Tuesday, August 4, 2020

​मौद्रिक नीतिमा मार्जिनको दर


राष्ट्रबैंकले गएको ​​श्राबणगते आब २०७७/७८ को लागी मौद्रिक नीति सार्वजनिक गरेको छ। समग्र अर्थतन्त्रलाइ प्रभाब पार्ने मौद्रिक नीतिले पुँजीबजारलाइ झन् ठुलो प्रभाब पार्दछ। मार्जिन लोन तरलता सम्बन्धी ​नयाँ ब्यबस्था गरेर मौद्रिक नीतिले पुँजीबजारलाइ प्रत्यक्ष सम्बोधन गरेको छ। यसले लगानीकर्तालाइ आशाबादी उत्साहित बनाएको ​छ। यसको प्रभाब श्राबण ​ ४ र ५ गतेको ​मार्केटमा पटक पटक सर्किट ब्रेक लागेर देखिएको थियो। 


मौद्रिक नीतिको समग्र अर्थतन्त्रमा पर्ने प्रभावको छुट्टै व्याख्या होला। यस आलेखमा मौद्रिक नीतिले मार्जिनको दर सम्बन्धी गरेको व्यवस्थाले पुँजीबजारमा पार्नसक्ने असर प्रभाबबारे फरक कोणबाट बिष्लेषण हुनेछ।


​१. मौद्रिक नीतिले सेयर-धितोमा दिइने मार्जिन लोनको दर ६५ प्रतिशतबाट ७० प्रतिशतसम्म​ पुर्याएको छ। यो ब्यबस्थाले ​थोरै (​प्रतिशत​)​​ कर्जा बढाएर धेरै जोखिम बढाउने बाहेक पुँजीबजारमा कुनै सकारात्मक प्रभाब पार्दैन।


मौद्रिक नीतिले सेयरधितो मुल्यांकन गर्दा १८० दिन​को औसत ​बजार​मूल्य​लाइ ​​१२० दिन​मा झारेको छ। यसले बढ्दो मार्केटमा सेयरधितोको मूल्यांकन रकमलाई केहि बढाएपनि घट्दो मार्केटमा कुनै फरक पार्दैन। प्रशासनिक झन्झटलाइ केहि कम गर्ने बाहेक यसलेपनि पुँजीबजारमा ठुलो प्रभाब पार्दैन। यो मुल्यांकन पछिल्लो बजार मूल्यमा गर्दा सबैभन्दा प्रभाबकारी हुन्छ।

 

२. मौद्रिक नीतिले नगद लाभांस वितरणयोग्य मुनाफाको ३० प्रतिशत वा भारित औसत ब्याजदरमध्येको कम भनेर सिमा तोकिदिएको । यो व्यवस्थले बित्तिय संस्थाहरुबाट कम नगद रकम बाहिरिनेछ भने बोनस सेयर बढी वितरण हुनसक्नेछ। यसले ति संस्थाको पुँजीकोषलाई बलियो सुरक्षित बनाउने, तरलता बढाउने र ब्याजदर घटाउनेछ। धितोपत्रको मुल्यमा यसको  सकारात्मक प्रभाब ​​पर्ने र ​​गानीकर्ता लाभान्वित हुनेछन।


​​३. मौद्रिक नीतिले बित्तिय संस्थाहरुले कायम गर्नुपर्ने कर्जाको पुँजीकोष निक्षेपसंगको (सीसीडी) अनुपात बढाउने र नगदकोष अनुपात (सिआरआर) मा सहुलियत दिएकोछ। दुवै व्यवस्थाले कुल निक्षेपको केहि प्रतिशत लगानीयोग्य पुँजी बढाउनेछन। तरलताको यस्तो अतिरिक्त प्रवाहले ब्याजदर घटाउने र पुंजीबजारको लगानी आकर्षक बनाउनेछ। यसले पनि धितोपत्रको मुल्यमा सकारात्मक प्रभाव पर्नेछ।

 

४. मौद्रिक नीतिले बित्तिय संस्थाहरुको स्वेच्छिक मर्जरलाइ सहुलियत दिएर प्रोत्साहन गरिने भनेको छ। तर मर्जर एण्ड एक्विजेसन जस्तो नितान्त कर्पोरेट गतिबिधी कहिल्यै मौद्रिक नीतिको अंग बन्नु हुँदैनथियो। कर्पोरेसनहरुलाइ स्वेच्छिक हिसाबले संस्था सेयरधनीको हितमा निर्णय लिन दिइनुपर्थ्यो तर त्यसो हुनसकेन। आजको कर्पोरेट वर्ल्डमा यस्तो अभ्यासलाई स्वीकार्य मानिदैन। कम्पनी संचालनको निजी बिषयमा हात हालेर राष्ट्रबैंकले कर्पोरेट वर्ल्ड नबुझेको संदेश प्रबाह गरेको छ।


​आँफैले ​संचालनअनुमति दिने​ र हस्त​क्षेप गरेर संख्या घटाउने कार्यले राष्ट्रबैंकमा नीतिगत अस्पष्टता र अस्थिरता रहेको देखिन्छ। भोलि ​संख्या कम भयो भनेर फेरी अनुमति दिने, फेरी घटाउने? यहि हो त राष्ट्रबैंकको उदेश्य र निती? यति महत्वपूर्ण निकायको नीति ​​किन यति अस्थिर, अनिश्चित र फितलो भन्ने प्रश्न उठेको छ।


संस्थाहरु समस्याग्रस्त भएको ​असामान्य अवस्थामाबाहेक अन्य अवस्थामा राष्ट्रबैंकले ​यस्तो हस्तक्षेप​ वा दबाब दिने होइन। राष्ट्रबैंकले ​संकटपूर्ण घडीमा उद्धार गर्ने होक्षणक्षणमा स्तक्षेप गरेर समय खेर फाल्ने होइन।


सेयर धितोकर्जा वा मार्जिन लोनसेयर धितोकर्जा वा मार्जिन लोन समान उदेश्य तर फरक प्रकृती​का कर्जा हुन्। धितोपत्रको कारोबार अनलाइन प्रणालीमा गईसकेपछि सेयर धितोकर्जालाइ मार्जिन लोनको रुपमा ब्यबस्थापन गरिनुपर्ने थियो तर त्यसो हुनसकेको छैन। सो नहुँदा हालको अभ्यासमा यी कर्जा एक-समान छन्। 


मौद्रिक नीति अनुसार धितो मुल्यांकनको ७० प्रतिशतसम्म ​​सेयरकर्जा (मार्जिन लोन) प्रबाह हुनसक्छ र लगानीकर्ताले कम्तिमा ३० प्रतिशत इक्विटी (मार्जिनगाउनुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासमा ५० प्रतिशतसम्मको मार्जिन लोनको दरलाई ग्राह्य मानिन्छ​, जुन नेपालमा अति उच्च ​र अत्याधिक जोखिमपूर्ण हु​छ। एक उदाहरणबाट मार्जिन लगानीमा हुनसक्ने जोखिम प्रतिफलला​ई हेरौं।

 

मानौं कुनै सेयरको मूल्य आज रु. १ हजार , जसलाई नगद (सबै इक्विटी) मार्जिनमा खरिद गर्न सकिन्छ। मार्जिन लोनका दरहरु ५० प्रतिशत, ६५ प्रतिशत ७० प्रतिशत छन्। यसमा ब्रोकर कमिसन ०.६ प्रतिशत, ब्याजदर बार्षिक १० प्रतिशत पुँजीगत लाभकारप्रतिशत छ।यसबाहेकका अन्य खर्चलाई थाँती राखौं। 


यदि सेयरको मूल्य बर्षदिनमा २० प्रतिशतले बढेर रु.१२०० पुग्छ भने नगद लगानीमा १८ प्रतिशत, ५० प्रतिशत मार्जिनमा २५ प्रतिशत, ६५ प्रतिशत मार्जिनमा ३२ प्रतिशत ७० प्रतिशत मार्जिनमा ३६ प्रतिशत प्रतिफल प्राप्त ​हुन्छ। यदि सेयरको मूल्य बर्षदिनमा २० प्रतिशतले घटेर रु.८०० पुग्छ भने नगद लगानीमा २१ प्रतिशत, ५० प्रतिशत मार्जिनमा ५२ प्रतिशत, ६५ प्रतिशत मार्जिनमा ७९ प्रतिशत ७० प्रतिशत मार्जिनमा ९४ प्रतिशत नोक्सानी हुन्छ। मार्जिन लोन ७२ प्रतिशत ​भएमा सेयरमूल्य २० प्रतिशतले ​नघट्दै ​१०० प्रतिशत नोक्सान भैसक्छ।​ 


यस उदाहरणमा सबैभन्दा धेरै प्रतिफल नोक्सानी ७० प्रतिशत​को मार्जिन लोनमा भएको भने सबैभन्दा कम प्रतिफल नोक्सानी नगद लगानीमा भएकोछ।​ मार्जिनमा ​सबै लगानी नोक्सान हुनेमात्र होइन स्वामित्व समेत गुम्ने सम्भाबना ​प्रसस्त हुन्छ। नगद लगानीमा जोखिम कम हुनुका साथै स्वामित्व कहिल्यै गुम्दैन। ​मार्जिन ​लगानीमा बुझ्नुपर्ने बास्तबिकता ​यहि हो।

असर र प्रभाब : उच्च दरको मार्जिन लोनले लगानीकर्ता, कर्जा प्रदायक संस्था, नियमन निकाय र समग्र पुँजीबजारलाई प्रभाब पार्ने र असर गर्छ। 


१. लगानीकर्ता: लगानीकर्ताको लागी मार्जिन लगानी दोहोरो धार भएको तरवार जस्तै हो। यसमा एकातिर मूल्य घट्ने जोखिम  अर्कोतिर ब्याजको लागत बढ्ने डर हुन्छ। दुबै अवस्थामा नोक्सानी  बढ्दछ। लगानीकर्ताले अत्याधिक जोखिमको भारी उठाएर ​सबै लगानी गुमाउने गरी जोखिममा होमिनु हुँदैन।


धेरै प्रतिफलको लोभमा सबै गुमाउनु भन्दा जायज प्रतिफलमा पुँजी जोगाउदै बिस्तारै आम्दानी गर्दै जानु बुद्धिमानी हुन्छ। लगानीको पहिलो सुत्र नै पुँजीको सुरक्षा हो


२. कर्जा प्रदायक संस्था: ७० प्रतिशत मार्जिन लोन भनेको ३० प्रतिशत मार्जिनमा कर्जा दिनु हो। यो कर्जा प्रदायक संस्थाको लागी पनि अत्याधिक जोखिमको अवस्था हो। मार्केट अस्थिर भएर ​५-२० प्रतिशत मूल्य घटेमा सहायक मार्जिन कल हुन्छ। मार्केट थप घटेमा ३० प्रतिशतको मार्जिनले यस्तो कर्जा थेग्दैन। 


यस्तो कर्जा नीतिले लगानीकर्तामात्र होइन कर्जा प्रदायक संस्था आँफैपनि डुब्ने अवस्था आउनसक्छ।यी संस्थाको उदेश्य जोखिमपूर्ण कर्जा दिएर लगानीकर्तालाई जोखिममा डाल्नु होइन, बरु सुरक्षित कर्जानीति अबलम्बन गरेर लगानीकर्ता र आँफुलाइ उकास्नु हो।


३. नियमन निकाय: मार्जिन लोनबारे सम्पूर्ण कानुनी ब्यबस्था गर्ने जिम्मेवारी राष्ट्रबैंक धितोपत्र बोर्ड जस्ता नियमन निकायको हो। हालको कानुनी ब्यबस्था अति जोखिमयुक्त छ। लगानीकर्ताले अत्यधिक नोक्सानी बेहोर्न परेमा यसको दोष यि निकाय​लाई पनि जानेछ। तर यी निकाय समस्या पहिचान गरेर माधान दिन असमर्थ देखिएका छन्। 


४. पुँजीबजार: गत आषाढ मसान्तसम्ममा बित्तिय संस्थाहरुको मार्जिन ​लोनमा लगानी करिब रु. ४७ अर्ब​ थियो। मार्केटनबढ्नुको एक प्रमुख कारण ​यो मात्रको ​मार्जिन लोन पनि हो। मार्जिन लोनले मार्केट बढ्न नदिनेघटाउने वा क्र्यास नै गराउनसक्छ, जसले सम्पूर्ण पुँजीबजार नै जोखिममा ​पार्छ।


सेयरको मूल्य ​घटेमा मार्जिन कल हुन्छ। मार्जिन कल​मा लगानीकर्ताले थप नगद वा सेयर धितो दिनु​पर्ने ​या सेयर बेच्नु​पर्ने हुन्छ। सेयर बेच्नु परेमा आपूर्ति बढेर थप मूल्य घट्न जान्छ। घटेको मुल्यले​ थप मार्जिन कल हुन्छ र अरु बिक्री दबाब पैदागर्छ​, जसले मार्केट झन् घटाउछ। दबाब बढ्दै गएमा मार्केट क्र्यास हुन्छ। यो अबस्थामा ​सबै ​लगानीकर्ताले धेरै गुमाउने स्थिति हुन्छ।​ ​


लगानीकर्ता, कर्जा प्रदायक संस्था  नियमन निकायहरु​ले मार्जिन लोनबारे बुझ्नुपर्ने पक्ष ​यो पनि हो

 

निष्कर्ष: यस आलेखको उदेश्य सेयर धितोकर्जा वा मार्जिन लोनमा अन्तर्निहित जोखिम प्रतिफलको तुलनात्मक बिश्लेषण गर्नु हो। प्रतिफललाई मात्र हेरेर जोखिमलाइ बेवास्ता गर्दा कैयौंले आफ्नो सम्पूर्ण लगानी गुमाएका छन्। लगानीकर्ता, कर्जा प्रदायक संस्था नियामक निकायमा मार्जिन लोनमा लगानी गर्नु सहि नीति हो भन्ने गलत मान्यता रहेको पाइन्छ। लगानीकर्ताले ८० प्रतिशत मार्जिन लोनको माग गर्नु, बोर्डले समर्थन गर्नु, राष्ट्रबैंकले मागलाई सम्बोधन गर्नु कर्जा प्रदायक संस्थाहरु मौन रहनुले यहि पुष्टि गर्दछ।


मार्जिन लोन यसै जोखिमयुक्त हुन्छ, ५० प्रतिशतभन्दा माथि झनै जोखिमयुक्त हुन्छ, ७० प्रतिशत अत्यधिक जोखिमपूर्ण छ। त्यसैले यो दरलाइ संसोधन गरेर ५० प्रतिशतको हाराहारीमा राख्न जरुरी छ। पुँजीबजारमा अत्यधिक जोखिमको अवस्था भएर लगानीकर्ताले लगानी गुमाउने अवस्था हुनु नियमन निकायको ठुलो कमजोरी हो। समस्या भयाबह हुनुभन्दा पहिल्यै समाधान खोज्नु  बुद्धिमानी हुन्छ।


राष्ट्रबैंकले सेयर बाहेक बण्ड, डिबेंचर, अग्राधिकार सेयर जस्ता अन्य धितोपत्रमा पनि मार्जिनको दर तोक्न जरुरी छ। मार्जिनको दर राष्ट्रबैंकले तोक्ने हो भने यो मार्जिन लोन संचालन सम्बन्धी कानुनी ब्यबस्था धितोपत्र बोर्डले गर्ने हो। दुवै निकाय यो बिषयमा बेखबर दखिन्छन यी निकायहरुले मार्जिन लोनबारे प्रष्ट जानकारी राख्न र जिम्मेवार हुन् जरुरी छ।


मार्जिन लोन प्रयोग गर्नुहुँदैन भन्ने होइन तर यसको प्रयोग बिबेकपूर्ण हुनुपर्छ। बढेको मार्केटमा छोटो समयको लागी यसको प्रयोग गर्न सकिन्छ। धेरै प्रतिफलको लोभमा लामो समयको लागी यसको प्रयोग ​गर्नसकिदैन। धेरै कम लगानीकर्ताले मार्जिनको सहि सदुपयोग गरेर मुनाफा गर्नसक्छन। नयाँ, अनुभब नभएका साना लगानीकर्ताको लागी ​मार्जिन लोन उपयुक्त हुँदैन। सबै पक्षले बिबेकशील भएर मार्जिन लगानीमा हुने जोखिमबारे प्रस्ट हुन् जरुरी छ।

Saturday, August 1, 2020

के हो बुक-बिल्डिंगको प्रक्रिया?

धितोपत्र बोर्डले बुक-बिल्डिङ्ग बिधीबाट धितोपत्र निष्काशन गराउन "बुक-विल्डिङ्ग सम्बन्धी निर्देशिका"को मस्यौदा हालै सार्बजनिक गरेकोथियो। निर्देशिकाको उदेश्य "धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३" मा बुक-विल्डिङ्ग सम्बन्धमा गरिएको ब्यबस्थालाइ प्रक्रियागत रुपमा थप व्याख्या र परिभाषित गर्नु हो। २०७६ मा यो नियमावली संसोधन गरि बुक-बिल्डिङ्ग बिधीलाई धितोपत्र निष्काशन प्रक्रियामा सामेल गराईएको थियो।

नियमावली र मस्यौदा निर्देशिकाले बुक-बिल्डिङ्ग बिधीको प्रकृयालाइ सहि र प्रष्ट तरिकाले व्याख्या गरेको छैन। दुवै कानुन यस प्रक्रियाबारे अस्पष्ट छन्। नेपालको परिप्रेक्ष्यमा नयाँ अभ्यास भएकोले केहि कमि-कमजोरी रहको हुनसक्छ। बोर्ड सम्बन्धितहरुबाट राय-सुझाब संकलन गरी अध्ययनको क्रममा रहेको हुँदा निर्देशिका परिमार्जन भएर आउनसक्ने सम्भाबना छ।

बुक-बिल्डिङ्ग धितोपत्र निष्काशनको नयाँ अबधारणा भएकाले लगानीकर्ताहरुमा चासो र जिज्ञासा रहेको पाइन्छ। यसबारे थप बहस र छलफल आबश्यक छ। यस लेखमा बुक-बिल्डिङ्ग प्रक्रियालाइ अन्तर्रास्ट्रिय अभ्यास र मापदण्ड अनुरुप ब्याख्या गर्ने कोसिस गरिएको छ।

के हो बुक बिल्डिंग : बुक-बिल्डिंग धितोपत्रको निष्काशन मूल्य पत्ता लगाउने बिधी हो। यसमा सर्बप्रथम कुनै मुल्यांकन बिधीको आधारमा धितोपत्रको बित्तिय मुल्यांकन गरिन्छ। सो मुल्यांकन रकममा केहि प्रतिशतले थपघट गरेर निष्कासन मुल्यको दायरा तोकिन्छ र संभावित लगानीकर्ताबाट उनीहरुले खरिद गर्न चाहेको आसय मूल्य र सख्यामा आबेदन माग गरिन्छ। प्राप्त आसय  मुल्य र सेयर संख्याको आधारमा लगानीकर्ताले तिर्न चाहेको "भारित औसत मूल्य" (मस्यौदा निर्देशिकाले औसत मूल्य भनेको छ, जुन सहि होइन) गणना गरिन्छ। यहि मूल्य नै धितोपत्रको निष्काशन मूल्य (कट-अफ प्राईस) हुन्छ। लगानीकर्तालाई यहि निष्काशन मूल्यमा समानुपातिक हिसाबले धितोपत्रको बांडफांड गरिन्छ।

बुक-बिल्डिंगले धितोपत्रको चुस्त मूल्य निर्धारण गर्ने भएकाले न्तर्राष्ट्रिय अभ्यासमा यसको ब्यापक प्रयोग हुन्छ। यसबिधीमा लिड-अन्डरराइटरको भूमिका महत्वपूर्ण हुन्छ। धितोपत्र निष्काशन गर्ने कम्पनीले कुनै इन्भेस्टमेन्ट बैंकलाइ लिड-अन्डरराइटर नियुक्ति गरेपछि बुक-बिल्डिंगको प्रक्रिया सुरु हुन्छ।

लिड-अन्डरराइटर: लिड-अन्डरराइटरको कार्य बुक-बिल्डिंग बिधीको सहि प्रयोग गरेर धितोपत्रको निष्काशन मूल्य पत्ता लगाउने हो। लिड-अन्डरराइटरलाई नेपालमा निष्कासन प्रबन्धक भनिन्छ भने अन्तर्राष्ट्रिय अभ्यासमा अवस्था हेरी लिड-म्यानेजर वा बुक-रनर पनि भनिन्छ।

लिड-अन्डरराइटरले धितोपत्र निष्कासनको सम्पूर्ण ब्यबस्थापन गर्छ। उसले निष्काशनको हरेक कानुनी प्रक्रिया अपनाउने, निष्काशन कम्पनीलाई विवरणपत्र लगायत अन्य कागजात तयार पार्न सल्लाह र सुझाब दिने, निष्कासन गरिने धितोपत्रको बित्तिय मुल्यांकन गर्ने, निष्काशन रकमको आकार र मुल्यको दयारा प्रस्ताब गर्ने, निष्काशन मुल्य तय गर्ने धितोपत्रको अन्डरराइटिंग गराउने कार्य गर्छ।

लिड-अन्डरराइटरले अपनाउने बुक-बिल्डिंगको बिस्तृत प्रक्रिया यस्तो हुन्छ:

१. धितोपत्रको मूल्यांकन : बुक-बिल्डिंगमा पहिलो कार्य धितोपत्रको मूल्यांकन गर्नु हो। लिड-न्डरराइटरले बास्तबिक र प्रक्षेपित बित्तिय तथ्यांक र सुचना संकलन गरेर एक वा बढी मुल्यांकन बिधीको प्रयोग गरी निष्कासन गरिने धितोपत्रको बित्तिय मुल्यांकन गर्दछ। कम्पनीको वित्तीय अवस्था, सम्पत्तिको गुण, वासलात, आम्दानी/खर्चको अनुमान, नगद प्रवाह र प्रक्षेपणका तथ्यांकले मुल्यांकन रकम निर्धारण गर्दछन। बित्तिय तथ्याँक राम्रो भए धेरै र नराम्रो भए थोरै मुल्यांकन हुन्छ। न्डरराइटरहरुले पनि आ-आफ्नो तर्फबाट लिड-न्डरराइटरले गरेको बित्तिय मुल्यांकन सहि र बास्तबिक भए/नभएको सुनिस्चित गरेका हुन्छन। निष्काशन कम्पनी आफ्नो धितोपत्रको मूल्य तोक्न स्वतन्त्र भएपनि मनपरी गर्न भने सक्दैन।

सहि र निष्पक्ष मुल्यांकन बुक-बिल्डिंगको मुटु हो। यो बिधीको सफलता धितोपत्रको सहि बित्तिय मूल्यांकन गर्नसक्ने लिड-अन्डरराईइटरको दक्षता र क्षमतामा भरपर्छ। सहि मुल्यांकनको लागी बृहत सुचना र तथ्यांकहरुको जटिल समायोजन गरि मुल्यांकन गर्नसक्ने अति दक्ष जनशक्तिको खाँचो पर्दछ। हाल त्यस्तो जनशक्तिको देशमा कमि हुनसक्छ।

यो बिधीले लिड-अन्डरराईइटरलाइ धितोपत्र बित्तिय मुल्यांकन गर्ने कार्यमा बढी दक्ष र जिम्मेवार हुनपनि दबाब पैदा गर्छ। लिड-अन्डरराईइटरले सहि, निष्पक्ष र ब्यबसायिक बित्तिय मुल्यांकन गर्छभने बुक-बिल्डिंगले पुंजीबजारलाई प्रभाबकारी बनाउन योगदान दिन्छ, अन्यथा प्रत्युत्पापादक हुनसक्छ। बित्तिय मुल्यांकन धेरै भए लगानीकर्ताले र कम भए निष्कासन कम्पनीले नोक्सानी बेहोर्नुपर्ने हुन्छ। दुवै अवस्थामा लिड-अन्डरराईइटरको साख घटेर जान्छ। तसर्थ लिड-अन्डरराईइटरलाइ सहि र निष्पक्ष बित्तिय मुल्यांकन गरेर आफ्नो विश्वास र साख कायम राख्ने दबाब र बाध्यता रहन्छ।

२. निष्काशन मुल्यको दयारा : लिड-अन्डरराइटरले धितोपत्रको बित्तिय मूल्यांकनको आधारमा निष्काशन कम्पनीलाई निष्काशन मुल्यको दायरा सुझाब गर्छ। निष्काशन कम्पनीको सहमतिमा यहि दायरा संभावित लगानीकर्तालाइ प्रस्ताब गर्दछ। संभावित लगानीकर्ताहरुबाट खरिद मूल्यबारे आसय लिने उदेश्यले यस्तो सिमा दिईने हुँदा यसलाई आसय मूल्य पनि भनिन्छ।

मूल्यांकन रकममा केहि प्रतिशत (५%, १०% वा २०%) ले तलमाथि गरी यस्तो दयारा कहिंपनि तोक्न सकिन्छ। निष्काशन मुल्यको दायरा तोक्दा घटबढ गरिने प्रतिशत मुल्यांकन रकम धेरै भए थोरै र थोरै भए धेरै हुन्छ। यो दायरामा न्युनतम कबोल गर्न सकिने मूल्यलाई फ्लोर प्राइस र अधिकतम मूल्यलाइ सिलिङ्ग प्राइस भनिन्छ।

३. धितोपत्रको अन्डरराइटिंग : धितोपत्रको मूल्यांकन पछि लिड-अन्डरराइटरले अन्य  अन्डरराईइटरहरुबाट निष्काशित धितोपत्रको अन्डरराइटिंग गराउछ। यसबिधी अन्तर्गत हुने निष्काशनमा अन्डरराइटिंग आबश्यक हुन्छ र अन्डरराइटिंग चुक्ता मुल्यमा नभै निष्काशन मुल्यमा हुन्छ।

नेपालमा प्राय: चुक्ता मुल्यमा अन्डरराइटिंग हुँदै आइरहेकोमा अब निष्काशन मुल्यमा हुँदा अन्डरराईइटरहरुको लागि जोखिम बढेर जान्छ। निष्काशन पूर्ण बिक्री नभए बाँकी सेयर अन्डरराइटरहरुले खरिद गर्नुपर्ने हुँदा बुक-बिल्डिंगमा अन्डरराइटिंग शुल्क बढेर जान्छ। हाल अन्डरराइटिंग शुल्क १-२% रहेकोमा यसबिधीमा बढेर ६-७% पुग्नसक्नेछ।

अन्डरराइटिंग गर्दा निष्काशन मूल्य निर्धारण भै नसकेको अवस्था भएमा पछि तय हुने निष्काशन मूल्यमा ससर्त अन्डरराइटिंग गर्नुपर्छ। बिबरण-पत्रमा अनुमति लिंदापनि यस्तै अवस्था आएमा पछि तय हुने निष्काशन मूल्यमा बिक्री गरिनेछ भनेर सशर्त अनुमति लिने र सोहि अनुसार मुल्य प्रकासित गर्ने गरिन्छ।

४. बोलकबोल: लिड-अन्डरराइटरले निष्कासन मुल्यको दायराभित्र संभावित योग्य लगानीकर्ताहरुबाट उनीहरुले खरिद गर्न चाहेको सेयर शंख्या र तिर्न चाहेको मूल्यको बिवरण संकलन गर्छ। यसमा उसले संभावित ठुला र संस्थागत लगानीकर्ताहरुलाई सम्पर्क गरि निष्कासन गरिने धितोपत्रको बारेमा "रोड शोज" गर्ने र उनीहरुको धारणा लिनेगर्छ।

मानौं कुनै कम्पनीको बित्तिय मुल्यांकन प्रति सेयर रु.२०० छ। यो रकममा २०% ले घटबढ गर्दा हुने आउने रु.१६० र रु.२४० बिच कहिँपनि निष्काशन मुल्यको दायरा तोक्न सकिन्छ। मानौं लिड-अन्डरराइटरले निष्काशन मुल्यको दायारा रु.२००-२२० दिएको छ भने रु. २०० न्युनतम आधार मूल्य (फ्लोर प्राइस) र रु.२२० अधिकतम मूल्य (सिलिङ्ग प्राइस) हुन्छ। लगानीकर्ताले यहि दायराभित्र रहेर आफ्नो आसय ब्यक्त गर्नुपर्छ।

५. मूल्य निर्धारण : संभावित लगानीकर्ताबाट माग गरिएको सेयर सख्या र मूल्यलाई तालिका बनाएर भारित औसत मूल्य गणना बिधिद्वारा निष्कासनको मूल्य निर्धारण गरिन्छ। यहि भारित औसत मूल्य नै निष्कासन मूल्य (कट-अफ प्राइस) हो। बुक-बिल्डिंग बिधीको मुख्य प्रयोजन यहि हो। 

माथिकै उदाहरणमा मानौं भारित औसत मूल्य रु. २०८ आयो भने यो नै अन्तिम निष्काशन मूल्य हुन्छ। 

६. प्रकाशन : मूल्य निर्धारण पश्चात लिड-अन्डरराइटरले लगानीकर्ताहरुले खरिद गर्न चाहेको सेयर संख्या र तिर्न चाहेको मुल्यको विवरणलाइ सार्बजनिक जानकारीको लागि प्रकाशित गर्नेछ। यस्तो प्रकाशन लिड-अन्डरराइटरले आफ्नो वेबसाईटमा प्रकाशन गरेर वा आबेदकहरुलाई ईमेल पठाएर जानकारी दिनसक्छ।यसको उदेश्य निष्कासनमा पारदर्शिता कायम गर्नु हो।

७. बाँडफाँड : लगानीकर्तालाई निष्काशन मूल्य रु. २०८ प्रति सेयरका दरले उनीहरुको मागको अनुपातमा सेयरको बाँडफाँड गरिन्छ। रु. २०८ भन्दा बढीमा आबेदन गर्नेले बढी रकम फिर्ता पाउछ। यो भन्दा कममा आबेदन गर्नेले सेयर खरिद गर्न चाहेमा थप रकम जम्मा गर्नुपर्ने हुन्छ तर उनीहरु यो खरिद गर्न बाध्य हुँदैनन।

बुक-बिल्डिंगमा आबेदनको गरिएको सेयर शंख्याको अनुपातमा बाडफाँड गरिने हुँदा "धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४" लागु हुँदैन। यसको जानकारी विवरणपत्रमा दिनुपर्छ। बुक-बिल्डिंगमा निष्काशन कार्य १५ दिनमा सक्नुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासमा यो कार्य ३ दिनमा हुनेहुँदा १५ दिनलाइ ३ वा ५ दिनमा ल्याउन सकिन्छ।

अन्तर्राष्ट्रिय अभ्यासमा लिड-अन्डरराइटरलाइ धितोपत्र निष्कासनमा धेरै लचकता हुन्छ। प्रक्रिया सार्बजनिक गरेर उसले धेरै कार्य आफ्नो तजबिजमा गर्नसक्छ। उसले निष्काशन कम्पनीको सहमतिमा निष्कासन मुल्यको दायरा परिबर्तन गर्नसक्छ। लगानीकर्ताहरुले पनि बाँडफाँड पहिले माग गरिएको सेयर संख्या र मुल्यमा परिबर्तन गर्नसक्छन। बाँडफाँड पश्चात सेयर खरिद नगर्नपनि सक्छन। धेरै सेयर खरिद गर्ने उदेश्यले धेरै मूल्यमा धेरै सेयरको माग गरिएको आबेदन लिड-अन्डरराइटरले रद्द गर्नसक्छ। बिबरणपत्रमा "ग्रिन-सु अप्सन"को ब्यबस्था भएमा अतिरिक्त सेयर बिक्री गर्नसक्छ। 

आंशिक बुक बिल्डिंग : यसमा ठुला र सिमित संस्थागत लगानीकर्ताबाट मात्र उनीहरुले खरिद गर्न चाहेको सेयर शंख्या र तिर्न चाहेको मूल्यको विवरण संकलन गरेर निष्काशन मुल्य निर्धारण गरिन्छ। यो नै बाँकी आबेदकहरुको लागी निष्काशन मूल्य हुन्छ। बोर्डले मस्यौदा निर्देशिकामा गरेको ब्यबस्था आंशिक बुक-बिल्डिंग बिधीसंग धेरै मिल्न जान्छ।

निष्कर्ष: बुक-बिल्डिंग बिधीको सफलता लिड-अन्डरराइटरको भूमिका र दक्षतामा भर पर्दछ।अन्तर्राष्ट्रिय अभ्यास र मान्यता अनुरुप बुक-बिल्डिंगको कार्य लिड-अन्डरराइटरलाई स्वतन्त्र रुपमा गर्न दिईनुपर्दछ। नियमावली र निर्देशिकाले लिड-अन्डरराइटरको कार्य र भूमिकालाई अनाबश्यक हस्तक्षेप गरी सकुचित र जटिल बनाउनु हुँदैन। उसलाई स्वतन्त्र रुपमा कार्य गर्न दिंदा नै बुक-बिल्डिंग बिधीले अपेक्षित परिणाम दिन्छ। पुंजीबजारको अबधारणा पनि यहि हो।