Tuesday, September 1, 2020

मर्जर एण्ड एक्विजिसन सम्बन्धी मस्यौदा निर्देशिकाको औचित्य


संगठित संस्थाहरुको मर्जर एण्ड एक्विजिसन गतिविधिलाई नियमन गर्न धितोपत्र बोर्डले हालै "सुचिकृत संगठित संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७७" को मस्यौदा सार्बजनिक गरेको छ। मस्यौदाले मर्जर एण्ड एक्विजिसनको कार्यलाइ एउटा प्रक्रियामा लगेर नियमन गर्न खोजेको बुझिन्छ।

 

मर्जरमा समान हैसियतका दुई संस्था संयुक्त रुपमा बिलय भएर नयाँ संस्था बन्दछ। एक्विजिसनमा असमान हैसियतका संस्थाबीच ठुलोले सानोलाई आँफुमा बिलय गराउदछ। नेपालमा भैरहेका यस्ता संस्थागत गतिबिधिहरुमा मर्जरभन्दा एक्विजिसनका बढी देखिन्छन्। बोलीचालीमा मर्जर भनिएपनि वास्तबमा ति एक्विजिसन हुन्।

 

मर्जरमा गाभिने संस्थाका सेयरधनीहरुलाई सेयर दिईन्छ भने एक्विजिसनमा नगद, सेयर वा नगद र सेयर दुवै दिन सकिन्छ। मर्जर वा एक्विजिसनमा सेयर दिनेकार्य नयाँ सेयरको निष्कासन गरेजस्तै हुनेहुँदा यो केहि जटिल हुन्छ र यसमा धेरै कानुन आकर्षित हुन्छ। नगदमा गरिने एक्विजिसन तुलानात्मक रुपमा सरल हुन्छ र नियमन पनि कम हुन्छ।

 

मर्जर एण्ड एक्विजिसनको प्रमुख उदेश्य सेयरधनीहरुको सम्पत्ति बृद्धि गर्नु हो। कर्पोरेट वर्ल्डमा मर्जर एण्ड एक्विजिसन बाहेक टेकओभर, रिभर्स मर्जर, डिमर्जर, स्पिन अफ, स्प्लिट अफ आदि थुप्रै संस्थागत गतिविधिहरु हुन्छन, जुन नेपालमा अभ्यासमा आऊन बाँकी नै छन्।

 

मर्जर एण्ड एक्विजिसनको प्रक्रिया: मर्जर एण्ड एक्विजिसनको प्रक्रिया जटिल हुन्छ। यसको लागी कडा तयारी, कुशल परामर्दाता र समर्पित ब्यबस्थापन चाहिन्छ।

 

कुनै संगठित संस्थाले अर्को संगठित संस्थालाइ खरिद वा बिलय गर्न चाहेमा मर्जर एण्ड एक्विजिसनको प्रक्रिया सुरु हुन्छ। यसको लागि उसले कुनै इन्भेस्टमेण्ट बैंकलाइ बित्तिय परामर्शदाता नियुक्त गरि त्यस्तो संस्थाको खोजी गर्न लगाउछ। बित्तिय परामर्शदाताले गाभिन वा बिक्री हुन् चाहने संस्था खोज्ने र प्रारम्भिक छलफल अगाडी बढाऊने गर्छ। छलफल अघि बढेमा गाभिन वा बिक्री गर्न चाहने संस्थाले पनि आफ्नो बित्तिय परामर्शदाता नियुक्त गरेर यो कार्य अघि बढाउछ। यो कार्यलाई थप अगाडी बढाउन दुवै संस्थाले संचालकहरु राखेर आ-आफ्नो मर्जर कमिटी बनाउने र कानुनी परामर्शदाता तोक्ने गर्छन।

 

परामर्शदाताको नियुक्ती बाध्यकारी नभएपनि अन्तर्राष्ट्रिय अभ्यासमा इन्भेस्टमेण्ट बैंक र कानुनी सल्लाहकार बिना कर्पोरेट रिस्ट्रक्चरिङ्गका यस्ता कार्य हुँदैनन तर नेपालमा यस्तो अभ्यास हुन बाँकी छ।

 

बित्तिय परामर्शदाताहरुले दुवै संस्थाको सेयरको मुल्यांकन गर्ने गर्दछन। मुल्यांकनको आधारमा नेगोसिएसन (मोलमोलाई) सुरु हुन्छ। नेगोसिएसनमा गाभ्ने वा गाभिने संस्थाको सेयरलाइ कति मूल्य दिने वा एउटा संस्थाको सेयरको बदलामा अर्को संस्थाको कति सेयर दिने (लिनेदिने अनुपात) भन्ने प्रस्ताब गरिन्छ। साथै प्रारम्भिक सहमति गरि आसय पत्र लिने-दिने गर्छन।


नेगोसिएसनको प्रक्रियामा सेयर लिनेदिने दरमा मोटामोटी सहमति भएपछि ड्यु डिलिजेंस सुरु हुन्छ। मर्जरमा दुवै संस्थाको र एक्विजिसनमा गाभिने संस्थाको ड्यु डिलिजेंस हुन्छ। यो एक जटिल प्रक्रिया हो, जसमा संस्थाहरुको बित्तिय तथ्यांक (सम्पत्ति, दायित्व, आम्दानी-खर्च, नाफा-नोक्सान, नगद प्रबाह, भविष्यको आंकलन, मुल्यांकन) मात्र हेरिदैन, उनीहरुको गोप्य व्यावसायिक रणनिति, कर्मचारी, ग्राहक, बजार, कानुनी, सामाजिक, बाताबरणीय पाटाहरु पनि हेरिन्छ।

 

ड्यु डिलिजेंसमा कुनै ठुलो समस्या नदेखिए खरिद गर्ने वा गाभ्नेबारेको अन्तिम सम्झौता हुन्छ। सम्झौता बमोजिम दुई संस्थाबीच एकीकरण र समायोजनका कार्य हुन्छन। यसबिच अन्य थुप्रै स-साना कार्यहरु पनि हुन्छन तर मोटामोटी रुपमा यहि नै हो। यहाँ ख्याल गर्नुपर्ने एक बिषय यी संस्थाको सेयरको किनबेच हो, जुन यो प्रक्रियामा कहिपनि रोकिदैन।

 

नियामक निकायको कार्य यहि प्रक्रियालाई बिद्यमान कानुन बमोजिम निष्पक्ष, न्यायोचित र पारदर्शी बनाउने हो। यस आलेखमा यसैबारे एक बिबेचना र विश्लेषण गरौं।

 

गोप्यता सम्बन्धी करार : मर्जर एण्ड एक्विजिसनमा संलग्न पक्षहरुबीच गोप्यता सम्बन्धी करार गर्नु आबश्यक हुन्छ। ।संलग्न पक्षले अन्तिम सम्झौता हुनु अघि मर्जर एण्ड एक्विजिसनबारे कुनै सुचना, जानकारी वा तथ्यांक सार्बजनिक गर्न,कसैलाई चुहाउन हुँदैन र सो को प्रतिबद्धताका लागी त्यस्तो करारमा हस्ताक्षर गरेको हुनुपर्दछ।

 

परामर्शदाताको सल्लाह: गोप्यता सम्बन्धी करार गर्नु पहिले संगठित संस्थाहरुले आ-आफ्नो पक्षमा कार्य गर्न बित्तिय र कानुनी परामर्शदाता नियुक्त गरेको हुनुपर्दछ। परामर्शदाताहरुले संगठित संस्थाहरुलाई ब्यबसायिक सल्लाह प्रदान गरी कारोबार निष्पक्ष र न्यायोचित गराउन मद्दत गर्नेछन। यसले पूंजीबजारको बिकास र बिस्तारलाई पनि सहयोग गर्दछ।

 

खरिद बिक्रीको दर: खरिद-बिक्रीको दर निर्धारण नभईन्जेल मर्जर एण्ड एक्विजिसन कार्य दुई संस्था बाहेक अन्य कसैले थाहा नपाउने गरी अत्यन्तै गोप्य हुनुपर्छ। गोप्यता नभए यी संस्थाहरुको सेयर/धितोपत्रको बजार मूल्य प्रभावित भई कोहि लगानीकर्ताले गुमाउने र कोहिले फाइदा गर्ने भेदभाब र अन्यायपूर्ण अनि आर्बिट्रजको अवस्था आउछ। त्यसैले गोप्यता कायम भएकै हुनुपर्दछ।

 

नयाँ सेयर निष्काशन : सेयर लिनेदिने सम्झौता कार्यन्बयन गर्दा एउटा संस्थाको सेयरको बदालामा अर्को संस्थाले सेयर दिने कार्य नयाँ सेयर निष्काशन गरे सरह हुन्छ। यस्ता सेयरहरु धितोपत्र बोर्डमा दर्ता हुन् जरुरी हुन्छन। पब्लिकमा गैसकेका यी संस्थाको सेयर लिने ब्यक्ति र मूल्य पहिल्यै निश्चित भएकाले सार्बजनिक निष्काशनमा झैँ विवरण-पत्र प्रकाशन गरेर लामो प्रक्रियामा जान जरुरत पर्दैन।

 

सुचना र जानकारी : मर्जर एण्ड एक्विजिसनको कार्यमा बिद्यमान कानुनमा रहेका कर्पोरेट एण्ड फाइनान्सियल डिस्क्लोजर्स (संस्थागत र बित्तिय जानकारी) का नियमहरु पालना हुनुपर्दछ। यी संस्थाहरुले एक अर्कालाई दिएको तथ्यांक र जानकारीहरु गलत र मेटिएको, झुट्टा, भ्रमित पार्ने र घटबढ गरिएका अभ्यास वा कार्यहरु हुनुहुँदैन। दुवै संस्थाले मर्जर वा एक्विजिसनको सम्झौताबारे नियमन निकायहरुलाई पनि जानकारी गराउनुपर्दछ।

 

धितोपत्र बोर्डलाई जानकारी मात्र दिएर पुग्दैन। यसमा नयाँ जारी हुने सेयरहरु बोर्डमा दर्ता गर्नुपर्ने हुँदा अन्तिम सम्झौता भैसकेपछि मर्जर वा एक्विजिसनको कार्ययोजना, समय तालिका र सम्झौता पेश गर्नुपर्दछ। साथै बेलाबेलामा अन्य सुचना र जानकारी पनि दिनुपर्ने हुन्छ।

 

फ्युडिसियरी ड्युटी: दुवै संस्थाका संचालक तथा ब्यबस्थापनले आफ्नो फ्युडिसियरी ड्युटी अन्तर्गत सबैभन्दा पहिले आफ्ना सेयरधनीको हितको ख्याल राखी काम गरेको हुनुपर्दछ। दुवै संस्थाको सेयरधनीहरुलाई ति संस्थाको ब्यबस्थापन र संचालक समितिले हुन् गैरहेको मर्जर एण्ड एक्विजिसनबारे ठिक समयमा ठिक सुचना दिई उनीहरुबाट यो प्रस्ताबअनुमोदन गराउनुपर्दछ। सम्झौता दुवै पक्षका सेयरधनीहरुको लागि निष्पक्ष र न्यायोचित हुनुपर्छ।

 

मर्जर एण्ड एक्विजिसनमा सेयरको मुल्यांकन र ड्यु डिलिजेन्स अत्यन्तै महत्वपूर्ण हुन्छ। दुवै संस्थाका सेयरको मुल्यांकन र ड्यु डिलिजेन्स उचित हुन जरुरी हुन्छ। एकसंस्था अर्को संस्थाबाट प्रभावित भै अबास्ताबिक मुल्यांकन र ड्यु डिलिजेन्स हुनुहुँदैन। दुवै संस्थाका संचालक वा उच्च ब्यबस्थापनले भित्री सुचनाको आधारमा कुनै कारोबार गरेको हुनुहुँदैन।

 

एकाधिकार र प्रतिस्पर्धात्मक मूल्य: मर्जर एण्ड एक्विजिसनमा एउटा ज्यादै महत्वपूर्ण बिषय कुनै एउटा संस्थाले बजारमा एकाधिकार प्राप्त नगरोस र बस्तु र सेवाको मूल्य प्रतिस्पर्धि रहोस भन्ने हो। मर्जर वा एक्विजिसनका कारण कुनै संस्थालाइ एकाधिकार प्राप्त नहुने, धेरै बजार हिस्सा नओगट्ने, कम मुल्यमा बस्तु वा सेवा बेच्न नसक्ने, बजारलाई अप्रतिस्पर्धी बनाउन र प्रतिस्पर्धीहरुलाई बजारबाट हटाउन नसक्नेतर्फ ध्यान दिन जरुरी हुन्छ।

 

कुनै संस्था ज्यादै ठुलो र भीमकाय नहोस ताकि संस्था धेरै ठूलो भएर सम्हालिन नसकी टाट उल्टेर अर्थतन्त्रलाइ नै तहसनस नबनाओस भन्नेतर्फ पनि ध्यान दिन जरुरी छ। खासगरी वित्तिय संस्थाहरु अनावश्यक रुपमा ठूलो हुँदै गए बेलैमा सचेत हुनुपर्छ।

 

यि बिषयमा प्रत्यक्ष नियमनकारी निकायको कार्यक्षेत्र अन्तर्गत पर्नेहुँदा ति निकायले ध्यान दिन जरुरी छ।जस्तै बित्तिय संस्था, बिमा कम्पनी, हाइड्रोपावर कम्पनीको सन्दर्भमा क्रमश: राष्ट्रबैंक, बिमा समिती र बिद्युत नियमन आयोगले हेर्नुपर्दछ। यसमा थप नयाँ कानुन आउन जरुरी छ।

 

अन्य: प्राइभेट संस्थाले धितोपत्र निष्काशन गरेको संस्था खरिद गरेमा वा बिदेशी संस्थाले धितोपत्र निष्काशन गरेको स्वदेशी संस्था खरिद गरेमा के हुने? केहि भाग सेयर खरिद गरे के हुने? यसबारेपनि कानुनमा प्रष्ट ब्यबस्था हुन् आबश्यक छ।

 

मस्यौदा निर्देशिकाबारे: मर्जर एण्ड एक्विजिसनलाइ नियमन गर्नुपर्नेमा दुईमत हुनसक्दैन तर निर्देशिकाकै जरुरत भने होइन। बिद्यमान धितोपत्र ऐन-कानुन, कम्पनी ऐन, प्रत्यक्ष नियमन गर्ने ऐन, श्रम ऐन लगायतका कानुनमा भएका ब्यबस्थाहरुबाट पनि यो कार्य नियमन हुनसक्छ। नियमनको प्रमुख उदेश्य पारदर्शिता र निष्पक्षता हो। यो उदेश्य प्राप्तिमा कुनै बाधा-अड्चन वा कमि-कमजोरी भए बिद्यमान कानुनहरुमा संसोधन वा थपघट गर्नसकिन्छ।

 

मस्यौदा निर्देशिकाका ब्यबस्था हेर्दा नेपालमा हुने मर्जर एण्ड एक्विजिसनको अभ्यास र प्रक्रिया अन्तर्राष्ट्रिय अभ्यास भन्दा बिल्कुल बिपरित देखिन्छ। यस्तो मस्यौदा आउनुमा नेपालले अभ्यास गरिआएको मर्जर एण्ड एक्विजिसनको प्रक्रिया धेरै हदसम्म जिम्मेवार छ। मस्यौदामा झैँ मर्जर वा एक्विजिसनका धेरै कार्यहरुलाई पहिल्यै सार्बजनिक गर्न मिल्दैन। यी कार्यहरु ज्यादै गोप्य सुचना हुन् र यिनले धितोपत्रको बजारमूल्यलाई प्रभावित पार्ने हुँदा सार्बजनिक हुनसक्दैनन। त्यसो गरिएमा धितोपत्र ऐन २०६३ को परिच्च्छेद ९ को विभिन्न दफाहरुमा भएको भित्री सुचना वा जानकारी सम्बन्धी ब्यबस्थाको उल्लङ्घन हुनजान्छ।

 

निर्देशिका नै बनाएपनि संस्थाहरुले मर्जर वा एक्विजिसनको कार्ययोजना, समय तालिका र सम्झौताका साथै नयाँ सेयरहरु बोर्डमा दर्ता गर्नुपर्ने र समयमा अरुपनि जानकारी दिनुपर्ने ब्यबस्था गर्न सकिन्छ, तर संगठित संस्थाले बोर्डमा निबेदन दिने, बोर्डले अध्ययन गर्ने, स्वीकृति दिने, शर्त तोक्ने ब्यबस्था ब्यबहारिक हुँदैन। यी ब्यबस्थाले नियमन भन्दा नियन्त्रण गर्न खोजेको देखाउँछ। आजको कर्पोरेट वर्ल्डमा नियन्त्रण रुचाईदैन। नियमन निकायहरुले विचार पुर्याउनुपर्ने बिषय यहि हो।



मुक्ति अर्याल Twitter: @isdbr

(विगतमा एक दशकसम्म नेपाली पुँजी बजारमा कार्यरत 

अर्याल हाल अमेरिकी पुँजीबजारसँग सम्बद्ध छन्।)


Sunday, August 23, 2020

सुचिकृत संगठित संस्था एक आपस्स्मा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७७ को मस्यौदामा केहि सुझाबहरु

संगठित संस्थाहरुको मर्जर तथा एक्विजिसन गतिविधिलाई नियमन गर्न धितोपत्र बोर्डले जारी  गर्नलागेको "सुचिकृत संगठित संस्था एक आपस्स्मा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७७ को प्रारम्भिक मस्यौदामा केहि सुझाबहरु:


नेपालमा हाल भैरहेको धेरै संस्थागत गतिबिधिहरुमा मर्जर भन्दा एक्विजिसनका गतिबिधि बढी छन्।मर्जरमा दुई संस्था मिसिएर छुट्टै एउटा नयाँ संयुक्त संस्था बन्दछ भने एक्विजिसनमा एउटा संस्थाले अर्को संस्थालाई गाभ्ने हुन्छ। बोलीचालीमा मर्जर भनिएपनि बास्तबमा यी प्राय एक्विजिसन हुन्।

मर्जरमा दुई संस्था मिलेर नयाँ संस्था बन्ने हो, जसमा पुराना संस्थाका सेयरधनीहरुलाइ उनीहरुको पुरानो सेयरको बदलामा नयाँ संस्थाले आफ्नो सेयर दिने हो। यी सेयरहरुको निष्कासन नयाँ हुन्छ। अर्थात, मर्जर कारोबार नगदमा नभई सेयरमा मात्र हुन्छ। एक्विजिसन भने नगद र सेयर दुबैमा हुन्छ। एक्विजिसन ३ किसिमले हुन्छ। 

क) पहिलो गाभिने संस्थाको सम्पूर्ण सेयरलाइ नगद दिएर (Cash Tender Offer) गाभ्ने
ख) दोश्रो गाभिने संस्थाको सम्पूर्ण सेयरहरुलाइ गाभ्ने संस्थाले आफ्नो सेयर (Stock Tender Offer) दिएर गाभ्ने र  
ग) तेश्रो गाभिने संस्थाको सम्पूर्ण सेयरहरुलाइ गाभ्ने संस्थाले नगद र आफ्नो सेयर (Cash & Stock Tender Offer) दिएर गाभ्ने। 

नगदमा गरिने एक्विजिसनको कार्य सरल हुने र नयाँ सेयरको निष्कासन पनि नहुने हुँदा थोरै कानुनहरु आकर्षित हुन्छन।स्वभाबत यसमा नियमन कम हुन्छ। तर सेयर मात्र वा नगदका साथै सेयर दिएर गरिने एक्विजिसन (र मर्जर) को प्रक्रिया भने केहि जटिल हुन्छ र यसमा धेरै कानुनहरु आकर्षित हुन्छन। 

नयाँ सेयर निष्काशन : एउटा संस्थाको सेयरको बदालामा अर्को संस्थाले सेयर दिने कार्य नयाँ सेयर निष्काशन गरे सरह हुन्छ। यो अवस्थामा यी सेयरहरु धितोपत्र बोर्डमा दर्ता हुन् जरुरी हुन्छ। तर सार्बजनिक निष्काशन जस्तो विवरण-पत्रको लामो प्रक्रिया गरिरहन जरुरत पर्दैन। किनकी यी पहिल्यै पब्लिकमा गैसकेका कम्पनीहरु हुन् र यी सेयरहरु लिने ब्यक्तिहरु र मूल्य पहिल्यै निश्चित हुन्छन्। मर्जरको प्रक्रियामा पनि यहि हो। 


मर्जर एण्ड एक्विजिसनमा धितोपत्र बोर्ड र अन्य नियमन निकायले गर्नुपर्ने नियमनका बिषयहरु यी हुन् :


१) मर्जर एण्ड एक्विजिसनमा सबैभन्दा पहिला गोप्यता सम्बन्धि सम्झौता (Non-Disclosure Agreement) हुनु जरुरी हुन्छ। यो कार्यमा संलग्न पक्ष सबैले मर्जर एण्ड एक्विजिसनबारे कुनै पनि सुचना, तथ्यांक र जानकारी सार्बजनिक बाहिर दिन हुँदै र सो को प्रतिबद्धताका लागि त्यस्तो करारमा हस्ताक्षर गर्नुपर्दछ। संलग्न पक्षमा गाभ्ने संस्था, गाभिने संस्था र उनीहरुले नियुक्त गर्ने बित्तिय सल्लाहकार (खासगरी इन्भेस्टमेन्ट बैंक) हरु हुन्छन।   


२) संगठित संस्थाहरुले आ-आफ्नो पक्षमा कार्य र प्रतिनिधित्व गर्न इन्भेस्टमेण्ट बैंकहरुलाई आ-आफ्नो सल्लाहकार नियुक्त गरेकै हुनुप्र्दछ। यसले निष्पक्ष र न्यायोचित कारोबार गर्न/गराउन मद्दत गर्दछ। साथै पूंजीबजारलाई विस्तार र विकास गर्न पनि ठुलो मद्दत गर्दछ। 


३) गाभ्ने र गाभिने दुवै कम्पनीका संचालक वा उच्च ब्यबस्थापनले भित्री सुचनाको कारोबार (Insider Trading) गरेको हुनुहुँदैन। यी संस्थाबारेको तथ्यांक गलत वा मेटिएको (Misrepresentation & omissions), झुट्टा (Fraudulent), भ्रमित (Deceptive) र घटबढ गरिएका अभ्यास वा कार्यहरु (Manipulative practices or acts) भएको हुनुहुँदैन। 


४) मर्जर एण्ड एक्विजिसनलाइ नियमन गर्ने कुनै छुट्टै कानुन भन्दापनि बिध्यमान कानुनमा रहेका Corporate and Financial Disclosures हरु पालना हुनुपर्दछ। यसमा दुवै कम्पनीको सेयरधनीहरुलाई हुन् गैरहेको मर्जर एण्ड एक्विजिसनबारे समयमै पर्याप्त सुचना र जानकारी हुन् जरुरी हुन्छ। 


मर्जर एण्ड एक्विजिसनको सम्झौता दुवै पक्षका सेयरधनीहरुको लागि निष्पक्ष र न्यायोचित हुनुपर्छ। यसमा दुवै वा गाभिने संस्थाको सेयरको उचित मुल्यांकन हुन् जरुरी हुन्छ। गैरकानुनी तवरबाट वा अन्य कुनै गलत तरिकाले मुल्यांकन तलमाथि हुनसक्दैन। नियमन निकायले यिनै बिबिध कार्यहरु सहि तरिकाले भएको छ/छैन भनि नियमन गर्नु आबश्यक हुन्छ।


५)  Offer Rate/Price (or Swap Ratio) नभईन्जेल मर्जर एण्ड एक्विजिसनको कार्य दुइ संस्थाका संचालक, उच्च ब्यबस्थापन र तिनका बित्तिय सल्लाहकार (इन्भेस्टमेन्ट बैंक) हरुले बाहेक अन्यले थाहा नपाउने गरि अत्यन्तै गोप्य ढंगले हुनुपर्छ। गोप्यता नभए यी संस्थाहरुको सेयर/धितोपत्रको बजार मूल्य प्रभावित हुने र कोहि लगानीकर्ताले फाइदा कोहिले नोक्सानी बेहोर्न पर्ने अवस्था आउंछ, जुन न्यायोचित हुँदैन। यो अवस्था नआओस भनेर गोप्यता कायम गर्नुपर्दछ। त्यस्तो गोप्यता कायम गरेका छन्/छैनन् नियमन गर्न आबश्यक छ।


६) दुवै कम्पनीका संचालक तथा ब्यबस्थापनले आ-आफ्नो Fiduciary Duty अन्तर्गत आफ्ना सेयरधनीको हितको ख्याल गर्ने र उनीहरुको हितका खातिर काम गरेको हुनु पर्दछ। एक संस्था अर्को संस्थाबाट गलत तवरबाट प्रभावित हुनुहुँदैन। त्यस्तो प्रभावित भएका छन्/छैनन् भनेर नियमन हुन् जरुरी हुन्छ।


७) बिदेशी कम्पनीले स्वदेशी पब्लिक कम्पनी खरिद गरेमा के हुने भन्ने ब्यबस्था गर्न आबश्यक छ। यो ब्यबस्था धितोपत्र ऐनमा गर्न सबैभन्दा उचित हुन्छ।


८) एकाधिकार र प्रतिस्पर्धात्मक मूल्य : मर्जर एण्ड एक्विजिसनमा अर्को ज्यादै महत्वपूर्ण बिषय भनेको कुनै एक संस्थाले बजारमा एकाधिकार प्राप्त नगरोस र बस्तु र सेवाको मूल्य प्रतिस्पर्धि नै रहोस भन्ने हो। एउटै कम्पनीले धेरै बजार हिस्सा नओगोटोस र ज्यादै कम मुल्यमा बस्तु वा सेवा बेचेर बजारलाई अप्रतिस्पर्धी बनाउने , प्रतिस्पर्धीहरुलाई बजारबाट हटाउने जस्तो कार्य गर्न नसकोस भनेर यो बिषयमा ध्यान दिन आबश्यक छ। 

अर्को ध्यान दिनुपर्ने बिषय भनेको कुनै एक संस्थालाइ ज्यादै ठुलो हुन नदिनु पनि हो। त्यस्तो भएर सो संस्था कुनै कारणबस टाट उल्टेमा अर्थतन्त्रको लागि अत्यधिक जोखिम हुन्छ। यसतर्फ पनि नियमन निकायहरुको ध्यान जान जरुरी छ।

यो कार्य बोर्ड भन्दा ब्यबसाय संचालनको अनुमति दिने नियमन निकायले हेर्नुपर्दछ। बैंकहरुको मामिलामा राष्ट्रबैंक, बिमा कम्पनीहरुको सवालमा बिमा समिती, हाइड्रोपावर कम्पनीहरुको सवालमा नेपाल बिद्युत प्राबिधिकरणले यो बिषयमा ध्यान दिनुपर्ने हुन्छ। 


थप सुझाब : बोर्डले निर्देशिका जारी गर्ने नै हो भने मर्जर एण्ड एक्विजिसनको कार्य गर्दा बिद्यमान कानुनहरुमा भएका यी यी ब्यबस्थाहरु पुरा गर्नुपर्छ भन्नु अन्यथा नहोला तर मर्जर एण्ड एक्विजिसनका लागि संगठित संस्थाहरुले धितोपत्र बोर्डमा निबेदन दिने, बोर्डले अध्ययन गर्ने, स्वीकृति दिने, शर्त तोक्ने भन्ने ब्यबस्था ब्यबहारिक हुँदैन। अझ शर्त तोक्ने भन्ने ब्यबस्था त झनै अब्यबहारिक हुने र नियन्त्रित गर्न खोजेको भन्ने हुन्छ। 

बोर्डलाइ मर्जर एण्ड एक्विजिसन नियमनका केहि कानुनहरु अपुग छ भन्ने लागेमा बिद्यमान धितोपत्र ऐन वा कानुनहरुमा समाबेश गराउदा सबैभन्दा बेश हुन्छ। 

मर्जर एण्ड एक्विजिसनलाइ कुनै एक मात्र कानुनले नियमन गर्न सक्दैन किनकी संस्थाको दर्ता र संचालन अनुमतिको नियमन निकाय अर्कै हुन्छ र उसले पनि यो कार्यलाई नियमन गर्नुपर्ने वा गरेको हुन्छ। 

यसलाई सिधै नियमन गर्न पनि मिल्दैन किनभने मर्जर एण्ड एक्विजिसनका कार्यहरुलाई पहिल्यै सार्बजनिक गर्न र प्रक्रियामा राख्न मिल्दैन। 

यसमा नियमन गर्ने भनेको यस्तो गाभ्ने/गाभिने संस्थाको सेयर खरिद/बिक्रि कार्यमा कुनै गैर-कानुनी प्रक्रिया व भित्रि सुचना चुहावट भएको छ/छैन भन्ने यकिन गर्ने हो। कसैले कुनै गलत उदेश्यले सेयरहरुको मुल्यांकन कम वा बढी गरी अर्को संस्थाका सेयरधनीहरुलाई जानाजान हानि नोक्सानी नपुर्याओस भनि सुनिस्चितता गर्ने हो।

Wednesday, August 19, 2020

कस्तो आयो बुक बिल्डिङ्ग निर्देशिका २०७७?

धितोपत्र बोर्डले यहि श्राबण २८ देखि लागु हुने गरी बुक बिल्डिंग निर्देशिका २०७७ सार्बजनिक गरेको छ। यसअघि बोर्डले यो निर्देशिकाको मस्यौदामा सरोकारवालाहरुबाट राय-सुझाब माग गरेको थियो। प्राप्त राय-सुझाबलाइ समाबेश गरेपश्चात निर्देशिका सार्बजनिक भएको हो।

मस्यौदामा भएका केहि कमि-कमजोरीलाई सुधार गरिएको छ भने केहि नयाँ प्राबधान थपिएको छ। निर्देशिकाका केहि ब्यबस्था अझै अव्यवहारिक र त्रुटीपूर्ण छन्। लेखमा यिनै पक्षलाइ बुँदागत रुपमा केलाउने प्रयास हुनेछ।

१. निर्देशिकाको सबैभन्दा ठुलो कमजोरी भनेको यो बुक बिल्डिंगको भाबना अनुरुप छैन। निर्देशिकाले मूल्य निर्धारणको बिधीलाइ बुक बिल्डिंग भनेतापनि बास्तबमा यो अक्सन (लिलामी) प्रक्रिया हो र अक्सनमा पनि यो अझ डच अक्सन हो।निर्देशिकाले कतै उल्लेख नगरी बुक बिल्डिंगमा डच अक्सनलाइ मिसाईदिएको छ र निष्कासन मूल्य निर्धारण प्रक्रियाबाट बुक बिल्डिंग बिधीलाइ हटाईदिएको छ। निर्देशिकाले आसय मूल्य बुक बिल्डिंग बिधीबाट संकलन गर्न खोजेको छ, मूल्य निर्धारण डच अक्सनबाट गरेको छ, तर बाँडफांट बिनाबिधी गरेको छ। तसर्थ निर्देशिका सहि अर्थमा बुक-बिल्डिंग बिधी होइन।

यहाँ डच अक्सनको प्रयोग गर्न हुँदैन भन्ने होइन, हुन्छ। तर डच अक्सनको प्रयोगलाइ बुक बिल्डिंग भन्नु हुँदैन, किनकी त्यो इथिकल हुँदैन। निर्देशिकाले बुक बिल्डिंगबारे मात्र होइन बुक बिल्डिंग र डच अक्सन बिचको फरकबारे पनि ध्यान दिएको छैन।

बुक बिल्डिंग र डच अक्सन धितोपत्र निष्काशनको दुई नितान्त फरक प्रक्रिया हुन्। बुक बिल्डिंगमा प्राप्त आसय मुल्यको भारित औसत मूल्यलाइ कट-अफ (निष्काशन) मूल्य मानिन्छ। डच अक्सनमा भने पहिला उच्च मुल्यका आबेदनलाइ सेयर छुट्टयाउदै तल जाँदा जुन मुल्यमा गएर निष्काशित सेयर पूर्णरुपमा बिक्री हुन्छ, त्यसैलाई कट-अफ मूल्य मानिन्छ। यो सेयर छुट्टयाउने प्रक्रिया बास्तबिक बाँडफांट नभई मूल्य निर्धारणको लागी गरिएको नाम मात्रको गणना हो।

सत्रौं सताब्दिको डच राज्य (आजको नेदरल्याण्ड) मा ट्युलिपको फूल यहि प्रक्रियाले लिलाम बिक्री हुन्थ्यो। त्यहीबाट यो प्रक्रियालाई डच अक्सन भनेर प्रयोग गरिंदै आएको छ। डच अक्सनको सबैभन्दा ठुलो प्रयोगकर्ता युएस ट्रेजरी डिपार्टमेन्ट हो र उसले "फेडरल रिजर्भ" मार्फत निष्कासन गर्ने ट्रेजरी-बिल यसै बिधीद्वारा बिक्री गर्दछ। सिंगापुर टेलकम र जापान टोबाकोले १९९४ मा र गुगलले २००३ मा आफ्नो सेयर डच अक्सनमार्फत निष्काशन गरेका थिए। सेयर पुनर्खरिदमा पनि यसको प्रयोग हुन्छ। क्यालीफोर्नियाको लस-एन्जेलसस्थित बुटिक ईन्भेस्टमेन्ट बैंक डब्लुआर ह्याम्ब्रच्टलाइ डच अक्सनमा एक्स्पर्ट स्पेस्लिष्ट मानिन्छ। 

२. निर्देशिकाको दफा १३ ले धितोपत्रको निष्कासन (कट-अफ) मूल्य निर्धारणको प्रक्रियालाइ व्याख्या गरेको छ, जसलाई अनुसूची ३ ले उदाहरणसहित थप प्रस्ट्याएको छ। उदाहरणले दिएको कट-अफ मूल्य निर्धारणको तरिका हुबहु डच अक्सनको छ। उदाहरणले पहिला सबैभन्दा उच्च मुल्य रु. २५० को आबेदनलाइ ५० हजार कित्ता सेयर छुट्टयाएकोछ। त्यसपछि रु. २४५, रु.२३५ गर्दै रु. २२५ सम्मको आबेदनलाइ सेयर छुट्टयाउदा कुल निष्काशित १० लाख सेयर पूर्णरुपमा बिक्री हुन गएकाले रु. २२५ कट-अफ मूल्य निर्धारण भएको छ।

अनुसुचिले कट-अफ मूल्य रु. २२५ भन्दा माथिका मुल्यमा आबेदन गर्ने आवेदकलाइ माग बमोजिम सेयर दिएको छ तर कट-अफ मूल्यमा ५ लाख कित्ता सेयर आबेदन गर्ने आवेदकलाइ बाँकी ७५ हजार कित्ता समानुपातिक हिसाबले बाँडफांट गर्ने भनेको छ। बाँडफांटको यहि ब्यबस्था सहि र निष्पक्ष छैन। एउटै कट-अफ मूल्यमा कसैले मागेजति सेयर पाउने र कसैले नपाउने अवस्था न्यायपूर्ण हुँदैन। 

कट-अफ मूल्य निर्धारणको प्रक्रिया डच अक्सनको छ तर बाँडफांट प्रक्रिया भने न डच अक्सन न बुक बिल्डिंगको जस्तो छ। दुबै बिधीमा कट-अफ मूल्यसम्मका आबेदकलाइ समानुपातिक हिसाबले सेयर बाँडिन्छ। निष्काशित सेयर (१० लाख कित्ता) र कट-अफ मुल्यसम्ममा आबेदन गरिएको सेयर (१४ लाख ५० हजार कित्ता) संख्याको अनुपात ७०% छ। समानुपातिक हिसाबमा हरेक आवेदकलाइ मागको ७०% का दरले सेयर दिइनुपर्थ्यो। यसोगर्दा रु. २५० मा ५० हजार सेयर माग गर्ने आवेदकहरुले समानुपातिक हिसाबले ३५ हजार कित्ता पाउछन् भने रु. २२५ मा ५ लाख कित्ता माग गर्ने आवेदकहरुले ३ लाख ५० हजार सेयर पाउछन। यसरी बाँडफांट गर्दामात्र यो कार्य निष्पक्ष र न्यायोचित हुन्छ।

३. निर्देशिकाको दफा ९ ले दफा ८ अनुसार प्राप्त आसय मुल्यकोअध्धयन गरेर आधार मूल्य तय गर्ने र सोहि आधार मुल्यमा बिक्री मुल्यको सिमा तय गर्ने भनेको छ। तर आधार मूल्य भनेको के हो र यो कसरी तय गरिन्छ भन्ने कहीं व्याख्या छैन। आधार मुल्यको गणना बिधी बिना मुल्य सिमा तय हुनसक्दैन।

४. दफा ८ को उपदफा ५ मा आसय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले बोल-कबोलमा भाग लिनैपर्ने बाध्यकारी ब्यबस्था छ। यसले योग्य लगानीकर्तालाई स्वतन्त्र तवरमा आसय मूल्य राख्न डराउनुपर्ने अवस्था पैदा गर्छ। यस्तोमा उनीहरुले आपसी सल्लाहमा न्युनतम आसय मूल्य दिने सम्भाबना हुन्छ। यसले मूल्य निर्धारण प्रभाबकारी नभई कार्टेलिङ्ग हुनसक्ने र निष्काशन कम्पनीलाइ नोक्सानी हुनेहुन्छ। तसर्थ यस्तो बाध्यकारी ब्यबस्था हटाइ लगानीकर्तालाइ आसय मूल्य र सेयर संख्या परिबर्तन गर्नसक्ने वा यो प्रक्रियाबाटै हट्नसक्ने अवसर दिनुपर्दछ।

५. बुक बिल्डिंगको सबै प्रक्रिया बुक रनरको रुपमा निष्काशन प्रबन्धकले गर्नुपर्ने हो। तर निर्देशिकाले "धितोपत्र बजार" भनेर नेपाल स्टक एक्सचेन्जलाई समेत बोलकबोल प्रक्रियामा सामेल गरेको छ। यो चासो बाझिन सक्न्ने अवस्था हुनसक्छ। यसरी निष्काशन गरिने सेयरहरुलाइ नेपाल स्टक एक्सचेन्जमा लिस्टिंग गर्दा उ लिस्टिंग गर्न बाध्य हुनपर्ने अवस्था आउनसक्छ।यसमा स्टक एक्सचेन्जको संलग्नता बिबादित र कानुनी मामिलाको बिषय बन्नसक्छ। 

६. धितोपत्र बोर्डले बिभिन्न शुल्क लिने ब्यबस्था पनि चासो बाझिने अवस्था हो। खास-खास अनुमति-पत्र, नबिकरण र धितोपत्र दर्ता बाहेक अन्य स-साना कार्यमा पनि अनुमति लिनुपर्ने र शुल्क तिर्नुपर्ने ब्यबस्था हुनु सहि होइन। बोर्डले आफ्नो महत्वपूर्ण समय आम्दानी बढाउने गतिविधिमा खर्चेमा उसले सहि निर्णय लिन नसकी निष्पक्षता नहुनसक्छ।

७. सर्बसाधारणको निष्काशनमा न्युनतम ५० कित्ता आबेदन गर्नुपर्ने ब्यबस्था पनि प्रत्युपादक हुनसक्छ। धितोपत्र निष्काशनमा प्राप्त आबेदनको प्रशोधन कम्प्युटराइज्ड सिस्टममा अनलाइन माध्यमबाट हुनेहुँदा हालको १० कित्ताको ब्यबस्थाबाट खासै समस्या थिएन। कट-अफ मूल्य ज्यादै धरै हुन् गएमा ५० कित्ताको ब्यबस्था कतिपय आबेदकको लागि महँगो साबित हुनेछ।

सर्बसाधारणकोलागि कट-अफ मुल्यमा १०% ले कम गरेर निष्काशन मूल्य कायम गर्ने ब्यबस्था एक हिसाबले जायज मान्न सकिन्छ। एउटै धितोपत्र फरक-फरक मूल्यमा बिक्री गर्नु जायज होइन तर सर्बसाधारणको सहभागिता नभई तय भएको मुल्यमा केहि छुट दिइनुलाई तर्कसंगत मान्न सकिन्छ। 

८. निष्काशन प्रक्रिया धेरै लामो छ। निष्कासन प्रबन्धकले धितोपत्रको मुल्यांकन गर्ने, सो मुल्यांकन रकमको आधारमा योग्य लगानीकर्ताले आसय मूल्य दिने, आसय मूल्यको आधारमा आधार-मूल्य गणना गर्ने, आधार मुल्यमा रहेर बोलकबोलका लागि मुल्यको सिमा तोक्ने, मूल्य सीमामा रहेर बोलकबोल गर्ने, बोलकबोलमा प्राप्त मूल्य र सेयर संख्याको आधारमा कट-अफ मूल्य निर्धारण हुने र त्यसपछि बाँडफांट हुने जस्तो लामो प्रक्रियाबाट यो कार्य गुज्रेको छ। यसबिच पटक पटक विवरण-पत्र दर्ता गर्नुपर्ने लगायत अन्य कार्यहरु छन्। 

यसलाई अन्तर्राष्ट्रिय अभ्यास अनुरुप छिटोछरितो बनाउन सकिने थियो। धितोपत्रको मुल्यांकन गर्ने, मुल्यांकन रकममा  सिमा तय गरेर आसय मूल्य र सेयर संख्या लिने र सो को आधारमा कट-अफ मूल्य निर्धारण गरि बाँडफांट गर्न सकिन्थ्यो। विवरणपत्र पनि एकपटक प्रकाशन गरेर सबै सेयर निष्काशन गर्नसकिने थियो, तर त्यस्तो भएन।

निष्काशित धितोपत्रको निष्काशन प्रबन्धकले मुल्यांकन गर्ने र सो मा योग्य संस्थागत लगानीकर्ताले आफ्नो आसय मूल्य र सेयर संख्यासंगै धितोपत्रको मुल्यांकन र सो को आधार पनि माग गरिएकोछ। 

मौन अबधि: विवरण-पत्रको प्रकाशनद्वारा धितोपत्रको सार्बजनिक निष्काशन गर्दा मौन अबधिको ब्यबस्था गर्न अति जरुरी भैसकेकोछ। यो अबधि बोर्डमा विवरणपत्र दर्ता गरेको दिनदेखि निष्काशन बन्दभएको दिनसम्म हुन्छ, जसमा निष्काशन कम्पनी, निष्काशन प्रबधक र अन्डरराइटर्स र अन्य सम्बन्धितले निष्काशित धितोपत्रको मूल्यलाई प्रभाब पार्ने गरि कुनै भनाई सार्बजनिकरुपमा राख्न नपाउने हुनुपर्छ। 

मूल्य स्थिरता : बुक बिल्डिंग बिधीद्वारा सार्बजनिक निष्काशन गरिएको सेयर दोश्रो बजारमा कारोबार हुँदा निष्काशन मूल्यभन्दा बजार मूल्य कम नहोस र मूल्यमा स्थिरता आओस भनेर अन्डरराइटर्सको सिन्डिकेटले सो सेयरहरु कट-अफ मुल्य वा सोभन्दा केहि कममा किन्ने ब्यबस्था गर्न आबश्यक छ। निष्कासन मूल्यभन्दा बजार मूल्य धेरै भएमा यस्तो खरिद आबश्यक हुँदैन। 

निष्कर्ष: निर्देशिकाले बुक बिल्डिंगको प्रक्रियालाइ जटिल र झन्झटिलो बनाईदिएको छ। निर्देशिकाका केहि ब्यबस्था निष्पक्ष र न्यायपूर्ण छैनन। कतिपय प्राबधानहरु पुँजीबजारका सर्वमान्य सिद्धान्त र अन्तर्राष्ट्रिय मापदण्डभन्दा धेरै पर छन्। निर्देशिकाले नियमनभन्दा नियन्त्रण गर्न खोजेको देखिन्छ। नियन्त्रणले पुँजीबजारलाई गतिहिन र निस्प्रभाबी बनाईदिन्छ। 

कानुन बनेर आईसकेको अवस्थामा निर्देशिका जसोतसो लागु होला तर यसले चाहेको परिणाम दिन कठिन छ। ऐन/कानुनहरु सहि ढंगले नआउदा न पुँजीबजारको बिकास हुन्छ न बिस्तार । 

निर्देशिकाको सकारात्मक पक्ष भनेको यसले बुक बिल्डिंगको अभ्यास सुरु हुने अवस्था बनेकोछ। अभ्यास गर्दै जाँदा समयक्रममा यसमा सुधार हुँदै जाला। हुँदै नहुनुभन्दा कानुन बनेर निर्देशिका आउनुलाई ठुलो उपलब्धि मान्न सकिन्छ।