Sunday, March 24, 2019

हेजफण्ड, प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल

हेजफण्ड, प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल जस्ता पुँजीबजारका पछिल्ला र जटिल अभ्यासलाई नेपाली पुँजीबजारमा प्रवेश गराउने उदेश्यले धितोपत्र बोर्डले "विशिष्टिकृत लगानी कोष नियमावली, २०७५" भर्खरै सार्बजनिक गरेको छ। प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल सम्बन्धमा तत्काल र हेजफन्डबारे बिशेष निर्देशिका ल्याएपश्चात नियामावली लागु हुनेछ। 

गत बजेटमा "प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, हेजफन्ड लगायत नयाँ संस्थाहरू पुँजी बजारमा प्रवेश गराइनेछ" भने बमोजिम नियमावली आएको छ। हालैमात्र सरकारले हेजिङ्ग नियमावली ल्याएको थियो। यी नियामावली सार्बजनिक भएपश्चात मिडियामा छाईरहने हेजिंग, हेजफण्ड, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल जस्ता पुँजीबजारका शब्दावलीले कानुनी हैसियत पाएका छन्। 

प्रश्न उठ्छ: के प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल, हेजफण्ड सम्बन्धमा नियमावलीले गरेका ब्यबस्थाहरुले काम गर्लान? के यी संस्थाको संरचना र संचालनको मूल मर्मलाई नियामावलीले समेटेको छ? नियमावली आईसकेको अवस्थामा यी संस्था र यिनले गर्ने कामबारेको चासो स्वाभाविक छ। यी संस्थाको बनावट, संचालन, लगानी प्रक्रिया र नियमन कसरी हुन्छ भन्नेबारे प्रस्ट हुनु आबश्यक छ। यो आलेखमा यसैमा केन्द्रित रहनेछ। 

हेजफण्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल: नेपाली 
पुँजीबजारको परिप्रेक्ष्यमा यी नयाँ अबधारणा र प्रयोग हुन्। यी सिमित साझेदारीमा संचालन भएर लगानी ब्यबस्थापन गर्ने बित्तिय संस्था हुन्। झट्ट हेर्दा यी संस्था म्युचुअल फन्ड जस्तै लाग्छन तर बनावट, संचालन र ब्यबस्थापनमा जटिल हुन्छन। ठुला, सम्बृद्ध र संस्थागत लगानीकर्ताको मात्र लगानी ब्यबस्थापन गर्ने यी संस्थाहरुले लगानीकर्तासंग व्यक्तिगत सम्बन्धको आधारमा कोष संकलन गर्छन।

हेजफन्डले एकै समयमा उही धितोपत्र किन्ने र बेच्ने (जसलाई लङ्ग र सर्ट पोजिसन भनिन्छ) गरेर हेजको अवस्था सिर्जना गर्ने र हेजको अवस्थामा पनि दोहोरो फाइदा लिने भएकाले हेजफन्ड भएको हो। प्राइभेट इक्विटीले पब्लिकमा रहेको  कम्पनीको पुरै इक्विटी खरिद गरेर प्राइभेटमा परिणत गर्ने भएकाले  प्राइभेट इक्विटी भनिएको हो। भेन्चर क्यापिटलले नयाँ र साना सुरुवाती  कम्पनीहरुमा संयुक्त पुँजी लगानी गर्ने हुनाले भेन्चर क्यापिटल हुनगएको हो।यि संस्थाको स्थापना, सरचना र संचालन लगभग उस्तै हुन्छ। यिनको लगानी गर्ने तरिका र माध्यमका कारण यिनीहरु एक आपसमा फरक हुन्छन। यिनले जटिल गणितीय बिधी प्रयोग गरेर उच्च जोखिम र प्रतिफल हुने धितोपत्र र ब्यबसायमा लगानी गर्छन। उच्च प्रतिफलका लागी यिनले हरसम्भब उपाए अपनाएर लगानी गर्छन। यीमध्ये तुलानात्मक रुपमा हेजफन्डले बढी आक्रामक लगानी नीति अख्तियार गर्छ।

यि संस्थाको कानुनी र नैतिक दायित्व लगानीकर्ताको सर्बोत्तम हितमा काम गर्नु हो। 
सिमित जानकारी र सुचनाका कारण यि संस्थाले लगानीकर्ताको हितमा काम गरेका छन्/छैनन भन्ने थाहा पाउन भने सजिलो हुँदैन। यहि कारण यिनको लगानीको सहि मुल्यांकन र विश्लेषण गर्न सकिदैन। टाट उल्टिएको अवस्थामा यी संस्थाका लगानीकर्ताले उही कानुनी सुरक्षा र ग्यारेन्टी पाउदैनन जुन अन्य लगानीकर्ताले पाउछन। 

नियामावलीको ब्यबस्था: हेजफण्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल संचालनका धेरै जटिलताबारे नियामाबलीका ब्यबस्थाहरु अस्पष्ट र गलत छन। नियामावालीमा प्रयोग भएका कतिपय शब्दावलीको अर्थ स्पष्ट र बुझिने छैन। कानुनी शब्दहरु स्पष्ट र अर्थ बुझिने भएको भए सजिलो र द्विबिधारहित हुनेथियो।

नियमावलीका दुई पक्ष छन्: पहिलो यी संस्थाको संरचना, ब्यबस्थापन, पुंजी, संचालन आदि बारे र अर्को संस्थाले संचालन गर्ने कोषको आकार, अवधि, पारदर्शिता, लगानीकर्ताको वर्गीकरण, नियमन, लगानी र प्रतिफल आदि 
बारे। यी दुवै ब्यबस्थालाइ अन्तर्राराष्ट्रिय अभ्यासको आधारमा केलाई हेरौं।

संरचना, संचालन र नियमन: नियमावलीको सबैभन्दा ठुलो कमजोरी नै नियमन हो। यी संस्थालाई म्युचुअल फन्ड, पेन्सन फन्ड वा अन्य लगानी ब्यबस्थापकलाइ झैँ जसरी नियमन गर्न खोजिएको छ, त्यो सहि छैन। यी संस्थालाइ त्यसरी नियमन गरिदैन र गरिएमा यिनले काम गर्न सक्दैनन्।

अन्तरास्ट्रीय अभ्यास हेर्ने हो भने यी संस्थालाइ आधारभूत रुपमा मात्र नियमन गरिन्छ। धितोपत्र खरिद-बिक्री र धोखाधडी सम्बन्धी आधारभूत नियमन बाहेक अन्य धेरै नियमनबाट यी संस्थाहरु बाहिर रहन्छन। कतिपय अवस्थामा यी संस्थाहरु धितोपत्र बोर्ड जस्तो नियमन निकायमा दर्ता पनि हुँदैनन। ठुलो लगानी रकम ब्यबस्थापन गरेको अवस्थामा भने संस्थाको दर्ता आबश्यक हुन्छ। 

यि संस्थाको संचालन र संरचना अपारदर्शी हुन्छ। यिनीहरु कुनै वित्तीय सूचना सार्बजनिक गर्दैनन। कसरी उच्च प्रतिफल  प्राप्त गर्ने भन्नेमा बढी केन्द्रीत हुनेहुँदा यिनीहरु आफ्नो लगानी योजना र रणनीति अरुले थाहा नपाउनु भनेर गोप्य राख्छन् र अपारदर्शी हुन् जान्छन। यिनीहरुले आफ्नो ठेगाना, वेबसाइट, ब्यबस्थापन, लगानी र लगानीकर्ताबारे कुनै जानकारी दिंदैनन।

पुंजी सम्बन्धी ब्यबस्था: यी संस्थाको पुँजी सम्बन्धी ब्यबस्था त्रुटीपूर्ण छ। यी संस्था र यिनको ब्यबस्थापकका लागी कुनै बाध्यकारी पुँजीको आबश्यकता हुँदैन। संस्था (कम्पनी) स्थापना गर्दा आबश्यक पुँजीको ब्यबस्था गरे पुग्छ। कम्पनी स्थापनाको सुचना भने नियमन निकायमा दर्ता गराउनुपर्छ।

यी संस्थाले संचालन गर्ने कोष दर्ता सम्बन्धी ब्यबस्था पनि आबश्यक छैन। यस्ता कोषको लागि कुनै बाध्यकारी न्युनतम वा अधिकतम पुँजीको आबश्यकता हुनुहुँदैन। कोषको प्रकृति बन्द वा खुला भन्ने बिषय पनि संस्थाहरुको आन्तरिक तजबिज र निर्णयको बिषय हो। संस्था वा कोष संचालनका यस्ता आन्तरिक बिषयमा कानुनले बन्देज लगाउने र नियमन गर्न हुँदैन।

ठुलो रकमको कोष (लगानी वा सम्पत्ति) ब्यबस्थापन गरेको अवस्थामा यी संस्था धितोपत्र बोर्डमा दर्ता हुन् आबश्यक हुन्छन। नियामावालीमा यो रकमको सिमा तोकिएको छैन तर यो तोकिनुपर्छ। 
यहाँ प्रस्ट होस् : नियमन निकायमा दर्ता हुने संस्था हो, कोष होइन। सानो रकमको कोष ब्यबस्थापन गर्ने संस्था दर्ता हुँदैनन। अन्तर्राष्ट्रिय अभ्यासलाइ हेर्दा अमेरिकामा १५ करोड डलरभन्दा ज्यादा लगानी ब्यबस्थापन गर्ने संस्था मात्र नियमन निकायमा दर्ता हुनुपर्छ।

लगानीकर्ताको वर्गीकरण : जोखिमको दृष्टिकोणबाट सबै लगानीकर्ता सबै लगानीका लागी योग्य हुँदैनन।साना लगानीकर्ताको जोखिम वहन क्षमता धेरै कम हुनेहुँदा तिनले यि संस्थामा लगानी गर्न हुँदैन। साना लगानीकर्ताको हित संरक्षण गर्न कानुनमा साना र ठुला भनेर लगानीकर्ताको बर्गिकरण आबश्यक छ। 

अनौपचारिक रुपमा साना र ठूला लगानीकर्ता भन्नुको अर्थ हुँदैन। औपचारिक रुपमा निश्चित चल/अचल सम्पत्ति हुने ब्यक्ति वा संस्थालाइ सानो र सो भन्दा ज्यादा चल/अचल सम्पत्ति हुनेलाइ ठुलो लगानीकर्ता भनेर परिभाषित गर्नुपर्छ। नियामावालीमा यो ब्यबस्था छैन।
कोषको सार्बजनिक निष्काशन र पारदर्शिता: नियामावलीले यी संस्थाले ब्यबस्थापन गर्ने कोषको सार्बजनिक निष्कासन र बांडफाडको ब्यबस्था गरेकोछ। साथै कोषको कारोबार पनि पारदर्शि हुनुपर्ने भनेको छ। यी ब्यबस्था अब्यबहारिक र सम्भब नहुने छन्।

यी संस्थाहरु लगानीकर्तासंगको व्यक्तिगत सम्बन्धको आधारमा संचालन हुनेहुँदा यिनले ब्यबस्थापन गर्ने कोषको विवरण-पत्र जारी गर्ने, धितोपत्र बोर्डमा दर्ता गर्ने र सार्बजनिक निष्काशन गर्ने कार्य हुँदैन। सार्बजनिक निष्काशन नभएपछि बांडफांड हुँदैन।यस्ता कोषमा थोरै लगानीकर्ताबाट धेरै रकम लगानी जुटाइन्छ। यी संस्थाको लगानी नीति र लगानीकर्ताको जानकारी गोप्य राखिन्छ। गोपनीयताकै कारण कोषको कारोबार पारदर्शी हुने अभ्यास कहिं छैन। 
हो, लगानीकर्तालाई कोषको इकाई प्रस्ताब गर्न भने "लगानी प्रस्ताब-पत्र" तयार पारेर नियमन निकायमा दर्ता गराउनुपर्छ। यो पत्रमा कोषको आकार, उदेश्य, ब्यबस्थापकको योग्यता, लगानी नीति, हर्डल रेट, ब्यबस्थापन शुल्क, न्युनतम लगानी अवधि (लक-अप पिरियड), लगानीका शर्त र सिमा, गोपनियता जस्ता बिबिध पक्षहरु समेटिएको हुनुपर्छ।

लगानी र प्रतिफल: यी संस्थाको लगानीमा उच्च जोखिम हुन्छ, फलस्वरूप प्रतिफल र नोक्सानी पनि उच्च नै हुन्छ। कर्जासमेत लिएर लगानी गर्ने हुँदा थप जोखिम हुने कारण साना लगानीकर्ता यी संस्थामा लगानीका लागि योग्य हुँदैनन। उनीहरुलाइ यस्तो लगानीमा बन्देज हुन्छ, जुन नियामावालीले ब्यबस्था गरेको छैन।

नियमावलीले यस्ता कोषमा न्युनतम रु.५० लाख लगानी गर्नुपर्ने ब्यबस्था गरेको छ। यसले साना लगानीकर्तालाइ केहि नियन्त्रण गर्छ तर बन्देज गर्दैन। लगानीकर्ताको बर्गिकरणले मात्र यो बन्देज सम्भब हुन्छ।

ब्यबस्थापन शुल्क: यी संस्थाले लिने ब्यबस्थापन शुल्क महँगो हुन्छ। यस्तो शुल्क दुई तहको हुन्छ: पहिलो बार्षिक शुल्क र दोश्रो कार्य सम्पादन शुल्क। टु-ट्वेन्टी (२-२०) संरचना प्रचलनमा छ। २-२० भनेको 
कुल लगानी रकममा २% र लगानीको प्रतिफलमा २०% शुल्क गणना हुन्छ।

ब्यबस्थापन शुल्क लिनु पहिले यी संस्थाले लगानीकर्तालाई न्युनतम प्रतिफल दिनुपर्छ, जसलाई हर्डल रेट भनिन्छ। यदि हर्डल रेट १०% छ भने सर्बप्रथम लगानीमा १०% प्रतिफल आर्जन गरेर लगानीकर्तालाई वितरण गर्नुपर्छ। तबमात्र यी संस्थाले ब्यबस्थापन शुल्क लिन पाउछन। मानौं रु.१० अर्ब लगानी ब्यबस्थापन गर्दा २५% प्रतिफल आर्जन भएकोछ भने २% बार्षिक शुल्क रु.१० अर्बमा र २०% कार्य सम्पादन शुल्क बाँकी प्रतिफल १५% (=२५% - १०%) मा गणना हुन्छ।

सुझाब र सल्लाह: नियामावलीमा प्रसस्त कमि कमजोरी छन। यदि हेजफन्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल जस्ता संस्थालाई बजार प्रवेश गराउने हो भने धितोपत्र बोर्डले नियमावलीमा रहेका कमजोरीलाइ अबिलम्ब सुधार गर्नु आबश्यक छ। अन्यथा नियमावली उपलब्धिहिन हुने र बोर्डले अपजसको भारी बोक्नुपर्नेछ।

निष्कर्ष: नियामावली सहि अर्थको हेजफन्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल संचालनको मूल मर्म अनुरुप आएको छैन। नियमावली बनाउदा आबश्यक अध्ययन, अनुसन्धान र बिज्ञको सल्लाह, परामर्श पनि नलिएको बुझ्न सकिन्छ। यो नियामावली अन्तर्गत रहेर यी संस्थाले काम गर्न सक्दैनन। नियामावली यी संस्थालाइ बजार प्रवेश गराउन भन्दा निषेध गर्न सफल हुनेछ। नियामावलीका ब्यबस्था सम्बन्धमा धितोपत्र बोर्ड कुहिरोको काग भएको देखिन्छ।

नियमावली बनाउदा यि संस्थाले गर्ने कामबारे जानकारी पनि नराखेको देखिन्छ। प्राइभेट इक्विटीले पुँजीबजारमा रहेका पब्लिक कम्पनीको सबै सेयर किनेर प्राइभेट बनाउछ। विद्यमान कानुनले यस्तो गर्न अनुमति दिंदैन भने उसले कसरी काम गर्नसक्छ? हेजफन्ड र भेन्चर क्यापिटलको लागि पनि आबश्यक बित्तिय उपकरण र लगानीको अवसर उपलब्ध छैन। अझै एकदशक यी संस्थाले काम गर्ने बाताबरण उपलब्ध हुने गुञ्जायस देखिदैन। यस्तो पृष्ठभूमिमा यी संस्थाको उपादेयता देखिदैन।

यी संस्था आबश्यक हुन् तर अहिलेको प्राथमिकता होइनन्, जसको स्थापना सरकारको नितिगत निर्णयभन्दा बजारको आवश्यकताले तय गर्दछ। अन्य आबश्यक र महत्वपूर्ण कानुन नल्याएर यो कानुन ल्याउन धितोपत्र बोर्ड बाध्य हुनुमा गएको बजेटमा गरिएको ब्यबस्था हुनुपर्छ। आसन्न लगानी सम्मेलनमा बिदेशी लगानीकर्तालाई देखाउन पनि यो नियमावलीको जरुरत परेको हुनसक्छ।

पुँजीबजारका नयाँ साधन र अभ्यासको आबश्यकता महसुस गर्नु र लगानीका यस्ता माध्यमको प्रयोगमा निजीक्षेत्रको सहभागिता बढाउन खोज्नु सकारात्मक पक्ष हो। यस्तो कार्य पुँजीबजारको आबश्यकता र समस्यालाइ सम्बोधन गर्ने र उपलब्धिमुलक हुने गरी आउनु पर्दछ। फाइनान्सियल डेरीभेटिभ, स्ट्रक्चर्ड प्रडक्टस्, लगानीको न्युनतम ग्यारेन्टी दिने निकाय जस्ता महत्वपूर्ण र अत्यावश्यक बिषयमा कानुन ल्याउन सके पुँजीबजारको द्रुत बिकास र बिस्तार गर्न सकिन्छ।



- मुक्ति अर्याल । ट्विटर : @ISDBR 

​हेजिङ्ग : भ्रम र यथार्थ


हिजोआज हेजिङ्ग, हेजफण्ड, हेज जस्ता शब्दावलीहरु मिडियामा प्रसस्त देखिन र सुनिन थालेका छन्। यसमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटल पनि थप छन्। सरकारी अधिकारी, बैंकिंग, जलबिद्युत र निजिक्षेत्रमा कार्यरत ब्यक्तिहरु पुँजीबजारका यी शब्दावली बारम्बार प्रयोग गर्दै आइरहेका छन्। बैदेशिक लगानी र ऋण देशमा भित्र्याउने सन्दर्भमा यिनको प्रयोग हुँदै आएको हो।

गएको बजेटले "प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, हेजफन्ड लगायत नयाँ  संस्थाहरुलाई पुँजी बजारमा प्रवेश गराइने छ" भनेको थियो। सोहि अनुरुप  सरकारले "हेजिंग सम्बन्धि कार्यविधी, २०७५" नियमावली यहि माघ २५ मा मन्त्रिपरिषदबाट पास गरेर राष्ट्रबैंक मार्फत 
फागुन ७ मा सार्बजनिक गरेको छ।
नेपालको परिप्रेक्षमा हेजिङ्ग नया धारणा हो। भर्खर भर्खर प्रयोग सुरु भएकाले हुनसक्छ सरकारी अधिकारीहरुको भनाइ बाझिने, फेरिने, नमिल्ने गरेको दखिन्छ। जसरी हेजिङ्ग लगायत यी शब्दावलीको प्रयोग भैरहेको छ त्यो प्रस्ट छैन।


त्यसैले प्रश्न उठ्छ: के सरकारी अधिकारीहरुमा यी शब्दावली बारेको बुझाइ र प्रयोग सहि छ त? हेजिङ्ग सम्बन्धि यो कार्यविधि नियमावलीले गरेका ब्यबस्थाहरुले  काम गर्लान? बिदेशी मुद्राको विनिमय दरमा असिमित जोखिमको आंकलन गरिएको छ? के सरकार र उसका निकायहरु आफ्नो साधन, श्रोत र समय चाहेको प्रतिफल आउने ठाउमा लगाईरहेका छन? 

हेजिंग सम्बन्धि कार्यविधि नियमावली आइसकेको अवस्थामा यी शब्दावली र तिनको सहि प्रयोगबारे प्रस्ट हुनु आबश्यक छ। यस आलेखमा हेजिङ्ग र यसबारे नियमावलीले गरेको ब्यबस्था सम्बन्धमा केहि बिबेचना गर्नेछु
सरकारी बुझाइ: हेजिङ्ग, हेजफण्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल जस्ता शब्दावलीबारे सरकारी अधिकारीहरुको बुझाइ र भनाइ यस्तो रहेको पाइन्छ: "हेजफन्डले हेजिङ्ग गर्दिन्छ, प्राइभेट इक्विटीले इक्विटी लगानी गर्दिन्छ र भेन्चर क्यापिटलले क्यापिटल (पूंजी) जुटाईदिन्छ। यस्ता बित्तिय संस्थाहरुलाइ बजार प्रवेश गराउन सकियो भने यिनले हेजिङ्ग र यससंग सम्बन्धित साधनहरु उपलब्ध गराउछन्।"यो बुझाइ सहि होइन। यी कुनैपनि संस्थाले हेजिङ्ग कार्य गर्दैनन् र बैदेशिक मुद्राको जोखिम कम गर्नमा कुनै भूमिका खेल्दैनन। सरकारले चाहे जसरी यिनले इक्विटी लगानी गर्ने र क्यापिटल (पूंजी) जुटाउने कार्य पनि गर्दैनन। हेजफण्ड र हेजिङ्ग उस्तै सुनिएपनि यी फरक अर्थ लाग्ने शब्दावली हुन्। सामान्य बुझाइमा "हेजिङ्ग" भनेको हेजफण्डले उपलब्ध गराउने बित्तिय सेवा हो कि भन्ने अर्थ लाग्नसक्छ। त्यो होइन, हेजफन्डले हेजिङ्गका साधन र सेवा उपलब्ध गराउने काम गर्दैन। बिदेशी मुद्रामा हुने जोखिम बाहेक अन्य लगानीमा हेजफन्डले प्राय हेज गर्दैन। उसले पनि हेजिङ्गका साधनहरु मार्केटबाट किनेर हेज गर्ने हो।

हेजफन्डले एकै समयमा उही धितोपत्र किन्ने र बेच्ने (लङ्ग र सर्ट पोजिसन लिने) गरेर हेजको अवस्था पैदा गर्ने र यो अवस्थाबाट पनि दोहोरो फाइदा लिनेसक्ने भएकाले हेजफन्ड भनिएको हो। प्राइभेट इक्विटीले पब्लिकमा रहेको कम्पनीको सबै सेयर खरिद गरेर प्राइभेटमा परिणत गर्ने भएकाले प्राइभेट इक्विटी भएको हो। भेन्चर क्यापिटलले भने नयाँ र साना सुरुवाती कम्पनीहरुमा संयुक्त लगानी गर्ने हुनाले भेन्चर क्यापिटल हुन् गएको हो।

यिनीहरुको बिशेषता भनेकै लगानीको फरक तरिका र माध्यम हुन्। यिनले जटिल लगानी बिधि प्रयोग गरेर उच्च जोखिम र प्रतिफल भएका धितोपत्र वा कम्पनीमा लगानी गर्ने गर्छन। यिनिहरु कर्जा/ऋण समेत लिएर लगानी गर्छन। उच्च प्रतिफल हासिल गर्न यिनीहरु सम्भब भएसम्मका सबै लगानी नीति प्रयोग गर्छन। 

हेजफण्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल लगानी र सम्पत्ति ब्यबस्थापन गर्ने संस्थाहरु हुन्। यि संस्थाहरु पनि एक किसिमले म्युच्युअल फन्ड जस्तै हुन् तर यिनको बनावट, संचालन र ब्यबस्थापन म्युच्युअल फन्डको भन्दा जटिल हुन्छ। यिनले ठुला, सम्बृद्ध र संस्थागत लगानीकर्ताको मात्र सम्पत्ति ब्यबस्थापन गर्नेगर्छन। स-साना लगानीकर्ताको चासो र लगानीलाई यिनीहरु सम्बोधन गर्दैनन्। 

हेजिंग भनेको लगानी वा ब्यबसायमा भबिष्यमा हुनसक्ने संभावित हानी/नोक्सानी (जोखिम) लाई बित्तिय साधनको प्रयोग गरेर पूर्णरुपमा हटाउने वा कम गर्ने तरिका हो। हेजिङ्गका साधनको लागत हुन्छ र यो लागत निर्धारण कार्य महत्वपूर्ण हुन्छ। यो लागत उसैले तिर्नुपर्छ जसले यसको सेवा लिने हो। त्यसैले यसको लागत र फ़ाइदा बीच सामन्जस्यता आबश्यक हुन्छ 

बिदेशी  मुद्रा र नेपाली रुपयाँ बिचको विनिमय दर जति धेरै चलायमान हुन्छ, हेजिङ्ग  कार्यमा उति धेरै जोखिम हुन्छ। जोखिम धेरै हुँदा लागत पनि धेरै हुन्छ। बिदेशी मुद्राको विनिमय दरमा यसैपनि अत्यधिक जोखिम रहेको हुन्छ। नेपाली मुद्राको विनिमय दरमा हालै भएको परिबर्तनलाई आंकलन गर्दा यो हेजिङ्गको लागत महँगो पर्नसक्छ।

हेजिंग नियामावाली: सरकारले ल्याएको हेजिंग कार्यविधि नियमावली र यसले गरेका ब्यबस्थाहरु के रहेछन, केलाई हेरौं।

नियमावलीले हेजिङ्गको परिभाषा यसरी गरेको छ: "हेजिङ्ग भन्नाले परियोजना  कार्यान्बयनका लागि लगानीकर्ताले बिदेशी ऋण लगानी गर्दा जुन विनिमय दरमा  बिदेशी मुद्रा बैंकमा जम्मा गरेको हो सोहि विनिमय दरमा सम्झौता बमोजिम  लगानी फिर्ता लैजान पाउने गरि बिदेशी मुद्राको विनिमय दर स्थिर गर्ने कार्य  सम्झनुपर्छ।"
नियमाबलीका ब्यबस्था र शर्तहरु: नियामावाली अनुसार सरकारले निश्चित मापदण्ड पुगेका परियोजनाको लागि बिदेशी मुद्रामा ऋण लिने लगानीकर्तालाइ मात्र हेजिङ्गको सुबिधा दिनेछ। ति परियोजनाले बिदेशी मुद्रामा ल्याएको ऋण जुन विनिमय दरमा राष्ट्रबैंकमा दाखिला गरेको हो सोहि दरलाइ स्थिर राख्ने गरी अधिकतम १० बर्षका लागि यो सुबिधा दिईनेछ। यस्तो लगानीकर्ताले बिदेशी मुद्रामा ल्याएको ऋण बराबरको रकम राष्ट्रबैंकमा जम्मा गरेकै हुनुपर्छ। 

लगानीकर्ताले हेजिङ्ग शुल्क तिरेर यो सुबिधा अधिकतम १० बर्षका लागि लिन सक्नेछन। आबश्यक परेमा थप ५ बर्षका लागि नबिकरण गर्न सकिनेछ। अर्थ  मन्त्रालयले बिदेशी विनिमय दरको जोखिम, मुद्रास्फृतिको जोखिम, परियोजनाको  इक्विटी, ऋणको अंश, ऋण भुक्तानी गर्नुपर्ने अवधि, परियोजनाको प्रकृति  समेतको आधारमा सम्बन्धित मन्त्रालय, बैंक र लगानीकर्तासँगको सहमतिमा शुल्क  निर्धारण गर्नेछ।

हेजिङ्ग शुल्कबाट प्राप्त रकमबाट हेजिङ्ग कोषको ब्यबस्था गर्ने र सो कोषले नै हेजिंग शुल्क बापत प्राप्त रकमको व्यवस्थापन गर्नेछ। यो सुबिधा नेपाल सरकारले राष्ट्रबैंक मार्फत उपलब्ध गराउनेछ र यो जोखिमको दायित्व नेपाल सरकारमा रहनेछ। नियामावालीको सार यति नै हो।
नियमावलीका अस्पष्टता : नियामावालीमा धेरै अस्पस्टता र कमजोरी छन। समेटिनु पर्ने धेरै बिषयहरु छुटेका छन। हेजिंग सुबिधा बिदेशी मुद्रामा ऋण लगानीको लागि भनिएको छ। यो साँवाको लागि मात्र भन्ने अर्थ लाग्छ। बिदेशी मुद्रामा इक्विटी लगानी, ब्याज र मुनाफा, प्रतिफल बारे नियमावलीले केहि ब्यबस्था गरेको छैन। ऋण लगानीको लागि यो सुबिधा उपलब्ध गराईसकेपछि सो मा लाग्ने  ब्याजमा पनि दिइनु न्यायोचित हुनेथियो। इक्विटी लगानीमा नदिएपछि मुनाफा वा प्रतिफलको लागि नदिनु अन्यथा भएन।

हेजिङ्गका धेरै जटिलताका बारे नियामाबली प्रस्ट छैन, जसले भोलि बिबाद ल्याउन सक्नेछन। हेजिङ्ग अवधि, हेजिङ्ग शुल्क (लागत), हेजिङ्ग कारोबारको राफसाफ जस्ता महत्वपूर्ण बिषयहरुबारे प्रस्ट ब्यबस्था छैन। यि बिषयमा प्रस्ट हुन जरुरी छ।
हेजिङ्ग अवधि: नियमावलीको सबैभन्दा ठुलो कमजोरी यहि हो। नियमावलीमा अधिकतम १० बर्षका लागि हेजिंग गर्न सकिने र ५ बर्षको लागि नबिकरण गर्न सकिने ब्यबस्था छ। एकैपटक १० बर्ष र थप ५ बर्षको लागि हेजिङ्ग गर्नु सरकारको लागी ठुलो जोखिम र चुनौतिको बिषय हो। १०-१५ बर्षमा विनिमय दर कति प्रतिशतले कसरी घटबढ गर्छ भन्न सकिदैन। 

बिगत दसबर्षमा अमेरिकी डलरसंग नेपाली मुद्राको विनिमय दर लगभग उनान्नब्बे प्रतिशत (८९%) ले बढेको तथ्य छ। बर्ष २००८ को सुरुमा रु. ६३.०० को वरिपरि रहेको यो दर २०१८ मा अधिकतम रु. ११९ पुगेको थियो। बर्ष २००६ को सुरुमा अमेरिकी डलरसंग १.३५ र २०१४ मा २.०० को हाराहारीमै रहेको टर्कीको लिरा २०१८ मा लगभग ७.०० पुगेको थियो। भेनेजुयेलाको मुद्राको बिषय त उठाउन पनि डरलाग्दो छ।

यसर्थ यत्रो जोखिम मोलेर एकैपटकमा १० बर्षको लागि हेज गर्नहुँदैन। १० बर्षको लागि आजै यसको सहि शुल्क निर्धारण गर्नपनि कठिन हुन्छ। यसकारण हेजिङ्ग गर्दा ६/६ महिना वा बर्ष दिनको विनिमय दर आंकलन गरेर गर्नु उपयुक्त हुन्छ। तबमात्र जोखिम र शुल्कलाई उपयुक्त दरमा राख्न सकिन्छ। सबैभन्दा ख्याल गर्नुपर्ने बिषय यहि हो।

हेजिङ्ग शुल्क (लागत) : नियामावलीले जसरी हेजिंग शुल्क (लागत) निर्धारण गर्ने भनेको छ, त्यो सहि तरिका होइन। पुंजीबजारको भाषामा नियमावलीमा ब्यबस्था गरिएको हेजिंग उपकरणको बिशेषतालाई नियाल्दा यो "पुट अप्सन" हो। प्रस्ट ब्यबस्था नभएकाले यो पुट अप्सन "अमेरिकन" हो वा "युरोपियन" भनेर यकिन भन्ने अवस्था छैन। तर भन्नु नै परेमा यो "युरोपियन पुट अप्सन" हो, जसको प्रयोग यसको अवधिको अन्तमा मात्र गर्न सकिन्छ। पुट अप्सन "अमेरिकन" कि "युरोपियन" भन्ने बिषयले यसको शुल्क (लागत) मा फरक पार्दछ।

"युरोपियन पुट अप्सन" भनेर किटान भैसकेपछि यसको शुल्क (लागत) "ब्ल्याक-सोल्स् अप्सन प्राइसिङ्ग मेथड" प्रयोग गरेर गणना गर्नुपर्छ। यसको सहि शुल्क (लागत) गणनाका लागि बिदेशी मुद्राको दर, नेपाली मुद्राको दर, स्थिर गरिएको बिदेशी मुद्राको दर, हेजिङ्गको समयावधि, विनिमय दर (नेपाली र बिदेशी मुद्रा बीच) को चलायमान दर र ट्रेजरी बिलको ब्याजदरलाइ "ब्ल्याक-सोल्स् अप्सन प्राइसिङ्ग मेथड" मा राखेर लागतको गणना गरिनुपर्छ। यसरी गणना गरिएको शुल्क (लागत) मात्र जायज र न्यायोचित हुन्छ। १० बर्षपछि ५ बर्षको लागि नबिकरण गर्दा पनि यसरी नै शुल्क गणना गर्न सकिन्छ। 

हेजिङ्गमा जोखिम: हेजिङ्ग गर्नुपर्ने कारण नै जोखिम हो। हेजिङ्गमा जोखिम हुने हेजिङ्गको साधन जारी गर्ने पक्षलाइ हो भने खरिद गर्ने पक्षले लागत तिर्ने हो। सरकारले हेजिङ्गको साधन जारी गरेर जोखिम लिने र लगानीकर्ताले लागत तिरेर खरिद गर्ने हो।

हेजिङ्गमा यसै जोखिम धेरै हुन्छ। बिदेशी मुद्राको हेजिङ्गमा अरु थप जोखिम हुन्छ। त्यसमा यति ठुलो रकम र लामो अवधिको हेजिङ्गमा झन् धेरै जोखिम हुन्छ। अझ त्यसमा आंफुले गरेको हेजिङ्गको बिरुद्ध अर्को पोजिसन लिने अवसर नहुँदा अरु थप जोखिम हुन्छ। 

बिदेशी मुद्राको विनिमय दर जति बढेर जान्छ, सरकारलाई उति नै धेरै जोखिम हुन्छ। हेजिंग अवधिको अन्तमा हेजिंग दरमा विनिमय दर जति रुपैयाँले बढेर जान्छ सो र लागतको फरक सरकारलाई नाफा/नोक्सान हुन्छ। 

हेजिंग कारोबार : यो नियामाबली अनुसार कसरि हेजिङ्ग कारोबार हुन्छ, एक उदाहरण हेरौं।

कुनै एक लगानीकर्ताले आज १० मिलियन अमेरिकी डलरको बिदेशी ऋण रकम राष्ट्रबैंकमा जम्मा गर्छ। मानौं आजको विनिमय दर प्रति अमेरिकी डलर रु. ११५ छ। उसले यो बिनिमय दरलाई १० बर्षसम्म स्थिर राख्ने गरी यो ऋण रकममा हेजिंगको करार गर्छ। करार अनुसार १० बर्षको अन्तमा उसले १० मिलियन अमेरिकी डलर राष्ट्रबैंक मार्फत नेपाल सरकारबाट प्रति अमेरिकी डलर रु. ११५ तिरेर सटही फिर्ता पाउनेछ। 

मानौं यसमा हेजिङ्ग शुल्क बार्षिक ५% (प्रति अमेरिकी डलर रु.५.७५) छ। यो दरले लगानीकर्ताले १० बर्षका लागि कुल ५०% (प्रति अमेरिकी डलर रु.५७.५०) हेजिंग शुल्क तिर्नुपर्ने हुन्छ। यदि १० बर्षको अन्तमा विनिमय दर रु.५७.५० भन्दा ज्यादाले बढेमा सरकारले नोक्सान बेहोर्नुपर्नेछ। विनिमय दर रु. ५७.५० भन्दा कमले बढेमा नाफा हुनेछ। विनिमय दर रु.५७.५० ले मात्र बढेमा नाफा/नोक्सान हुँदैन। 

यो कारोबारमा सरकारको नाफा अधिकतम रु.५७.५० प्रति अमेरिकी डलर हुन्छ तर नोक्सानी भने जतिपनि हुनसक्छ। यदि १० बर्षको अन्तमा विनिमय दर रु.३०० पुग्यो भने सरकारलाई प्रति अमेरिकी डलर रु. १२७.५० (= ३०० - ११५ - ५७.५०) नोक्सानी हुन्छ। अर्थात् कुल हेजिंग रकम (१० मिलियन अमेरिकी डलर) मा रु. १ अर्ब २७ करोड ५० लाख नोक्सानी हुन्छ। विनिमय दर रु. १५० भएमा रु. २२.५० (=११५ + ५७.५० - १५०) र विनिमय दर रु. ११५ भन्दा कम हुँदा रु.५७.५० प्रति अमेरिकी डलर सरकारलाइ फाइदा हुन्छ। यी गणनामा हेजिंग शुल्क लगानी गरेर आउने आम्दानी र ब्यबस्थापन खर्च समाबिष्ट छैनन्।यहाँ एकमुष्ट ऋण रकम १० मिलियन अमेरिकी डलरमा १० बर्षको लागि एकैपटक हेजिंग गर्दा दुइ समस्या पैदा हुन्छन: पहिलो लगानीकर्ताको लागि चर्को शुल्क (लागत) र दोश्रो सरकारको लागि ठुलो जोखिम। लगानीकर्ताको लागि १० मिलियन अमेरिकी डलरमा बार्षिक ५% दरले १० बर्षको हेजिंग शुल्क रु. ५७ करोड ५० लाख लाग्छ, जुन ज्यादै धेरै र बेहोर्नै नसक्ने गरि महँगो हो। त्यसरी नै सरकारको लागि पनि १० बर्षपछिको विनिमय दर आंकलन नै गर्न नसकिने गरी जोखिमपूर्ण हुन्छ। १० बर्षमा विनिमय दर १० गुणा माथि पनि जानसक्छ र ठुलो  जोखिम पैदा हुन्छ।

यो  समस्या निराकरणको लागी सरकार र लगानीकर्ता दुबैले छोटो छोटो समयको लागि थोरै रकममा हेजिङ्ग गर्नुपर्छ। लगानीकर्तालाइ जुन समयावधिमा जति साँवा रकम भुक्तानी गर्न आबश्यक हो त्यहि अवधि र रकमको लागि मात्र हेजिङ्ग गर्नु उपयुक्त हुन्छ। मानौं 
लगानीकर्ताले १० मिलियन अमेरिकी डलर ऋण अर्धबार्षिक रुपमा साँवा फिर्ता भुक्तानी गर्नुपर्ने रहेछ भने उसलाई प्रत्येक ६ महिनामा ५ लाख अमेरिकी डलरको जरुरत पर्दछ। यो पहिलो किस्ताको ५ लाख अमेरिकी डलरका लागि ६ महिनाको मात्र हेजिंग गर्दा हुन्छ। दोश्रो किस्ताको ५ लाख अमेरिकी डलरका लागी १ बर्षको हेजिंग गरे पुग्छ। तेश्रो किस्ताको ५ लाख अमेरिकी डलरको लागी १ बर्ष ६ महिनाको हेजिंग गरे पुग्छ। एवं रितले हरेक ५ लाख अमेरिकी डलरका लागि थप ६ महिनाको गरेर कुल २० हेजिंग करार गर्दा हुन्छ। यसरी हरेक हेजिङ्ग करारको लागि फरक शुल्क र अबधि तय गर्न सकिन्छ। यसो गरेर सरकारको जोखिम र लगानिकर्ताको लागत धेरै कम गर्न सकिन्छ। 

हेजिङ्ग कारोबारको राफसाफ: हेजिङ्गमा दैनिक मूल्य मिलान (मार्क टु मार्केट) गर्नुपर्छ। यो बजार मुल्यको आधारमा हेजिङ्गका दुवै पक्षको दैनिक नाफा/नोक्सान गणना गर्ने कार्य हो। यदि हेजिङ्ग करारको प्रयोग यसको अवधि भित्र कुनै पनि समयमा प्रयोग गर्न सकिने हो भने यो आबश्यक हुन्छ। होइन अन्तिम दिन मात्र प्रयोग गर्न सकिने हो भने दैनिक मूल्य मिलान अत्याबश्यक हुँदैन। 

हेजिङ्ग अवधिको अन्तमा विनिमय दर रु. ११५ भन्दा ज्यादा भयो भने हेजिङ्गको प्रयोग हुन्छ र सरकारले लगानीकर्तालाई सो समयको विनिमय दर र रु. ११५ बिचको फरक रकम  भुक्तानी गरेर कारोबारको राफसाफ गर्नसक्छ। जस्तो १० बर्षको अन्तमा विनिमय  दर रु. २०० कायम भयो भने सरकारले लगानीकर्तालाई प्रति अमेरिकी डलर रु. ८५ (=  २०० - ११५) का दरले १० मिलियन अमेरिकी डलरमा कुल रु. ८५ करोड रकम भुक्तानी दिंदा यो कारोबार राफसाफ हुन्छ।

यदि १० बर्षको अन्तमा विनिमय दर रु. ११५ वा सो भन्दा कम भयो भने यो कारोबार स्वत राफसाफ भएको मानिन्छ। यो अवस्थामा सरकार र लगानीकर्ता यो करारको दायित्वबाट मुक्त हुन्छन। लगानीकर्ता आबश्यक अमेरिकी डलर यो करार बाहिर जहाँ सस्तो पर्छ, त्यहीबाट खरिद गर्न  स्वतन्त्र हुन्छ। 
यहि करार अन्तर्गत खरिद गर्नुपर्छ भन्ने हुँदैन।  

हेजिङ्ग फन्ड (कोष): नियमावलीले हेजिङ्ग 
फन्ड (कोष) को ब्यबस्था गर्ने भनेको छ तर कोषको स्रोत हेजिङ्ग शुल्क बाहेक अर्को केहि देखिदैन। हेजिंग शुल्क बापत प्राप्त रकमको व्यवस्थापन हेजिंग कोषले गर्ने उल्लेख छ। यसअघि सरकार र लगानीकर्ताले बराबर योगदान गरेर हेजिङ्ग फन्ड (कोष) को ब्यबस्था गर्ने र सोहि फन्डले जोखिम बेहोर्ने भन्ने धारणाहरु आइरहेका थिए तर नियामावालीमा त्यस्तो ब्यबस्था छैन।

प्रश्न उठ्छ: मानौं हेजिंग कारोबारमा नोक्सानी भयो र हेजिङ्ग शुल्कले नोक्सानीलाई थेगेन भने सरकारले नोक्सानीको परिपूर्ति कहाँबाट गर्छ? बिचमै हेजिंग फन्ड (कोष) को रकम सकिएर कोष टाट पल्टियो भने के हुन्छ? यो अवस्थामा सरकारले कोषको कसरी ब्यबस्था गर्छ? बाँकी अवधिको जोखिम कसरि बेहोर्छ?

यस्ता अन्य धेरै प्रश्नहरु उठ्न सक्छन, जसका बारे नेपाल सरकार, अर्थ-मन्त्रालय र राष्ट्रबैंकले बारम्बार जवाफ दिनुपर्ने हुन्छ।
हेजिंगका अन्य उपाएहरु: हेजिङ्गका अन्य उपाएहरु पनि थिए। सरकारले आँफैले हेजिंग नगरी यी उपाएहरु उपलब्ध गराउन सहजीकरण गर्नसक्थ्यो, जुन सरकारको लागि कम झन्झटिलो र जोखिम शुन्य हुन्थ्यो । तर त्यसो नगरी सरकार आँफै हेजिङ्ग गर्न अघि सर्यो, जुन सहि होइन।

सरकारको लागि सबैभन्दा सजिलो उपाय भनेको हेजिंग गर्न चाहने लगानीकर्तालाई भारतीय मुद्रामा बनेका फाइनान्सियल डेरीभेटिभ किन्न अनुमति दिनु हुनेथियो। स्थिर विनिमयका कारण लगानीकर्तालाइ भारतीय मुद्रामाथि हेजिङ्ग गर्नु नेपाली मुद्रामा हेजिङ्ग गरे सरह नै हुन्थ्यो।
लगानीकर्ताले भारतीय पुंजीबजारबाट अप्सन्स,  फर्वार्ड्स, फ्युचर्स, स्वाप आदि खरिद गरेर यो जोखिम कम गर्नसक्थे। लगानीकर्तालाइ जुन देशबाट लगानी र ऋण ल्याएका हुन् तिनै देशमा हेजिंगका यस्ता साधनहरु खरिद गर्न दिन पनि सकिन्थ्यो। यो नै सबैभन्दा छिटो र कम जोखिमपूर्ण उपाए हुनेथियो। तर सरकारले त्यता सोचेन।

विदेशी मुद्राको जोखिम बेहोर्नु नै नपर्ने र लागत शुन्य पहिलो उपाए देशकै पुंजीबजारबाट पूंजी जुटाउनु हुन्थ्यो। नेपालको  पुंजीबजारलाई सुदृढ बनाउदै आबश्यक पुंजी देशमै निर्माण गर्न सकिन्छ, जसमा  बिदेशी मुद्राको जोखिम र लागत शुन्य हुन्छ। यो दुर्भाग्य नै हो कि सरकार देशको पुंजीबजार उठाउन छाडेर बिदेशी लगानी र ऋणको पछि सकृय लागिपरेको छ। प्रश्न उठ्छ, सरकारको यस्तो सकृयताले कसलाई फाइदा पुग्दैछ? यो सोचनीय छ। 

जोखिम र लागत बेहोर्नु नपर्ने उत्तिकै उपयुक्त अर्को उपाय भारतीय मुद्रामा लगानी र ऋण भित्र्याउनु हो। स्थिर विनिमय दरका कारण भारतीय मुद्रामा हुने लगानी र ऋणमा विनिमय दरको घटबढले कुनै जोखिम पैदा हुँदैन। अन्य विदशी मुद्राको विनिमय दरमा हुने घटबढले पनि यस्तो लगानी र ऋणलाइ कुनै असर गर्दैन।

राष्ट्रबैंक र बाणिज्य बैंकहरुले आफ्नै जोखिम र जिम्मेवारीमा हेजिंग सेवा दिन सक्छन। दुइ कारणले उनीहरु यसकार्यको लागि उपयुक्त हुन्छन: पहिलो राष्ट्रबैंक र बाणिज्य बैंकहरुले विदशी मुद्रामा दैनिक कारोबार गर्ने हुँदा उनीहरुलाई बिदेशी मुदाको घटबढबारे राम्रो जानकारी र सुचना हुन्छ, जसको प्रयोग गरेर उनीहरु हेजिंगका साधनहरुको सहि लागत निर्धारण गर्नसक्छन। दोश्रो, उनीहरुको आम्दानी र नगद प्रबाह बिदेशी मुद्रामा हुनेहुँदा उनीहरुलाई हेजिङ्ग गर्न धेरै सजिलो हुन्छ। थुप्रै विदशी केन्द्रिय बैंकहरुले यो सेवा प्रदान गर्ने गर्छन। 

कर्मचारी संचय कोष, लगानी कोषइन्सुरेन्स कम्पनीहरु लगायतका अन्य बित्तिय संस्थाहरुले पनि यो कार्य गर्नसक्छन। तर हेजिङ्गका साधन जारी गर्न तिनै संस्थालाइ सजिलो र फाइदाजनक हुन्छ जसको नगद प्रबाह बिदेशी मुद्रामा हुन्छ।

अप्सन्स, फर्वार्ड्स, फ्युचर्स, स्वाप, स्वापसन्स जस्ता नेपाली मुद्रा माथि बनाइने फाइनान्सियल डेरीभेटिभस् नेपालमा उपलब्ध नहुनाले तिनको खरिद नेपालमा सम्भब छैन। 
हेजिंग गर्ने उदेश्यले सरकारले लगानीकर्तालाई स्टक, बण्ड, सुन, कामोडिटिज, अन्य बिदेशीमुद्रा खरिद गर्ने अनुमति दिन सक्थ्यो। 

नियामावलीमा यो उपकरणको अलावा करेन्सी स्वाप (नगद प्रबाह साट्ने) र फरवार्ड रेट एग्रिमेंटको पनि ब्यबस्था गरेको भए नेपाल एअरलाइन्स, नेपाल आयल निगम, बिद्युत प्रबिधिकरण, राष्ट्रबैंक, बाणिज्य बैंकहरु, आयात/निर्यात ब्यापारमा संलग्न व्यापारिक संघ/संस्थाहरु हेजिङ्गको कार्यमा संलग्न हुन् सक्थे। तर यी उपकरणहरु छुटे।

निष्कर्षमा, आखिर सरकारले हेजिंग सम्बन्धि कार्यविधि नियमावली ल्याएको छ। थुप्रै कमि/कमजोरीका बाबजुद यसले देशमा फाईनान्सियल डेरेभेटिभको लागी बाटो खोलि दिएको छ। यसले निजिक्षेत्रलाइ यस्ता अरु उपकरणहरु पुंजीबजारमा प्रवेश गराउन उत्प्रेरित गर्न सक्नेछ। 

नियामावालीमा रहेका कमि/कमजोरी हटाउनका लागि राष्ट्रबैंकले पुँजीबजार र हेजिङ्ग एक्स्पर्टको सल्लाह, सुझाब र परामर्शमा आफ्नै आन्तरिक हेजिङ्ग कार्यविधि प्रक्रिया बनाउनु अति जरुरी छ। त्यस्तो कार्यविधि प्रक्रिया बिना हेजिङ्गको कार्य सहि ढंगले सम्पादन हुनसक्दैन। हेजिङ्गको सहि लागत र अवधि तय गर्न नसके ठुलो नोक्सानी बेहोर्नुपर्ने छ। 

हेजिंग आबश्यक बित्तिय उपकरण हो तर यो सरकारभन्दा निजिक्षेत्रबाट आउनु पर्नेथियो। सरकार हेजिङ्ग गरेर बस्न सक्दैन र उसले जतिसक्यो चाँढो यो कार्य निजीक्षेत्रलाइ सुम्पनु आबश्यक छ। हालकै परिस्थितिमा पनि हेजिङ्गको कार्य राष्ट्रबैंक र बाणिज्य बैंकहरुबाट हुन् सकेको भए ज्यादा उपयुक्त हुन्थ्यो। 

सरकारले पुंजीबजारलाइ उच्च महत्व दिएर यसको विस्तार र विकासतिर लागेको भए बार्षिक ५/७ खर्ब पुंजी देशभित्रै जुट्ने थियो। पुंजीबजारको अपार सम्भाब्यतालाइ बुझ्न र प्रयोग गर्न सरकार असफल भएको छ। ७ खर्ब बजार पुँजीकरण घटेर जाँदा चिन्ता नगर्ने सरकार ७ अर्ब बिदेशी ऋण लगानीका लागी ग्यारेन्टी बस्न उद्यत छ। पुँजीबजारलाइ अनुत्पादक भन्ने अर्थमन्त्री पुँजीबजार नबढ्नुको परिणती भोग्दैछन्। पुंजीबजारको द्रुत बिस्तार नगर्ने र फाईनान्सियल डेरीभेटिभ नल्याउने छुट सरकारलाइ छैन।

लगानी भित्र्याउने चक्करमा सरकार भावनामा बगेर बिदेशी ऋण लिने लगानीकर्ताको जस्तापनि माग र शर्त पुरा गर्न खोज्दैछ। आज ऋण लगानीको रकम सानो छ, जोखिम बेहोर्न सकिएला। भोलि ठुलो लगानी भित्रिएर जोखिमको रकम भयाबह रुपमा अर्बौबाट खर्बौंमा पुग्ला। बजेटको महत्वपूर्ण अंशले पनि यो जोखिम पुरा नहोला र जोखिमको रकम भुक्तानी गर्न बिदेशी ऋण लिनुपर्ने अवस्था आउला। त्यो अवस्थामा के गर्ने? अर्थतन्त्र नै दुर्घटनामा पर्ने गरी सरकार किन असिमित जोखिम बहन गर्ने उद्यममा लाग्ने? यहि रफ्तारमा यस्तै गलत निर्णयहरु गर्दै जाने हो भने भेनेजुयेलाको नियति टाढा छैन।
- मुक्ति अर्याल । ट्विटर : @ISDBR 

ज्याक बोगल, भेनगार्ड र इन्डेक्स फन्ड


को थिए ज्याक बोगल? किन न्युज मिडिया र सोसल मिडियामा जताततै उनको चर्चा भैरहेको छ? के थियो उनको बिसेषता र योगदान? के छ उनको बारेमा जान्नुपर्ने बिषयहरु?

ज्याक बोगल संसारका केहि ठुला लगानीकर्तामध्येका एक ज्यादै प्रभाबशाली लगानीकर्ता थिए। उनी ससारकै दोश्रो ठुलो म्युचुअल फन्ड कम्पनी भेनगार्डको संस्थापक थिए। उनी १९९६ सम्म भेनगार्ड ग्रुपको प्रमुख कार्यकारी अधिकृत र २००० सम्म अध्यक्षको रुपमा कार्यरत थिए। हालै ८९ बर्षको उमेरमा क्यान्सररोगका कारण उनको निधन भएको छ। निधनपश्चात उनका कार्य, उपलब्धि र योगदानबारे ब्यापक चर्चा-परिचर्चा सुरु भएको छ।
बोगल १९२९ को मे महिनामा न्युजर्सीको मोन्टक्लेरमा जन्मेका थिए। यो अमेरिकामा ठुलो आर्थिको मन्दीको समय थियो, जसमा उनका बाबुले लगभग सर्बश्व गुमाएका थिए। उनको बास्तबिक नाम जोन क्लिफ्टन बोगल थियो तर उनी ज्याक बोगल भनेर चिनिन ज्यादा रुचाउथे।
उनले 
प्रिन्सटन युनिभर्सिटीबाट १९५१ मा अर्थशास्त्रमा ग्राजुसन गरेका थिए। ग्राजुएट डिग्रीमा बोगलले म्युचुअल फन्डबारे गरेको शोधबाट प्रभावित  भएरफिलाडेल्फियामा रहेको वेलिंगटन फण्डका संस्थापक वाल्टर मोर्गनले उनलाई आफ्नो म्युचुअल फन्ड कम्पनीमा काम दिए। उनले वेलिंगटन फण्डमा १९७४ सम्म२३ बर्ष काम गरे। कार्यकारी प्रमुखको रुपमा कार्यरत रहँदै उनलाई १९७४ मा 
वेलिंगटन फण्डबाट हटाइयो। लगत्तै उनले १९७५ को जनवरीमा भेनगार्डको स्थापना गरे।
"भेनगार्ड" नाम उनले नाइल युद्धमा नेपोलियन बिरुद्ध लडेको लर्ड नेल्सनको पानीजहाजको नामबाट लिएका थिए। तर शब्दकोषमा भने "भेनगार्ड" को अर्थ "नयाँ प्रबृत्तिको नेतृत्व" भनेर अर्को परिभाषा पनि छ बोगलले दुइ दशक सम्म भेनगार्डको नेतृत्व गरेर लगानी (कोष/सम्पत्तिब्यबस्थापनमा गरेका कार्य, उपलब्धि र योगदानको कदर स्वरुप शब्दकोषमा यो परिभाषा थप गरिएको हो 

बोगलको नविन सोंच र कार्यले लगानी ब्यबस्थापन विधालाई बिल्कुलै नयाँ आयाम र परिभाषा दिएको कारण उनको बारेमा केहि जान्नु र बुझ्नुपर्ने पक्षहरु छन्। पुंजीबजार, म्युचुअल फन्ड र लगानी ब्यबस्थापनमा संलग्न ब्यबसायी, पेशाकर्मी र लगानीकर्ताहरुले उनको बारेमा केहि जानकारी राख्नु उपयोगी हुनेछ।
यस आलेखमा लगानीकोष र सम्पत्ति ब्यबस्थापनमा ज्याक बोगलका सिद्धान्त, अभ्यास र उनले सुरु गरेका नितान्त नयाँ कार्यहरुको बारेमा चर्चा हुनेछ
। 

बोगलको सबैभन्दा महत्वपूर्ण योगदान भनेको इन्डेक्स फन्डको अबधाराणा र त्यसको ब्यबहारिक प्रयोग हो। भेनगार्डमा उनले स्टक मार्केट इन्डेक्ससंग जोडेर ब्यबस्थापन गरिने संसारकै पहिलो इन्डेक्स फन्डको सुरुवात गरेक थिए। यो कम खर्चमा ब्यबस्थापन हुने निस्क्रिय फन्ड थियो, जसलाई बोगलले "स्ट्यान्डर्ड एण्ड पुर ५००" मार्केट इन्डेक्ससंग जोडेका थिए। यो इन्डेक्स फन्डले आफ्ना लगानीकर्ताहरुलाई सक्रिय रुपमा ब्यबस्थापन गरिने म्युचुअल फन्डले भन्दा उच्च प्रतिफल प्रदान गर्दथ्यो
इन्डेक्स फन्ड पनि म्युचुअल फन्ड नै हो तर यी दुइको फरक लगानी ब्यबस्थापन गर्ने तरिकामा हो। इन्डेक्स फन्डले कुनै प्रमुख स्टक मार्केट इन्डेक्सलाइ दुरुस्त (लगभग शत प्रतिशत) पछ्याउछ। यसमा मार्केट इन्डेक्समा रहेका स्टकहरुको बजार पुँजीकरणको अनुपातमा लगानी गरिन्छ। यसो गर्दा मार्केट इन्डेक्स जुन रुपमा जति प्रतिशतले घटबढ गर्छ, इन्डेक्स फन्ड पनि त्यहि अनुरुप त्यति नै प्रतिशतले घटबढ गर्छ। यसको अर्थ हो इन्डेक्स फण्डले मार्केट इन्डेक्सकै प्रतिफल प्राप्त गर्ने उदेश्य राखेको हुन्छ। यसो गर्नु पछाडिको तर्क आजसम्म कुनै म्युचुअल फन्डले मार्केट इन्डेक्सलाइ प्रतिफलमा निरन्तर उछिन्न नसक्नु हो। म्युचुअल फण्डमा त्यसरी कुनै स्टक मार्केट इन्डेक्सलाइ पछ्याइदैन र राम्रा मानिएका कुनैपनि धितोपत्र छाने लगानी गरिन्छ।

लगानीका विश्वब्यापी दुइ तरिका छन्: एक सक्रिय र अर्को निस्क्रिय। सक्रिय लगानीमा मूल्य कम भएका र भोलि मूल्य बढ्न सक्ने कम्पनीहरुको गहिरो अध्ययन, अनुसन्धान र खोज गरिन्छ र तिनैमा लगानी गरिन्छ। यसमा खोज्ने, किन्ने, बेच्ने प्रक्रिया निरन्तर चलिरहन्छ। त्यसो गर्दा अनुसन्धान खर्च, ब्रोकर शुल्क, ब्यबस्थापन खर्च र अन्य शुल्कहरुको बिषय आउछ। निस्क्रिय लगानी बिधिमा बजारमा रहेका राम्रा भनेर स्थापित कम्पनीहरुमा लगानी गरिन्छ र सो धितोपत्रहरु लामो समयसम्म राखिन्छ। तुलनात्मक रुपमा यसमा धेरै कम खर्च लाग्छ र माथिका धेरै शुल्कहरु हुँदैनन्

म्युचुअल फण्डले सक्रिय लगानी बिधि र इन्डेक्स फन्डले निस्क्रिय लगानी बिधिलाइ प्रयोग गर्छन। बोगलले निस्क्रिय लगानी बिधी रोजे र यसैलाइ प्रमाणित गरेर स्थापित गरेर विश्वब्यापी बनाए। उनको सम्पूर्ण दर्शन, सिद्धान्त र धारणा भनेको अति न्यून लागत र नाम मात्रको शुल्कमा लगानी ब्यबस्थापन गरेर लगानीकर्तालाइ धेरै भन्दा धेरै प्रतिफल दिनु हो। ग्राहकको लगानीलाइ सहकारीको अवाधारणामा नासोको रुपमा ब्यबस्थापन  गर्नुपर्छ भन्ने उनको मान्यता थियो।

सुरुवाती दिनमा उनको लगानी बिधिको अप्रिय आलोचना र कडा व्यंग भएको थियो। वालस्ट्रिटका लगानी ब्यबस्थापकहरुले उनको  खिल्ली उडाए। मानिसहरुले त्यति नपत्याएको हुनाले खासै सफल पनि भएन। सर्ब-साधारणको लागि निष्काशन गरेको १५ करोड डलर बराबरको पहिलो इन्डेक्स फन्ड मात्र १ करोड १३ लाखमात्र बिक्री भएको थियो। यसको एक कारण ब्रोकरलाइ दिइने ६% बिक्री शुल्क (लोड फि) थियो। लगानीकर्ताले यो शुल्क मन पराएनन र भ्यानगार्डले पनि यसलाई १९७७ मा पूर्णरुपमा हटायो।
तर जब पुँजीबजारमा समस्या देखिदै गयो, तब उनको बिधि धेरै प्रख्यात हुनथाल्यो र हर लगानी ब्यबस्थापक उनकोबिधिलाई पछ्याउन थाले। न्यून शुल्क र कम खर्चमा संचालित उनको इन्डेक्स फन्डले लगानीकर्तालाई सक्रिय रुपमा ब्यबस्थापन गरिएका कोषहरुले भन्दा उच्च प्रतिफल प्रदान गर्न सफल थियो। 

७० को दशकको सुरुवाती बर्षहरुमा बोगलले इन्डेक्स फन्ड सुरु गर्दैगर्दा सक्रिय ब्यबस्थापन गरिने म्युचुअल फन्डहरु उनको फन्ड भन्दा प्रतिफलमा अगाडी थिए। ८० को सुरुवाती बर्षहरुमा उनको इन्डेक्स फन्डले आधाभन्दा धेरै म्युचुअल फन्डहरुले भन्दा ज्यादा प्रतिफल दिन थाल्यो। ८० को दशकको अन्ततिर आउँदा भने भेनगार्डको इन्डेक्स फन्डले अरुले भन्दा ज्यादा प्रतिफल दिन थाल्यो। यसलाई भेनगार्डले प्रतिफलमा इण्डस्ट्रीलाइ जितेको अवस्था भनिन्छ। 

इन्डेक्स फन्डले अरुले भन्दा राम्रो प्रतिफल दिंदै गर्दा वालस्ट्रिटमा हरेक बर्ष "स्टक छनौट र मार्केट पुर्ब-अनुमान"गर्ने कार्य व्यंग र मजाकको बिषय बन्ने गर्थ्यो। हरेक बर्ष "स्टक छनौटले क्वांट्स (सांख्य विश्लेषक वा गणितज्ञ) र इन्डेक्स फन्डले भन्दा राम्रो प्रतिफल दिन्छ" भन्दै अनुमान गर्दा अन्तमा नको लगानी नीति अनुसारका इन्डेक्स फन्डले उच्च प्रतिफल प्राप्त गरेको अवस्था हुन्थ्यो।

भेनगार्डका अतिकम खर्चका फन्डहरु सफल हुनुको एक प्रमुख कारण सक्रिय कोष ब्यबस्थापकहरु बिचको भयङ्कर डरलाग्दो प्रतिस्पर्धा थियो। ८० र ९० को दशकमा लगानीकर्ता स्टक मार्केटमा लगानी गर्न आतुर थिए।नामी गिरामी लगानी ब्यबस्थापक (फन्ड म्यानेजर)हरु दिन गुणा रात चौगुणाको हिसाबले लगानी बढाईरहेका थिए। तर उनीहरु फिजिक्सका बैज्ञानिक र म्याथम्याटीक्समा पिएचडि गर्नेहरुको अध्ययन र अनुसन्धानमा आधारितरहेर लगानी ब्यबस्थापन हुने नयाँ र उच्च प्रविधिका हेज् फण्डहरुको बिरुद्ध थिए। प्रतिस्पर्धाको यो कडा रेसले मार्केटलाइ जित्नु कठिन बन्दै थियो।

२०००-०२ र २००८ को स्टक मार्केट क्र्यासले लगानीकर्ताहरु लगानी ब्यबस्थापन लागत र शुल्कबारे सचेत हुन् र सोधखोज गर्नथाले। त्यसबेला अपरिस्कृत (सर्ब-साधारण) लगानीकर्ता मात्र बिक्री शुल्क भएका म्युचुअल फण्डमा लगानी गर्थे। पेन्सनफन्ड, निवृत्तिभरण कोष, अक्षयकोष, गुठिजस्ता परिस्कृत (संस्थागत) योजनाहरुले पहिल्यै देखि नै इन्डेक्स फण्डमा लगानी गर्थे। तर २००२ मा मार्केट क्र्यासपछि थुप्रै अरु लगानीकर्ताले आफ्नो धेरै लगानी कम लागतहुने इन्डेक्स फन्डतिर सार्न सुरु गरे। यो अवस्थाले शुल्क घटाउने होडबाजी(युद्ध) नै चल्यो। फेडालिटी र चार्ल्स स्वाब जस्ता भेनगार्डका प्रतिस्पर्धीहरुले शुल्क घटाएर लगभग शून्य नजिक पुर्याईदिए। यो भेनगार्डकै लगानी नीतिको परिणाम थियो। आँफैले सुरु गरेको लगानी बिधीका कारणले भेनगार्ड आँफै अप्रिय प्रतिस्पर्धाको सामना गर्नुपर्ने अवस्थामा आइपुग्यो। 

कम्प्युटर टेक्नोलोजीले भेनगार्डको लगानी ब्यबस्थापनमा ठुलो भूमिका खेलेको छ। सहि तरिकाले इन्डेक्स फन्ड संचालन गर्न टेक्नोलोजी नभई सम्भब हुँदैनथ्यो। दैनिक हजारौं लगानीकर्ताले फन्ड किनेर आउने नगद र लगानी गरिएका कम्पनीहरुबाट आउने लाभांसलाइ इन्डेक्सको संरचनासंग मिलाएर लगानी ब्यबस्थापन गर्ने कार्य ज्यादैकठिन र चुनौतिपूर्ण थियो। भेनगार्डको पहिलो इन्डेक्स फन्डले "स्ट्यान्डर्ड एण्ड पुर ५००"मा रहेका आधा (करिब२५०) कम्पनीमा मात्र लगानी गरेको थियो। तर जब १९९२ मा कम्प्युटर प्रबिधि र ट्रेडिंग बिधी आयो तबमात्र भ्यानगार्डले आफ्नो "पूर्ण स्टक मार्केट इन्डेक्स फन्ड" सुरु गर्नसक्यो। १९९२ मा सुरु गरिएको यो इन्डेक्स फन्ड बन्द प्रकृतिको छ र यसले मार्केटका ३५०८ स्टकमा कुल ६७२.२० अर्ब डलर सम्पत्ति  लगानी गरेको छ, जसको बार्षिक खर्चअनुपात ०.४% छ।

यो बर्ष २०१९ भेनगार्डको लागि महत्वपूर्ण हुँदैछ। यसैबर्ष इतिहाँसमै पहिलो पटक इन्डेक्स फण्डमा रहेको कुल लगानीले सक्रिय ब्यबस्थापन हुने म्युचुएल फण्डमा रहेको कुल लगानीलाई उछिन्दैछ। यो बोगल कै देन हो। २०१८ माभ्यानगार्ड एक्लैले २१८ अर्ब डलर लगानी भित्र्याउदा बाँकी फन्डहरुले २३७ अर्ब डलर लगानी गुमाएका थिए

बोगलले गैर-नाफामुलक सहकारीको रुपमा भेनगार्ड सुरु गरेका थिए। यसका ग्राहक नै यसका सेयरधनी थिए। आज उसका २ करोडभन्दा ज्यादा लगानीकर्ता र सेयरधनीहरु १७० देशभर फैलिएका छन्। पहिलो बर्ष १.८ अर्ब सम्पत्ति ब्यबस्थापन गरेको भ्यानगार्ड आज ५.३ ट्रिलियन (५३ खर्ब) डलर भन्दा ज्यादाको लगानी र सम्पत्ति ब्यबस्थापन गर्छ। उसका अमेरिकामा मात्र १९० इन्डेक्स फन्ड र सक्रिय लगानीमा ब्यबस्थापन हुने म्युचुअल फन्डहरु छन् भने २२० त्यस्ता अतिरिक्त्त गैर-अमेरिकी फन्डहरु छन्। आज भेनगार्डमा १६,६०० कर्मचारी कार्यरत छन् भने उसले इन्डेक्स फन्ड इण्डस्ट्रीको ५१ प्रतिशत (आधाभन्दा धेरै) हिस्सा ओगट्दछ। उसले ब्यबस्थापन गरेका कोषहरुमा खर्चको अनुपात औसतमा ०.११% छ, जुन म्युचुअल फन्ड इन्डस्ट्रीमा सबैभन्दा कम मानिन्छ। 

संसारका धेरै ठुला लगानीकर्तामध्येका एक बोगलले आजीवन धितोपत्र "किन्ने र राख्ने" नीतिको व्याख्या गरिरहे। उनले अति कम खर्च र शुल्कमा लगानी ब्यबस्थापन गर्ने बिधी र तरिकाको बिकास गरे। उनले प्रतिपादन गरेको सिद्धान्तको सबैभन्दा धेरै फाइदा तिनै नियमित लगानीकर्तालाई भयो जसले उनको नाम सुनेकै थिएनन। पुराना मूल्य मान्यतामा अडिग रहेर उनले धेरै उदाहरणीय कार्य गरे, जुन धेरैले रुचाएको र अरुले गर्न नसकेको थियो। 

बोगलले लाखौं करोडौं सर्ब-साधारण अमेरिकनलाइ आफ्नो घर किन्न, पढाइ खर्च बेहोर्न र सेवा निबृत्त जीवन  सुविधाजनक रुपमा बिताउन सक्षम बनाए। भविष्यको लागि बचत गर्ने अमेरिकनहरुको बानीमा उनले ठुलो परिबर्तन र क्रान्ति ल्याए। साना लगनिकर्ताको चासोको निपुणताका साथ सम्बोधन गरे।
उनी जिवन्त थिए तर प्रभाब देखाउन नचाहने निष्प्रभाबी स्वभावका पनि थिए। पुँजीबजारमै कार्यरत धेरै मानिसहरुलाई उनको बारेमा थाहा थिएन। यसको कारण थियो उनको स्वभाब: उनी प्रचारमुखी र मिडियामा छाउन रुचाउने ब्यक्ति थिएनन। उनी काममा ज्यादा केन्द्रित रहने र रमाउने गर्थे।

उनी वारेन बफेट जस्तो हर अमेरिकीको घरमा सुनिने र चिनिने नाम थिएनन। उनले कहिल्यै अति ठुलो र  प्रकाण्ड ब्यक्ति बन्ने चाहना राखेनन। उनी जहिल्यै सानो कम्पनीको रुपमा चल्ने चाहना राख्थे र भन्ने गर्थे: लगानीकर्ताको हितको लागि जे गर्दा राम्रो हुन्छ त्यै काम गरे कोष (नगद) र सम्पत्ति आँफै थुप्रिन्छ।
तेत्रो खर्बौंको कोष संचालन र ब्यबस्थापन गर्ने बोगल अर्बपति थिएनन् जबकी वाल-स्ट्रिटका अन्य धेरै त्यस्ता लगानी ब्यबस्थापकहरु प्राय अर्बपति छन्। यसको कारण उनको अत्यन्त न्यून ब्यबस्थापन खर्चमा लगानी ब्यबस्थापन गर्ने सिद्दान्त र दर्शन हो। उनि सजिलै अर्बपति बन्नसक्थे तर उनले आफ्ना ग्राहकलाइ अर्बपति बनाउन रुचाए।

बोगलको नामसंग १० खर्ब (एक ट्रिलियन) डलरको प्रसंग संधै जोडिएर आउने गर्छ। यो रकम उनले ४३ बर्षअघिभेनगार्ड ग्रुप सुरुगरे यता उनकै कारण अमेरिकी लगानीकर्ताहरुले लगानी ब्यबस्थापन लागत र शुल्कमा गरेको बचत हो। यो अंक ब्लुमबर्ग मिडियाका एरिक बाल्चुनसले २०१६ मा गणना गरेका थिए। लगानी ब्यबस्थापन क्षेत्रमा यसलाई "भेनगार्ड इफेक्टभनिन्छ। लगानी ब्यबस्थापन ब्यबसायमा यति ठुलो प्रभाब आजसम्म कसैले पार्ने सकेको छैन। यो रकम आज दुनियाको सबैभन्दा ठुलो कम्पनी (एप्पल वा माइक्रोसफ्ट वा गुगल वा अमेजन डटकम) को बजार पुँजीकरण भन्दा पनि ज्यादा छ।

बोगलले लगानीको क्षेत्रमा मात्र प्रशिद्धि कमाएका होइनन। उनी उच्च नैतिक मूल्य भएका र निर्भिक धारणा राख्ने ब्यक्तिको रुपमा पनि उत्तिकै परिचित थिए। वालस्ट्रिटको संस्थागत लालच र ज्यादतीको बिरुद्ध बोलिरहे, लागिरहे। व्यक्तिगत स्वार्थमा 
स्टक छनोट गर्ने र लगानीको सल्लाह दिनेहरुको उनी जहिल्यै खुला र प्रस्ट आलोचक थिए
यसैकारण 
त्यति बिघ्न ठुलो वालस्ट्रिट फर्मको प्रमुख भएर काम गरेपनि वालस्ट्रिटमा उनका धेरै मित्र थिएनन्।म्यासाचुसेट विश्वविद्यालयका प्राध्यापक तथा विख्यात अर्थशास्त्री पाउल स्यामुल्सन र प्रिन्सटन विश्वबिद्यालयका प्राध्यापक बर्टन मलकिल जस्ता वालस्ट्रिट बाहिरका ब्यक्तिहरु उनका नजिकका मित्र थिए।

प्रख्यात लगानीकर्ता वारेन बफेटले आफ्नो बार्षिक लेटर (चिट्ठी)मा समेत "अमेरिकन लगानीकर्ताहरुको लागि धेरै काम गरेका बोगल मेरो र अरु धेरैको सहि नायक हुन्" भनेर बोगलको उच्च मुल्यांकन गरेका छन्।

नैतिकता र इमान्दारिताबारे २००८ मा प्रकासित आफ्नो किताब "इनफ" मा उनी भन्छन: नैतिकता र इमान्दारिताको जुन स्तर मैले आफ्नो लामो जीवनमा विकास गरे, त्यो मेरो आत्मा र हृदयदेखि नै मैले स्थापना गरेको मेरो सानो फर्ममा लगाउने कोसिस गरे।

उनले 
इन्डेक्स फन्डको अबधाराणा बिकास गरे, त्यसको ब्यबहारिक रुपमा सफल प्रयोग गरे र इन्डेक्स फन्डलाइ विश्वब्यापी बनाए। यसैले उनलाई "फादर अफ इन्डेक्स इन्भेस्टिग" भनिन्छ।

१९९९ मा फर्च्युन म्यागेजिनले बोगललाइ पुँजीबजार र लगानीको क्षेत्रमा काम गर्ने बीसौं सताब्दीका चार विख्यात ब्यक्तिहरुमध्येको एक भनेर उल्लेख गरेको थियो। २००४ मा टाइम म्यागेजिनले पनि उनलाई विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा राखको थियो।

समग्रमा उनका तीन प्रमुख दृष्टिकोणले वालस्ट्रिटको पारम्परिक लगानी ब्यबस्थापन गर्ने तरिकामा आमुल परिबर्तन ल्याईदियो: पहिलो म्युचुअल फन्डले मार्केटले भन्दा निरन्तर उच्च प्रतिफल दिनसक्दैन। दोश्रो वालस्ट्रिटको अभ्यास बिपरित उनले सहकारीको भावानालाइ भेनगार्डको स्वामित्वमा भित्र्याए र सफल बनाए।तेश्रो ब्यबसाय ग्राहकको लागि उनीहरुकै ट्रस्ट(नासो)को रुपमा संचालन गर्नुपर्छ भन्ने मान्यता स्थापित गरे।
लगानी सम्बन्धि बोगलबाट सिक्नैपर्ने केहि अत्यन्त राम्रा बिधि, तरिका र शुत्रहरु छन्। जस्तै: लगानी दिर्घकालको लागि गर्नुपर्छ। लगानीमा सम्पत्तिको बांडफांड गर्नुपर्छ र सबै सम्पति एउटै डालोमा राख्नुहुँदैन। सरल लगानी विधिले जटिल लगानी प्रक्रियाले भन्दा जहिल्यै राम्रो प्रतिफल दिन्छ। लगानी गर्दा लाग्ने ब्यबस्थापन शुल्क र करका कारण इन्डेक्स फन्डले दिने प्रतिफल सक्रिय लगानी विधिले दिने प्रतिफलभन्दा धेरै हुन्छ। भिडलाइ पछ्याउनु र कुनै लगानी अन्तिम युद्ध झैँ गरेर गर्नुभन्दा एकदिन बजार फर्कन्छ भनेर बुझेर लगानी गर्नु धेरै उत्तम हुन्छ। बजार घट्दा कठिन भएपनि आफ्नो नीतिमा अडिग रहनु नै दिर्घकालिन रणनीति हुनुपर्छ र यस्तो रणनीति नै एक अनुसासित लगानीकर्ताको सच्चा मित्र हुनसक्छ। क्षणक्षणमा लगानी नीति परिबर्तन गरिरहनु घातक हुन्छ।

अवकासमा गएपछि पनि उनी निस्क्रिय थिएनन। उनले लगानी, म्युचुअल फन्ड, सम्पत्ति र कोष ब्यबस्थापनमा १३ किताब लेखेका छन्। हालै २०१८ मा पनि उनले "स्टे द कोर्स: द स्टोरी अफ भेनगार्ड एण्ड द इन्डेक्स रिभोलुसन" नामको किताब प्रकाशन गरेका थिए। उनका ज्यादै महत्वपूर्ण र पढ्नै पर्ने किताबहरुमा "कमनसेन्स अन म्युचुअल फन्ड" र "लिटल बुक अफ कमनसेन्स इभेस्टिंग" छन्। त्यस्तै २०१६ मा उनको बेरी रिटहोल्ट्जसंगको अन्तर्वार्ता पनि सुन्नैपर्ने गरि जानकारीमुलक, ब्यबहारिक र उपयोगी छ।
बोगलका मनपर्ने किताबमा बेन्जामिन ग्राहमको "इन्टलीजेन्ट इन्भेस्टर" र बुर्टन मलकिलको "र्यान्डम वाक डाउन वालस्ट्रिट", विलिअम बर्नस्टिनको "फोर पिलार अफ  इन्भेस्टटिंग", डेभिड स्वेन्सनको "अनकन्भेन्सनल सक्सेस", पिटर बर्नस्टिनको "अगेन्स्ट द गड" लगायत थिए। बोगलका पाठक र प्रसंसकहरुले उनको लगानीका सिद्धान्त, विधि र विचारहरुलाइ समेटेर "बोगलहेड्सडटओर्ग" नामको वेबसाइट समेत संचालनमा ल्याएका छन्, जहाँ उनीबारे अरु धेरै सुचना र जानकारी पाउन सकिन्छ।

मुक्ति अर्याल । ट्विटर : @ISDBR