Wednesday, September 9, 2020

Critique on Draft M&A Directives


संगठित संस्थाहरुको मर्जर एण्ड एक्विजिसन गतिविधिलाई नियमन गर्न धितोपत्र बोर्डले हालै "सुचिकृत संगठित संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७७" को मस्यौदा सार्बजनिक गरेको छ।

मस्यौदा निर्देशिका हेर्दा नेपालमा मर्जर एण्ड एक्विजिसनबारेको बुझाइ सैद्धान्तिकतवरमै गलत रहेको देखिन्छ।ब्यबहारमा पनि यो कार्य अन्तर्राष्ट्रियअभ्यास र मान्यताभन्दा फरक र कतिपय अवस्थामा बिपरित देखिन्छ। यस्तो मस्यौदा आउनुमा नेपालमा अभ्यास भैरहेको मर्जर एण्ड एक्विजिसनको प्रक्रिया धेरै हदसम्म जिम्मेवार छ भन्न सकिन्छ। सैद्धान्तिक बुझाई र ब्यबहारिक पक्ष जस्तो भएपनि नयाँ कानुनबारे छलफल र टिप्पणीनभई छाड़दैन। 

मस्यौदाका ब्यबस्थाबारे मिहिन र बिस्तृत टिप्पणी गर्ने हो भने मस्यौदा नै पुनर्लेखन गर्नुपर्ने हुन्छ, जुन एक लेखमा सम्भब नहोला। यस आलेखमा मस्यौदाका ब्यबस्थालाइ अन्तर्राष्ट्रिय अभ्याससंग दाँजेर केहि बुँदागत रुपमा टिप्पणी  र बिस्लेषण हुनेछ। 

१. मस्यौदाको दफा ३ मा मर्जर वा एक्विजिसनमाजान चाहने संस्थाले साधारण सभाबाट त्यस्तो प्रस्ताब पारित गर्नुपर्छ भन्ने छ। तर दुईसंस्थाबीच मूल्य वा सेयर लिनेदिने अनुपात लगायत सबै बिषयमा सहमति भएर मर्जर वा एक्विजिसनमा जाने अन्तिम सम्झौता भएपश्चातमात्र त्यस्तो प्रस्ताब साधारण सभामा लगेर पारित गर्नुपर्दछ। यी बिषयमा छिनोफानो नभई त्यस्तो प्रस्ताब लग्नु बिबेकपूर्ण हुँदैन।

यसो गर्नुको पहिलो कारण धितोपत्र कारोबारमा सुचनाको गोप्यता र सहि प्रबाह हो, जुन मर्जर एण्ड एक्विजिसनको एक महत्वपूर्ण पाटो हो। दुवै संस्थाबीच अन्तिम सम्झौता भएपछिमात्र आ-आफ्ना सेयरधनीहरुलाईरितपुर्बक जानकारी दिने र सो मा उनीहरुको सहमति लिने हो। यस अगाबै हुने हरेक कार्यले धितोपत्रको बजारमूल्यलाई प्रभावित पार्ने हुँदा यी गोप्य सुचना हुन्छन र मस्यौदामा झैँ सुरुमै सार्बजनिक गरिदैन। त्यसो गरिएमा धितोपत्र ऐन २०६३ को परिच्च्छेद ९ को विभिन्न दफाहरुमा भएको भित्री सुचना वा जानकारी सम्बन्धी ब्यबस्थाको उल्लङ्घन हुनजान्छ।

दोश्रो कारणमा कुनै कम्पनीसंग गाभिने वा खरिद गर्ने भन्ने प्रष्ट प्रस्ताब बिना सेयरधनी समक्ष जाँदा ब्यबस्थापनसंग कुनै मुर्त  योजना, कार्यक्रम र सोंच नभएको अर्थ लाग्छ। यस्तो प्रस्तावले संस्थालाई कमजोर र ब्यबस्थापनलाई हलुको देखाउछ।  

२. मस्यौदाको दफा ४ ले ड्यु डिलिजेंस र मुल्यांकनको ब्यबस्था गरेको छ। यी महत्वपूर्ण कार्य दुइसंस्था बिच प्रारम्भिक समझदारी भएपश्चात मात्र गरिने हो। आफ्नो संस्थाको ड्यु डिलिजेंस र मुल्यांकन आँफैले गर्नुमा कुनै समस्या भएन, तर यी कार्य एकले अर्काको गर्ने हो, जुन अत्यन्तै गोप्य हिसाबले हुनुपर्दछ। मुल्यांकन र ड्यु डिलिजेंस फरक कार्य हुन् तर मस्यौदाले मुल्यांकनलाई ड्यु डिलिजेंसको एक भाग जस्तो गरेको छ। मुल्यांकन बित्तिय परामर्शदाताले र ड्यु डिलिजेंस कानुनी परामर्शदाताले गर्ने हो।  

३. मस्यौदाको दफा ५ मा गाभ्ने/गाभिने संस्थाको खोजि गर्ने भनेको छ। कुनै संस्था मर्जर वा एक्विजिसनमा जाने भन्ने बिषय अन्तिम सम्झौता नगर्दासम्म गोप्य सुचना हुन्छ। जब दुईपक्षबीच मर्जर वा एक्विजिसन गर्न मूल्य वा सेयरको लेनदेनको अनुपातसहित अन्तिम सम्झौता हुन्छ तबमात्र यो बिषय सार्बजनिक हुन्छ। यो अवस्थामा नआईपुग्दासम्म यो कार्य हुने कुनै निश्चितता नभएकाले सो अगाबै यस्तो बिषय सार्बजनिक गर्नु सुझबुझपूर्ण हुँदैन। गरिए यहाँपनि धितोपत्र ऐन २०६३ को ब्यबस्था उल्लंघन हुन्छ।

४. मस्यौदाले दफा ६ को उपदफा ५ मा प्रारम्भिक सम्झौता भैसकेपछि संस्थाको साधारण सभाबाहेक कसैले त्यस्तो सम्झौता रद्ध गर्न नसक्ने भनेको छ। यो ब्यबस्था ब्यबहारिक होइन। यस्तो सम्झौता बाध्यकारी वा अबाध्यकारी हुने वा नहुने गाभ्ने/गाभिने संस्थाहरु बिच आपसी समझदारीको बिषय हो। प्रारम्भिक सम्झौता बाध्यकारी हुँदैन, अन्तिम सम्झौता पनि संधै बाध्यकारी हुँदैन। सम्झौता बाध्यकारी वा अबाध्यकारी भए के हुने भन्ने व्याख्या पनि संस्थाहरु बिचको सम्झौताले ब्याख्या गरेअनुसार हुन्छ। निर्देशिकामा नै किटान गरेर बाध्यकारी बनाइनु सहि होइन।  

५. मस्यौदाको दफा ७ मा प्रारम्भिक सहमति भएपछि गाभ्ने, गाभिने र लक्षित संस्था सबैको सेयर कारोबार रोक्का गर्ने भनेको छ, तर के कारणले सेयरको कारोबार रोक्नुपर्यो भन्ने कुनै व्यख्या छैन। यस्तो कारोबारमा सेयरको कारोबार रोक्का गर्न जरुरी हुँदैन। प्रारम्भिक सम्झौतालाइ सार्बजनिक नगरी अन्तिम सम्झौतालाई मात्र सार्बजनिक गर्ने हो भने सेयरको कारोबार एकक्षण पनि नरोकि यो कार्य पुरा गर्नसकिन्छ। 

६. मस्यौदाले दफा ८ मा गाभ्ने गाभिने चाहने संस्थाहरुले एक सयुक्त समितीको गठन गर्ने भनेको छ। हरेक संस्थाले यो कार्य अघि बढाउन -आफ्नो समिती गठन गर्ने ति समितिले आ-आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै यो कार्य अघि बढाउने हो। अन्तिम सम्झौतापमा पुग्नु पहिले दुबै समितिलाई मिलाएर एउटै समिती बनाउने होइन।


तर अन्तिम सम्झौता भएर दुवै संस्थाका सेयरधनीहरुको साधारण सभाले यस्तो पस्ताब पारित गरिसकेपछि एकीकरण र समायोजनको कार्य सम्पन्न गर्नका लागी दुवै समितीलाइ मिलाएर एक संयुक्त समिति बनाउने हो। 


७. मस्यौदाको दफा ९ मा पुर्ब-स्वीकृतिको लागि निबेदन दिने र दफा १० मा बोर्डले अनुमति दिने, शर्त तोक्ने भन्ने ब्यबस्था छ। त्यस्तै दफा १५ मा पनि फेरी निबेदन दिने र अन्तिम स्वीकृति दिने ब्यबस्था छ।  मर्जर एण्ड एक्विजिसनको कार्य सार्बजनिक निष्काशन जस्तो नभएकाले यी ब्यबस्था जरुरी होइनन।संस्थाहरुले मर्जर वा एक्विजिसनको कार्ययोजना, समय तालिका, सम्झौता र प्रस्ताबका साथै नयाँ सेयरहरु बोर्डमा दर्ता गर्नुपर्ने र समयमा अरुपनि जानकारी दिनुपर्ने ब्यबस्था आबश्यक हो तर उनीहरुले बोर्डमा निबेदन दिने, बोर्डले अध्ययन गर्ने, स्वीकृति दिने, शर्त तोक्ने ब्यबस्था ब्यबहारिक होइनन। यस्ता ब्यबस्थाले नियमन भन्दा नियन्त्रण गर्न खोजेको देखाउँछ।

८. मस्यौदाको दफा ११ मा सेयर लिनेदिने अनुपात बोर्डबाट स्वीकृत गराउनुपर्ने ब्यबस्था छ। सेयर लिनेदिने अनुपात दुईसंस्थाले आपसी समझदारीमा तय गर्ने, सो मा आ-आफ्ना सेयरधनीहरुलाईसन्तुष्ट बनाएर सो प्रस्ताब साधारण सभाबाट पारित गरेर अनुमति लिने हो। यसपश्चात कानुनमा भएको ब्यबस्था अनुसार बोर्डलाइ सुचित गराउने हो तर बोर्डलाइ सन्तुष्ट बनाउने वा उबाट स्वीकृती लिने होइन। बोर्ड सन्तुष्ट भएमा स्वीकृति प्रदान गर्नेछ भन्ने ब्यबस्था ज्यादै अमुर्त छ। बोर्ड सन्तुष्ट हुने वा नहुने होइन, सुचना प्रवाह गरेर उसलाई जानकारी दिने कानुनी प्रक्रिया पुरा गर्ने हो।

 यस्ता ब्यबस्था हेर्दा बोर्ड आँफैले मर्जर एण्ड एक्विजिसनको कार्य गर्न खोजेको हो कि भन्ने देखिन्छ। बोर्डले यी कुनैपनि कार्य गर्ने होइन, कानुनसम्मत हिसाबले अरुबाट गराउने हो।  

निष्कर्ष: मर्जर एण्ड एक्विजिसन कार्यको नियमन निर्बिबाद बिषय भएपनि निर्देशिकाकै जरुरत होइन। कम्पनी ऐन, धितोपत्र ऐन-कानुन, प्रत्यक्ष नियमनकारी (संस्था दर्ता एवं संचालन अनुमति दिने) ऐन र श्रम ऐन जस्ता विद्यमान कानुनका ब्यबस्थालाई प्रभाबकारी रुपमा लागु गरेर मर्जर एण्ड एक्विजिसनलाइ सहि नियमन गर्नसकिन्छ। नियमनको उदेश्य यस्ता गतिबिधीहरु पारदर्शी एवं निष्पक्ष होउन र कोहि अन्याय र पक्षपातमा नपरोस भन्ने हो। यो उदेश्य प्राप्त गर्न कुनै बाधा-अड्चन भए बिद्यमान कानुनमा संसोधन गर्नसकिन्छ।

विद्यमान कानुनमा रहेको एक प्रमुख कमि भनेको मर्जर वा एक्विजिसनमा जारी हुने नयाँ सेयर धितोपत्र बोर्डमा दर्ता हुनुपर्ने ब्यबस्था नहुनु हो।धितोपत्र ऐन अन्तर्गतको सम्बन्धित नियमावलीमा यो ब्यबस्था थप गरेर यो कमि हटाउन सकिन्छ। अर्को, मर्जर वा एक्विजिसनका कारण कुनै संस्था भीमकाय रुपमा ज्यादै ठुलो नहोस र कुनै संस्थालाई मुल्यमा एकाधिकार प्राप्त नहोस भनेर प्रत्याभूति गर्ने कानुनको पनि कमि छ। सम्बन्धित कानुनमा आबश्यक ब्यबस्था गरेर यी कमि-कमजोरी हटाउन सकिन्छ। 

 अन्तर्राष्ट्रियअभ्यासमा मर्जर एण्ड एक्विजिसनलाई नियमन गर्न निर्देशका जस्तो छुट्टै कानुनको ब्यबस्था भएको पाइदैन। यो मस्यौदाका धेरै ब्यबस्था पुँजीबजारको सर्बमान्य मान्यता र अन्तर्राष्ट्रिय अभ्याससंग मात्र होइन नेपालकै धितोपत्र ऐनको ब्यबस्थासंग पनि मेल खाँदैनन। यहाँ अन्तर्राष्ट्रिय अभ्यासको प्रसंग बारम्बार उठाउनुको अर्थ नियमन आबश्यक, नियन्त्रण अनाबश्यक भनेर हो। तर मस्यौदाका व्यवस्थाले यस्तो प्रत्याभूति दिंदैन, जसमा नियमन कम नियन्त्रण ज्यादा देखिन्छ। आजको कर्पोरेट वर्ल्डमा नियन्त्रण रुचाईदैन।  

 मर्जर एण्ड एक्विजिसनमा जबसम्म खरिद मूल्य वा सेयरको लिनेदिने अनुपातमा सहमति भएर अन्तिम सम्झौता हुँदैन तबसम्म यसबारेको कुनै पनि सूचना गोप्य हुन्छ र सार्बजनिक गर्न हुँदैन। मस्यौदाले हरेक दफामा धितोपत्र ऐन २०६३ को यो ब्यबस्थालाइ उल्लङ्घन गरेको छ।  

 धितोपत्र बोर्डले आफ्नो महत्वपूर्ण साधन, श्रोत र समय यस्ता जरुरी नभएका कानुनमा लगाउन भन्दा अन्य अत्याबशक कानुन र नयाँ बित्तिय साधन ल्याउनमा लगाए पुंजीबजारको बिकास र बिस्तारमा योगदान पुग्नेथियो। 

 मुक्ति अर्याल Twitter: @isdbr 
(विगतमा एक दशकसम्म नेपाली पुँजी बजारमा कार्यरत अर्याल हाल अमेरिकी पुँजी बजारसँग सम्बद्ध छन्।) 

नोट: थप गरिएका हरफहरु निलो रंगमा लेखिएका छन्। 

Tuesday, September 1, 2020

मर्जर एण्ड एक्विजिसन सम्बन्धी मस्यौदा निर्देशिकाको औचित्य


संगठित संस्थाहरुको मर्जर एण्ड एक्विजिसन गतिविधिलाई नियमन गर्न धितोपत्र बोर्डले हालै "सुचिकृत संगठित संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७७" को मस्यौदा सार्बजनिक गरेको छ। मस्यौदाले मर्जर एण्ड एक्विजिसनको कार्यलाइ एउटा प्रक्रियामा लगेर नियमन गर्न खोजेको बुझिन्छ।

 

मर्जरमा समान हैसियतका दुई संस्था संयुक्त रुपमा बिलय भएर नयाँ संस्था बन्दछ। एक्विजिसनमा असमान हैसियतका संस्थाबीच ठुलोले सानोलाई आँफुमा बिलय गराउदछ। नेपालमा भैरहेका यस्ता संस्थागत गतिबिधिहरुमा मर्जरभन्दा एक्विजिसनका बढी देखिन्छन्। बोलीचालीमा मर्जर भनिएपनि वास्तबमा ति एक्विजिसन हुन्।

 

मर्जरमा गाभिने संस्थाका सेयरधनीहरुलाई सेयर दिईन्छ भने एक्विजिसनमा नगद, सेयर वा नगद सेयर दुवै दिन सकिन्छ। मर्जर वा एक्विजिसनमा सेयर दिनेकार्य नयाँ सेयरको निष्कासन गरेजस्तै हुनेहुँदा यो केहि जटिल हुन्छ यसमा धेरै कानुन आकर्षित हुन्छ। नगदमा गरिने एक्विजिसन तुलानात्मक रुपमा सरल हुन्छ नियमन पनि कम हुन्छ।

 

मर्जर एण्ड एक्विजिसनको प्रमुख उदेश्य सेयरधनीहरुको सम्पत्ति बृद्धि गर्नु हो। कर्पोरेट वर्ल्डमा मर्जर एण्ड एक्विजिसन बाहेक टेकओभर, रिभर्स मर्जर, डिमर्जर, स्पिन अफ, स्प्लिट अफ आदि थुप्रै संस्थागत गतिविधिहरु हुन्छन, जुन नेपालमा अभ्यासमा आऊन बाँकी नै छन्।

 

मर्जर एण्ड एक्विजिसनको प्रक्रिया: मर्जर एण्ड एक्विजिसनको प्रक्रिया जटिल हुन्छ। यसको लागी कडा तयारी, कुशल परामर्दाता समर्पित ब्यबस्थापन चाहिन्छ।

 

कुनै संगठित संस्थाले अर्को संगठित संस्थालाइ खरिद वा बिलय गर्न चाहेमा मर्जर एण्ड एक्विजिसनको प्रक्रिया सुरु हुन्छ। यसको लागि उसले कुनै इन्भेस्टमेण्ट बैंकलाइ बित्तिय परामर्शदाता नियुक्त गरि त्यस्तो संस्थाको खोजी गर्न लगाउछ। बित्तिय परामर्शदाताले गाभिन वा बिक्री हुन् चाहने संस्था खोज्ने प्रारम्भिक छलफल अगाडी बढाऊने गर्छ। छलफल अघि बढेमा गाभिन वा बिक्री गर्न चाहने संस्थाले पनि आफ्नो बित्तिय परामर्शदाता नियुक्त गरेर यो कार्य अघि बढाउछ। यो कार्यलाई थप अगाडी बढाउन दुवै संस्थाले संचालकहरु राखेर -आफ्नो मर्जर कमिटी बनाउने कानुनी परामर्शदाता तोक्ने गर्छन।

 

परामर्शदाताको नियुक्ती बाध्यकारी नभएपनि अन्तर्राष्ट्रिय अभ्यासमा इन्भेस्टमेण्ट बैंक कानुनी सल्लाहकार बिना कर्पोरेट रिस्ट्रक्चरिङ्गका यस्ता कार्य हुँदैनन तर नेपालमा यस्तो अभ्यास हुन बाँकी छ।

 

बित्तिय परामर्शदाताहरुले दुवै संस्थाको सेयरको मुल्यांकन गर्ने गर्दछन। मुल्यांकनको आधारमा नेगोसिएसन (मोलमोलाई) सुरु हुन्छ। नेगोसिएसनमा गाभ्ने वा गाभिने संस्थाको सेयरलाइ कति मूल्य दिने वा एउटा संस्थाको सेयरको बदलामा अर्को संस्थाको कति सेयर दिने (लिनेदिने अनुपात) भन्ने प्रस्ताब गरिन्छ। साथै प्रारम्भिक सहमति गरि आसय पत्र लिने-दिने गर्छन।


नेगोसिएसनको प्रक्रियामा सेयर लिनेदिने दरमा मोटामोटी सहमति भएपछि ड्यु डिलिजेंस सुरु हुन्छ। मर्जरमा दुवै संस्थाको एक्विजिसनमा गाभिने संस्थाको ड्यु डिलिजेंस हुन्छ। यो एक जटिल प्रक्रिया हो, जसमा संस्थाहरुको बित्तिय तथ्यांक (सम्पत्ति, दायित्व, आम्दानी-खर्च, नाफा-नोक्सान, नगद प्रबाह, भविष्यको आंकलन, मुल्यांकन) मात्र हेरिदैन, उनीहरुको गोप्य व्यावसायिक रणनिति, कर्मचारी, ग्राहक, बजार, कानुनी, सामाजिक, बाताबरणीय पाटाहरु पनि हेरिन्छ।

 

ड्यु डिलिजेंसमा कुनै ठुलो समस्या नदेखिए खरिद गर्ने वा गाभ्नेबारेको अन्तिम सम्झौता हुन्छ। सम्झौता बमोजिम दुई संस्थाबीच एकीकरण समायोजनका कार्य हुन्छन। यसबिच अन्य थुप्रै -साना कार्यहरु पनि हुन्छन तर मोटामोटी रुपमा यहि नै हो। यहाँ ख्याल गर्नुपर्ने एक बिषय यी संस्थाको सेयरको किनबेच हो, जुन यो प्रक्रियामा कहिपनि रोकिदैन।

 

नियामक निकायको कार्य यहि प्रक्रियालाई बिद्यमान कानुन बमोजिम निष्पक्ष, न्यायोचित पारदर्शी बनाउने हो। यस आलेखमा यसैबारे एक बिबेचना विश्लेषण गरौं।

 

गोप्यता सम्बन्धी करार : मर्जर एण्ड एक्विजिसनमा संलग्न पक्षहरुबीच गोप्यता सम्बन्धी करार गर्नु आबश्यक हुन्छ। ।संलग्न पक्षले अन्तिम सम्झौता हुनु अघि मर्जर एण्ड एक्विजिसनबारे कुनै सुचना, जानकारी वा तथ्यांक सार्बजनिक गर्न,कसैलाई चुहाउन हुँदैन सो को प्रतिबद्धताका लागी त्यस्तो करारमा हस्ताक्षर गरेको हुनुपर्दछ।

 

परामर्शदाताको सल्लाह: गोप्यता सम्बन्धी करार गर्नु पहिले संगठित संस्थाहरुले -आफ्नो पक्षमा कार्य गर्न बित्तिय कानुनी परामर्शदाता नियुक्त गरेको हुनुपर्दछ। परामर्शदाताहरुले संगठित संस्थाहरुलाई ब्यबसायिक सल्लाह प्रदान गरी कारोबार निष्पक्ष न्यायोचित गराउन मद्दत गर्नेछन। यसले पूंजीबजारको बिकास बिस्तारलाई पनि सहयोग गर्दछ।

 

खरिद बिक्रीको दर: खरिद-बिक्रीको दर निर्धारण नभईन्जेल मर्जर एण्ड एक्विजिसन कार्य दुई संस्था बाहेक अन्य कसैले थाहा नपाउने गरी अत्यन्तै गोप्य हुनुपर्छ। गोप्यता नभए यी संस्थाहरुको सेयर/धितोपत्रको बजार मूल्य प्रभावित भई कोहि लगानीकर्ताले गुमाउने कोहिले फाइदा गर्ने भेदभाब अन्यायपूर्ण अनि आर्बिट्रजको अवस्था आउछ। त्यसैले गोप्यता कायम भएकै हुनुपर्दछ।

 

नयाँ सेयर निष्काशन : सेयर लिनेदिने सम्झौता कार्यन्बयन गर्दा एउटा संस्थाको सेयरको बदालामा अर्को संस्थाले सेयर दिने कार्य नयाँ सेयर निष्काशन गरे सरह हुन्छ। यस्ता सेयरहरु धितोपत्र बोर्डमा दर्ता हुन् जरुरी हुन्छन। पब्लिकमा गैसकेका यी संस्थाको सेयर लिने ब्यक्ति मूल्य पहिल्यै निश्चित भएकाले सार्बजनिक निष्काशनमा झैँ विवरण-पत्र प्रकाशन गरेर लामो प्रक्रियामा जान जरुरत पर्दैन।

 

सुचना जानकारी : मर्जर एण्ड एक्विजिसनको कार्यमा बिद्यमान कानुनमा रहेका कर्पोरेट एण्ड फाइनान्सियल डिस्क्लोजर्स (संस्थागत बित्तिय जानकारी) का नियमहरु पालना हुनुपर्दछ। यी संस्थाहरुले एक अर्कालाई दिएको तथ्यांक जानकारीहरु गलत मेटिएको, झुट्टा, भ्रमित पार्ने घटबढ गरिएका अभ्यास वा कार्यहरु हुनुहुँदैन। दुवै संस्थाले मर्जर वा एक्विजिसनको सम्झौताबारे नियमन निकायहरुलाई पनि जानकारी गराउनुपर्दछ।

 

धितोपत्र बोर्डलाई जानकारी मात्र दिएर पुग्दैन। यसमा नयाँ जारी हुने सेयरहरु बोर्डमा दर्ता गर्नुपर्ने हुँदा अन्तिम सम्झौता भैसकेपछि मर्जर वा एक्विजिसनको कार्ययोजना, समय तालिका सम्झौता पेश गर्नुपर्दछ। साथै बेलाबेलामा अन्य सुचना जानकारी पनि दिनुपर्ने हुन्छ।

 

फ्युडिसियरी ड्युटी: दुवै संस्थाका संचालक तथा ब्यबस्थापनले आफ्नो फ्युडिसियरी ड्युटी अन्तर्गत सबैभन्दा पहिले आफ्ना सेयरधनीको हितको ख्याल राखी काम गरेको हुनुपर्दछ। दुवै संस्थाको सेयरधनीहरुलाई ति संस्थाको ब्यबस्थापन संचालक समितिले हुन् गैरहेको मर्जर एण्ड एक्विजिसनबारे ठिक समयमा ठिक सुचना दिई उनीहरुबाट यो प्रस्ताबअनुमोदन गराउनुपर्दछ। सम्झौता दुवै पक्षका सेयरधनीहरुको लागि निष्पक्ष न्यायोचित हुनुपर्छ।

 

मर्जर एण्ड एक्विजिसनमा सेयरको मुल्यांकन ड्यु डिलिजेन्स अत्यन्तै महत्वपूर्ण हुन्छ। दुवै संस्थाका सेयरको मुल्यांकन ड्यु डिलिजेन्स उचित हुन जरुरी हुन्छ। एकसंस्था अर्को संस्थाबाट प्रभावित भै अबास्ताबिक मुल्यांकन ड्यु डिलिजेन्स हुनुहुँदैन। दुवै संस्थाका संचालक वा उच्च ब्यबस्थापनले भित्री सुचनाको आधारमा कुनै कारोबार गरेको हुनुहुँदैन।

 

एकाधिकार प्रतिस्पर्धात्मक मूल्य: मर्जर एण्ड एक्विजिसनमा एउटा ज्यादै महत्वपूर्ण बिषय कुनै एउटा संस्थाले बजारमा एकाधिकार प्राप्त नगरोस बस्तु सेवाको मूल्य प्रतिस्पर्धि रहोस भन्ने हो। मर्जर वा एक्विजिसनका कारण कुनै संस्थालाइ एकाधिकार प्राप्त नहुने, धेरै बजार हिस्सा नओगट्ने, कम मुल्यमा बस्तु वा सेवा बेच्न नसक्ने, बजारलाई अप्रतिस्पर्धी बनाउन प्रतिस्पर्धीहरुलाई बजारबाट हटाउन नसक्नेतर्फ ध्यान दिन जरुरी हुन्छ।

 

कुनै संस्था ज्यादै ठुलो भीमकाय नहोस ताकि संस्था धेरै ठूलो भएर सम्हालिन नसकी टाट उल्टेर अर्थतन्त्रलाइ नै तहसनस नबनाओस भन्नेतर्फ पनि ध्यान दिन जरुरी छ। खासगरी वित्तिय संस्थाहरु अनावश्यक रुपमा ठूलो हुँदै गए बेलैमा सचेत हुनुपर्छ।

 

यि बिषयमा प्रत्यक्ष नियमनकारी निकायको कार्यक्षेत्र अन्तर्गत पर्नेहुँदा ति निकायले ध्यान दिन जरुरी छ।जस्तै बित्तिय संस्था, बिमा कम्पनी, हाइड्रोपावर कम्पनीको सन्दर्भमा क्रमश: राष्ट्रबैंक, बिमा समिती बिद्युत नियमन आयोगले हेर्नुपर्दछ। यसमा थप नयाँ कानुन आउन जरुरी छ।

 

अन्य: प्राइभेट संस्थाले धितोपत्र निष्काशन गरेको संस्था खरिद गरेमा वा बिदेशी संस्थाले धितोपत्र निष्काशन गरेको स्वदेशी संस्था खरिद गरेमा के हुने? केहि भाग सेयर खरिद गरे के हुने? यसबारेपनि कानुनमा प्रष्ट ब्यबस्था हुन् आबश्यक छ।

 

मस्यौदा निर्देशिकाबारे: मर्जर एण्ड एक्विजिसनलाइ नियमन गर्नुपर्नेमा दुईमत हुनसक्दैन तर निर्देशिकाकै जरुरत भने होइन। बिद्यमान धितोपत्र ऐन-कानुन, कम्पनी ऐन, प्रत्यक्ष नियमन गर्ने ऐन, श्रम ऐन लगायतका कानुनमा भएका ब्यबस्थाहरुबाट पनि यो कार्य नियमन हुनसक्छ। नियमनको प्रमुख उदेश्य पारदर्शिता निष्पक्षता हो। यो उदेश्य प्राप्तिमा कुनै बाधा-अड्चन वा कमि-कमजोरी भए बिद्यमान कानुनहरुमा संसोधन वा थपघट गर्नसकिन्छ।

 

मस्यौदा निर्देशिकाका ब्यबस्था हेर्दा नेपालमा हुने मर्जर एण्ड एक्विजिसनको अभ्यास प्रक्रिया अन्तर्राष्ट्रिय अभ्यास भन्दा बिल्कुल बिपरित देखिन्छ। यस्तो मस्यौदा आउनुमा नेपालले अभ्यास गरिआएको मर्जर एण्ड एक्विजिसनको प्रक्रिया धेरै हदसम्म जिम्मेवार छ। मस्यौदामा झैँ मर्जर वा एक्विजिसनका धेरै कार्यहरुलाई पहिल्यै सार्बजनिक गर्न मिल्दैन। यी कार्यहरु ज्यादै गोप्य सुचना हुन् यिनले धितोपत्रको बजारमूल्यलाई प्रभावित पार्ने हुँदा सार्बजनिक हुनसक्दैनन। त्यसो गरिएमा धितोपत्र ऐन २०६३ को परिच्च्छेदको विभिन्न दफाहरुमा भएको भित्री सुचना वा जानकारी सम्बन्धी ब्यबस्थाको उल्लङ्घन हुनजान्छ।

 

निर्देशिका नै बनाएपनि संस्थाहरुले मर्जर वा एक्विजिसनको कार्ययोजना, समय तालिका सम्झौताका साथै नयाँ सेयरहरु बोर्डमा दर्ता गर्नुपर्ने समयमा अरुपनि जानकारी दिनुपर्ने ब्यबस्था गर्न सकिन्छ, तर संगठित संस्थाले बोर्डमा निबेदन दिने, बोर्डले अध्ययन गर्ने, स्वीकृति दिने, शर्त तोक्ने ब्यबस्था ब्यबहारिक हुँदैन। यी ब्यबस्थाले नियमन भन्दा नियन्त्रण गर्न खोजेको देखाउँछ। आजको कर्पोरेट वर्ल्डमा नियन्त्रण रुचाईदैन। नियमन निकायहरुले विचार पुर्याउनुपर्ने बिषय यहि हो।



मुक्ति अर्याल Twitter: @isdbr

(विगतमा एक दशकसम्म नेपाली पुँजी बजारमा कार्यरत 

अर्याल हाल अमेरिकी पुँजीबजारसँग सम्बद्ध छन्।)