बिगत १२/१५ बर्षदेखि नेपालमा आइपिओ (सेयरको सार्बजनिक निष्कासन)को बाढी नै आइरहेको छ। यस अवस्थामा पुंजी बजारका लगानीकर्ता र पाठकहरुलाई अब आइपिओ के भनेर बताईराख्न जरुरि रहेन। तर हामीकहाँ प्रयोग हुने आइपिओको प्रक्रिया भने अझैपनि पराम्परागत मात्रै छ। बिकसित देशहरुमा भने बिबिध तरिकाहरुबाट आइपिओ हुने गर्छ।
हालै युरोप/अमेरिकाको बजारमा एक त्यस्तै फरक र दुर्लभ किसिमको आइपिओ आएको छ, जसको बारेमा मिडियामा जताततै बहस र छलफल छाएको छ। यो हो डाइरेक्ट लिस्टिंग (Direct Listing) । म्युजिक स्ट्रीमिङ्ग सेवा उपलब्ध गराउने स्पटिफाई (SPOTFY) नामक एक नर्बेजियन कम्पनिले यस प्रकारको आइपिओको प्रयोग गरेर अमेरिकी बजारबाट पुंजी संकलन गर्न लागेको हो। स्पटिफाई नै पहिलो बिलियन डलर कम्पनि हो जसले डाइरेक्ट लिस्टिंगको माध्यमबाट आफ्नो सेयरको निस्काशन गर्दैछ।
पराम्परागत आइपिओमा सेयरहरू पहि ला सर्ब-साधारणलाइ बेचिन्छ र त्यसपछि स्टक एक्सचेन्जमा लिस्टिंग गरिन्छ। डाइरेक्ट लिस्टिंगमा भने यसको ठिक ऊल्टो हुन्छ : सेयरहरू स्टक एक्सचेन्जमा लिस्टिंग गरिन्छ र त्यसपछि सर्ब-साधारणलाइ बेचिन्छ। यसरि डाइरेक्ट लिस्टिंग पराम्परागत आइपिओ भन्दा धेरै फरक र नयाँ धाराणा भएकाले यस बारेमा हामीले पनि छलफल गर्नु बान्छनिय नै हुन्छ।
त्यसो त डाइरेक्ट लिस्टिंग बाहेक पुंजी संकलनका अरुपनि अपरम्परागत तरिकाहरु छन् जस्तै: डाइरेक्ट पब्लिक अफरिंगस् (Direct Public Offerings), डु इट योरसेल्फ आइपिओ (Do It Yourself IPO) आदि । तर यो आलेख डाइरेक्ट लिस्टिंगमा मात्रै केन्द्रित रहनेछ।
स्पटिफाईले आफ्ना सेयरहरू पहिला न्युयोर्क स्टक एक्सचेन्जमा डाइरेक्ट लिस्टिंग गर्नेछ। लिस्टिंग पश्चात कुनै एक आधार मुल्यबाट यसको किनबेच सुरु हुनेछ। खरिद गर्ने लगानीकर्ताहरुले सिधै स्पटिफाईबाट आंफुले चाहेको मूल्य र संख्यामा सेयरहरू खरिद गर्न पाउनेछन्। न्युयोर्क स्टक एक्सचेन्जमा स्पटिफाईको टिकर सिम्बोल SPOT हुनेछ। टिकर सिम्बोल भनेको न्युयोर्क स्टक एक्सचेन्जमा लिस्टिंग भएका कम्पनीहरुको सेयर किनबेच हुँदा सो एक्सचेन्जको बिग बोर्डमा कम्प्युटरले टिक/टिक हान्दै कारोबार रेकर्ड गर्ने कोड हो।
डाइरेक्ट लिस्टिंग कम्पनि आँफैले आँफुलाई पब्लिकमा लैजाने प्रक्रिया भएकाले यो पारम्परिक आइपिओ (Traditional IPO) भन्दा धेरै अर्थमा फरक हुन्छ। यो प्रक्रिया धितोपत्र कानुनका धेरै दर्ता र रिपोर्टिंगको प्रक्रियाबाट झन्झट मुक्त र सरल हुन्छ। सुचना र तथ्यांक पनि धेरै सार्बजनिक गर्नुपर्दैन। तर अमेरिकी स्टक एक्सचेन्जमा डाइरेक्ट लिस्टिंग गर्दा अमेरिकी र बिदेशी कम्पनीले भने फरक/फरक किसिमले सेक्युरिटिज एक्सचेन्ज कमिसनमा रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ।
डाइरेक्ट लिस्टिंग १९७६ देखि नै प्रयोगमा छ तर यसले धरै ख्याति पाएको १९८९ देखि हो जब यसका नीति/नियमहरु लाइ सरल बनाइयो। डाइरेक्ट लिस्टिंगको धेरै प्रयोग प्राय: स-साना कम्पनीहरुले गरेको पाइएको छ भने ठुला कम्पनीहरुले यो तरिका एकदमै कम वा गर्दै नगरेको पाइएको छ। बायोटेक, लाइफ साइन्स र टेक्नोलोजी कम्पनीहरुले यसको प्रयोग गरेका छन्। १५/२० मिलियन डलरको सानो रकमको पुंजी संकलनका लागि यो प्रभाबकारी देखिएको छ।
डाइरेक्ट लिस्टिंगका फाइदा र बेफाइदा : डाइरेक्ट लिस्टिंगका केहि फाइदा छन्। एकातिर यो छिटो,छरितो र सरल छ भने अर्कोतिर यो ठुला कम्पनीहरुको लागि त्यति उपयुक्त र ब्यबहारिक छैन। यो साना कम्पनिहरुको लागि पुंजी संकलन गर्ने ज्यादा उपयुक्त माध्यम पनि हो किनभने यो नाटकीय रुपमा कम खर्चिलो हुन्छ। यसमा इन्भेस्टमेन्ट बैंक, अन्डरराइटर र परामर्शदाताहरुको प्रयोग नगरिने हुँदा निष्कासन सम्बन्धि धेरै खर्चहरु बचत हुन्छ। पारम्परिक आइपिओमा अन्डरराइटर्सहरुले सेयर बिक्रि रकमको १३% सम्मको अन्डरराइटिंग शुल्क लिन्छन भने यसमा ३% कुल खर्चमै सबै निष्काशन कार्य सकिन्छ।
यसमा कम्पनीको ब्यबसाय सम्बन्धि धेरै गोप्य सूचनाहरु सार्बजनिक नगरीकनै पनि सेयरको निष्काशन गर्न सकिन्छ। परम्परागत आइपिओमा ब्यबस्थापन र प्रमुख बित्त अधिकारीले लगानी बैंकहरुसंग मिलेर धेरै बीत्तिय योजना र सूचनाहरुको संकलन, दर्ता तथा प्रकाशन गर्नुपर्ने हुन्छ,जुन यस्मा गरिरहन पर्दैन र गोप्यता रहन्छ । परम्परागत आइपिओमा अतिरिक्त निष्काशन गरिने सेयरको शंख्या पनि निर्धारण गर्नुपर्छ तर यसमा अतिरिक्त सेयरहरुको निस्कासन नगरिने हुँदा त्यो गरिरहनु पर्दैन। साथै यसमा कबुलियत पत्र (Comfort Letter) पनि जारि गरिरहनु पर्दैन।
यसमा तुलानात्मक रुपमा ब्यबस्थापनलाई दबाबमुक्त बाताबरण पनि हुन्छ किनकी यस प्रक्रियामा दिर्घकालिन सेयरधनीहरु नआउने हुँदा उनीहरुबाट कार्य सम्पादनका लागि अल्पकालमा कुनै दबाब आउदैन। परम्परागत आइपिओमा झैँ यसमा कम्पनीका मुख्य प्रमोटर सेयरधनी र कर्मचारीहरुका लागि आफ्नो सेयर बिक्रि गर्न कुनै बन्देज हुँदैन जसले गर्दा उनीहरुले पहिलो दिनदेखि नै आफ्नो सेयर बिक्रि गर्न पाउछन। बिध्यमान सेयरधनीहरुले तुरुन्तै आफ्नो सेयरहरु बेच्न पाउने हुँदा यसले उनीहरुलाई तरलता दिन्छ। डाइरेक्ट लिस्टिंगमा अतिरिक्त नयाँ सेयरहरू जारि गरिदैन, त्यसैले सेयरको आम्दानी र बजार मुल्यमा बिलय (Dilution) हुँदैन। बिलयले प्रति सेयर आम्दानी र बजार मुल्य घटाउने गर्छ, जुन यसमा हुँदैन।
डाइरेक्ट लिस्टिंगका बेफाइदा: डाइरेक्ट लिस्टिंगको बेफाइदा पनि छन्। एकपटक डाइरेक्ट लिस्टिंगमा गैसकेसी आउने १२ महिनासम्ममा फेरी पुंजी संकलन गर्नका लागि निष्काशन रकममा सिमा तोकिएको हुन्छ। तुलनात्मक रुपमा परम्परागत आइपिओमा भन्दा डाइरेक्ट लिस्टिंगमा सेयरहरुको बिक्रि प्राय: कम मुल्यमा हुने सम्भाबना रहन्छ। डाइरेक्ट लिस्टिंगको प्रक्रियामा इन्भेस्टमेन्ट बैंक, परामर्शदाता र अन्डरराइटरहरुको प्रयोग नगरिने हुँदा उनीहरुको बिज्ञ सल्लाह र सेवाबाट बन्चित हुनुपर्छ। सेयर कारोबारको पहिलो दिन सेयरको मुल्यमा आउन सक्ने धेरै उतार चढाबलाई सामान्यीकरण गर्ने काम लगानी बैंक र अन्डरराइटरहरुले गर्छन,जुन यसमा हुन् सक्दैन। सेयर मूल्यमा धेरै घटबढ आएमा त्यसलाई सामान्यीकारण गरि मुल्यमा स्थायित्त्व ल्याउदिने अन्डरराइटरहरु हुँदैन न। इन्भेस्टमेन्ट बैंक र अन्डरराइटरहरुको प्रयोग नगरिने हुँदा तिनीहरुले उपलब्ध गराउने मार्केट मेकरको अवसर पनि उपलब्ध नहुँदा यो प्रकियामा नयाँ सेयरधनिहरुलाई कम तरलता प्राप्त हुन्छ। सेयरको मुल्य एकदमै तल जाने वा आक्कासिने हुनसक्छ जसबाट मुल्य धेरै अस्थिर रहनसक्छ।
परम्परागत आइपिओमा निष्काशन कम्पनीले स्थायी, दिर्घकालिन र भरपर्दा लगनिकर्ताहरुलाइ सेयर बेच्दछ,जसले सुरक्षित र लामो समयको लागि लगानी गर्छन। यो प्रक्रियामा यस्ता लगानीकर्ताको अभाब रहन्छ। यसमा "ग्रिन सु अप्सन र रोड सोज्" जस्ता गतिविधिहरु हुँदैनन जसले गर्दा संभावित लगानिकर्तासंग अन्तरक्रिया हुन सक्दैन। यो प्रक्रिया सानो रकमको पुंजी संकलनका लागि प्रभाबकारी देखिएको छ भने ठुला कम्पनीहरुको लागि अहिलेसम्म त्यति प्रयोग भएको पाइएको छैन।
कुन हो त सहि तरिका: हाम्रो परिबेशमा डाइरेक्ट लिस्टिंगलाइ यसरि पनि बुझ्न सकिन्छ: परम्परागत आइपिओ भनेको मागी बिबाह हो भने डाइरेक्ट लिस्टिंग भनेको भागी बिबाह । जुन भएपनि दुबै बिबाहले दिने परिणाम एकै हो । त्यसैले जुन तरिका प्रयोग गरेपनि दुबैबाट कम्पनिले प्राप्त गर्ने परिणाम आबश्यक पूजी संकलन नै हो।
कम्पनिहरुले आफ्नो सेयरको निष्कासन कसरि गर्ने भन्ने उनीहरुको नितान्त निजि निर्णय हो तर केहि कुरामा भने पक्कै ख्याल पुर्याउनुपर्छ किनभने निष्कासनको तरिकाले होइन, सहि निष्कासनको तरिकाले मात्र सफलताको मापन गर्दछ। ठुलो कम्पनि छ भने परम्परागत आइपिओमा जानु उपयुक्त हुन्छ।कम्पनि पहिल्यै ख्यातिप्राप्त र राम्रो आम्दानी गरिरहेको छ भने डाइरेक्ट लिस्टिंग उपयुक्त हुन्छ। नयाँ तर सम्भाबना भएको खालको कम्पनि छ भने परम्परागत आइपिओमा जानुपर्छ। कम्पनिसंग पर्याप्त समय छ, माथिल्लो ब्यबस्थापन सक्षम छ भनी डाइरेक्ट लिस्टिंग सहि हुन्छ,अन्यथा परम्परागत आइपिओमा जाँदा हुन्छ।
हामीले लिने वा सिक्ने के त: बिकसित पुंजी बजारमा हुने यस्ता प्रकारका अचम्मित र दुर्लभ लाग्ने बित्तिय गतिविधिहरुले यहि शिक्षा दिन्छन कि कुनैपनि क्षेत्रमा अनाबश्यक अंकुस नलगाइ अवसर दिइयो भने समस्या समाधानमा नयाँ र रचानात्मक सोंचहरु आउछन्, नयाँ बित्तिय सेवा र साधनहरुको विकास हुनजान्छ। यस्ता नयाँ र फरक सोंचले नै देश बिकासका लागि आबश्यक पर्ने पुँजीको संकलनको माध्यमको विकास हुन्छ। साथै बिदेशी पुंजी र कम्पनिहरुलाइ देशमा आकर्षित गर्न सकिन्छ। पुंजी बजारको बिकास भनेको पनि यहि हो।
हामीकहाँ धितोपत्र बोर्ड, राष्ट्रबैंक र अन्य जतिपनि नियामक निकायहरु छन् तिनले हरेक गतिविधिलाई कानुनमा मात्रै सिमित गर्न खोजेर हुँदैन, बुद्धिमत्ता तवरले पनि हेर्नुपर्छ। कतिपय यस्ता बित्तिय साधनहरु हुन्छन जो कानुनमा ब्याख्खा गरिएका हुँदैनन तर पनि तिनलाई बजारमा ल्याइएको र प्रयोग गरिएको हुन्छ। खासगरि धितोपत्र बोर्ड जस्तो नियमक निकायहरुले हर्ने भनेको "सुचना र तथ्यांकहरुको सहि र निस्पक्ष प्रस्तुति, त्यसको यथोचित वितरण हो। सुचना र समाचारमा हरेक लगानीकर्तालाई उत्तिकै रुपमा बराबरीको अवसर दिइएको छ, छैन सुनिस्चित गर्ने हो, अनाबश्यक शंका गर्ने र हरेक व्याख्या कानुनमा खोज्ने होइन। कानुनको ब्यबस्था गरेर नयाँ सोंच, सेवा र बित्तिय साधनको अविष्कार हुँदैन। हरेक नयाँ विचार,बस्तु,सेवा जहिल्यै नियम/कानुन भन्दा पहिला आउछ, अनि मात्र त्यसलाई नियमन गर्न कानुन बन्छ। त्यसैले पहिला नबिन बिचारलाई बजारमा प्रवेश गर्न दिइनुपर्छ ।
पुंजी बजारका हेरक क्षेत्रमा नयाँ र फरक किसिमका सेवा, बस्तु र सोंचको प्रवेश आबश्यक भैसकेको छ। परिबर्तित अवस्थामा हामीले पनि हाम्रो पुंजी बजारलाई सबल र विविधिकरण गर्दै लानु पर्ने आबश्यक भैसकेको छ। आउने दिनमा हाम्रो अर्थतन्त्रले अति नै धेरै पुँजीको माग गर्नेछ। त्यो पुँजीको पूर्ति हाम्रै पुंजी बजारलाई सबल र समर्थ बनाइ पुरा गर्नुपर्नेछ।
बिध्यमान कानुन, काम गर्ने तौर तरिका र सोंचले भोलिको त धेरै पर अहिले कै पुँजीको मागलाई पनि सम्बोधन गर्न सकिरहेको छैन। त्यसैले पुंजी बजारको विकास र विस्तारका लागि नियमन निकायहरुले नयाँ बित्तिय साधन,तरिका र उपायहरुलाई निर्बाध बजारमा आउन र काम गर्न दिनुपर्छ। हामीलाई एउटा सुबिधा छ: बिकसित देश र बजारमा धेरै बित्तिय साधन,सेवा र सुबिधाहरुको बिकास भैसकेको छ, तिनलाई हामीले हाम्रो परिबेशमा दोहर्याउन सके मात्रै पनि हामीले धेरै ठुलो फड्को मार्न सक्छौं। यहि नै हो हाम्रो पुंजी बजारको आबश्यकता पनि।