रिस त डुबिसकेको थियो, पोर्चुगल पनि डुब्ने खतरामा थियो। ग्रिस डुब्थ्यो त अरु केहि युरोपियन देशहरुलाइ पनि यसले आँफैसंग तानेर डुबाउने थियो, जसको असर विश्वका अन्य देशमा पनि फैलने थियो। 

बैदेशिक ऋणले आन्तरिक अर्थब्यबस्थाको हरेक पक्षलाइ नै खल्बल्याईदिन्छ। हाम्रो जस्तो अति कमजोर अर्थतन्त्र र अति कम बिकसित देश अन्धाधुन्ध "बैदेशिक ऋण" लिने होडमा लाग्ने हो भने यो सिधै अर्थतन्त्रलाइ धरासायी बनाउने र देशलाइ टाट उल्टाउने बाटोमा उद्यत हुनु हो। अहिलेको बाताबरणमा हामीसंग बैदेशिक ऋणलाइ सहि प्रयोग गर्ने त्यो तहको अनुभब, क्षमता र सिप छैन।

मित्रराष्ट्रहरुले अनुदान सहयोगमा दिएका आयोजनाहरु समेत हामी चलाउन नसकेर बसेका छौं। यस्तो अवस्थामा के हामीले बैदेशिक ऋण लिएर ठुला ठुला आयोजनाहरु सफलतापुर्वक सम्पन्न गरौंला त? यो विकास प्रतिको नकारात्मकता नभई बैदेशिक ऋण प्रतिको सतर्कता हो, जोखिम बारेको पूर्वानुमान हो। त्यसैले बैदेशिक ऋण भने, सुने र देखे जस्तो सजिलो हुँदैन ।

मुक्ति अर्याल । ट्विटर : @ISDBR​​

No comments:

Post a Comment