Wednesday, June 10, 2020

गोल्ड ईटिएफ : सुनमा लगानीको प्रभाबकारी तरिका


सुन बहुमुल्य र महत्वपूर्ण धातु हो। यो लगानीको एक प्रमुख साधन पनि हो। यस अर्थमा यो एक बस्तु हो। लगानीको उदेश्यले केन्द्रिय बैंकहरु र लगानीकर्ताले सुन खरिद गर्ने अभ्यास बढ्दो छ। सुनमा लगानी गर्नु पुर्ब यो के हो/होइन? यसले के गर्छ/गर्दैन? के दिन्छ/दिंदैन? यो कस्तो प्रकारको सम्पत्ति हो? भन्ने बारे प्रस्ट हुन् जरुरी छ।

सुनको आफ्नै कुनै आम्दानी हुँदैन, यसले कुनै लाभांस दिंदैन र यसले केहि वितरण गर्दैन। मूल्यमा आउने उतार चढाब नै यसको प्रतिफल हो।यसअर्थमा सुन सट्टेबाजीको साधन हो। तर यसको बाबजुद यो विविधिकरणको एक महत्वपूर्ण साधन हो। बित्तिय संकटको बेला सुनलाई सुरक्षित लगानीको रुपमा खोज्ने गरिन्छ । यसले गर्दा सुनको महत्व अरु बढेर गएको छ।

बर्ष २०१९ सम्ममा दुनियाभरमा करिब १ लाख ९२ हजार टन सुन उत्पादन भएको तथ्यांक छ। अमेरिकासंग सबैभन्दा धेरै ८१०० टनभन्दा ज्यादा सुन संचित छ। चीन र भारतसंग क्रमस: १९३६ टन र ६१८ टन सुन संचित छ। नेपालमा पनि हरेक बर्ष सुनको माग र कारोबार बढ्दो छ। हाल नेपालसंग ६ टनभन्दा ज्यादा सुन भएको अनुमानित तथ्यांक छ। तर नेपालमा सुन असंगठित रुपमा स-सानो मात्रामा छरिएर रहेको छ।

यसरी छरिएर रहेको सुनलाई एकमुष्ट रुपमा अर्थतन्त्रको मुलधारमा ल्याएर यसको उपयोगिता बढाउने उदेश्यले आब २०७६/७७ को बजेट र त्यस लगत्तै राष्ट्रबैंकले ल्याएको मौद्रिक नीतिमा सुनको ब्यबस्थापन गर्ने नीति आएको थियो। जस अनुसार बैंकहरुले सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने र सो निक्षेपमा केहि प्रतिशत ब्याज प्रदान गर्ने ब्यबस्था गरिएको थियो। तर यस सम्बन्धी बिस्तृत कार्यविधि नियमावली हालसम्म पनि राष्ट्रबैंकबाट आएको छैन।

यो कार्यविधि नियमावली आएकै अवस्थामा पनि यस्तो कार्यक्रम लागु हुनसक्ने धेरै सम्भाबना देखिदैन। सुनको यस्तो निक्षेपमा बैंकहरुले ब्याज आम्दानी हुने गरि कतै लगानी गर्नसक्ने अवस्था छैन। मूल्य घट्ने वा बढ्ने बाहेक सुनले कुनै नियमित आम्दानी पैदा नगर्ने हुँदा यस्तो निक्षेपमा बैंकहरुले ब्याज दिनसक्ने अवस्था हुँदैन। सो नहुँदा सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न र सो मा ब्याज प्रदान गर्न बैंकहरुलाइ कुनै प्रोत्साहन नहुने हुँदा आर्थिक कारणले यो कार्यक्रमसफल हुने देखिदैन। तरलताको अभाब, तुरुन्त कर्जा लिन सम्भब नहुने, ब्यबस्थापकिय झन्झट र अन्य व्यवहारिक कठिनाईका कारण पनि यो कार्यक्रम सफल हुन सजिलो छैन।

यस्तो कार्यक्रम भारतमा, त्यो पनि सिमित रुपमा मात्र प्रचलनमा रहेको र त्यहाँ पनि यसले कुनै उल्लेखनीय सफलता हाँसिल गर्न सकेको छैन। उस्तै प्रकारको यो कार्यक्रम नेपालमा सफल हुने ठुलो आधार देखिदैन। सुन ब्यबस्थापनको यो उत्कृष्ट र विश्वब्यापी तरिका होइन।

सुनको सहि र चुस्त ब्यबस्थापनको लागि आधुनिक तरिका अपनाउनु आबश्यक देखिन्छ। त्यो भनेको सुनमा आधारित लगानीका विभिन्न बित्तिय साधनहरु बनाएर लगानीको अवसर पैदा गर्नु हो।

सुनमा लगानी किन: सुनमा लगानी गर्ने तीन प्रमुख कारण छन्। पहिलो, सुन र स्टक मार्केटको ऋणात्मक सह-सम्बन्ध भएका कारण स्टक मार्केट घटेको बखत इक्विटी इन्भेस्टमेन्टमा हुने जोखिमलाई सुनमा गरिएको लगानीले हेज अर्थात् जोखिमलाई न्यून गर्दछ। २००७-०८ को बित्तिय संकट र त्यसपछि २०११-१२ सम्म स्टक मार्केटमा अनिश्चितता रहँदा सुनको मूल्य सबैभन्दा उच्च तहमा पुगेको थियो। अहिले पनि करोना संकटको कारण स्टक मार्केट घट्दा सुनको मूल्य उच्च भएको थियो।

दोश्रो कारण मुद्रास्फृतिले पैदा गर्ने जोखिमलाई सुन गरिएको लगानीले हेज गर्नु हो। मुद्रास्फृति बढेर जाँदा सुनको पनि मूल्य बढ्ने हुँदा सुनले मुद्रास्फृतिको नकारात्मक असरलाई त्यहि अनुरुप प्रतिस्थापन गर्दछ। सुनले दिएको ऐतिहसिक प्रतिफललाई हेर्दा यो मुद्रास्फृतिको दरसंग लगभग बराबर छ। तसर्थ मुद्रास्फृतिलाइ हेज गर्न सुनमा लगानी गर्नु उपयुक्त हुन्छ।

तेश्रो कारण बिदेशी मुद्राको विनिमय दरको जोखिमलाई पनि सुनमा गरिने लगानीले हेज गर्नु हो। बिदेशी मुद्राको विनिमय दरमा आउने उतार चढाबबाट पैदा हुने जोखिमलाई न्यून गर्न पनि सुन उपयुक्त साधन हो। बैदेशिक मुद्राको विनिमय दर बढ्दा सुनको मूल्य (नेपाली मुद्रामा) पनि बढ्छ। सुनमा लगानी गरेको अवस्थामा यस्तो जोखिम हेज हुनजान्छ।

यी तिन अवस्थाले पैदा गर्ने जोखिमलाई ब्यबस्थापन गर्न सुन सबैभन्दा उपयुक्त साधन हो। यस अलावा बहुमुल्य धातु भएकाले सुनलाई तुलनात्मक रुपमा लगानीको सुरक्षित साधन पनि हो। तर यसको अर्थ सुनमा गरिने लगानी जोखिम रहित हुन्छ भन्ने होइन।

कसरी गर्ने सुनमा लगानी: बिकसित मार्केटमा सुनमा लगानी गर्ने धेरै तरिका छन्। गर-गहना, सिक्का वा गोल्डबारको खरिद गरेर भौतिक रुपमा सुनमा लगानी गर्ने तरिका विश्वब्यापी नै हो, जुन नेपालमा पनि हुँदै आएको छ। तर लगानीको यो परम्परागत तरिका उत्कृष्ट भने होइन।

ति मार्केटमा सुन उत्पादन गर्ने कम्पनीको स्टक (सेयर), गोल्ड अप्सनस्, गोल्ड फ्युचर्स, गोल्ड म्युचुयल फन्ड, गोल्ड ईटिएफ जस्ता सुनमा आधारित बित्तिय साधनहरुमा लगानी हुने गर्छ।

सुन उत्पादन गर्ने कम्पनी र डेरीभेटिभ मार्केट नेपालमा नभएकाले सुन कम्पनीको स्टक, गोल्ड अप्सनस् र फ्युचर्समा लगानी सम्भब छैन। गोल्ड म्युचुयल फन्ड र गोल्ड ईटिएफ जस्ता बित्तिय साधन पनि नेपालमा उपलब्ध छैनन। तर यी साधन नेपालमा पनि तत्कालै सुरु गर्न सकिन्छ।

सामान्य रुपमा हेर्दा यी दुई वित्तीय साधन उस्तै लागेपनि लागत, ब्यबस्थापन, लिस्टिंग, कारोबार, तरलता, प्रभाबकरिताका हिसाबले यी दुई बीच आधारभूत भिन्नता छ। यी बिबिध पक्षहरुको समग्र प्रभाब सुनमा हुने लगानीको प्रतिफलमा प्रतिबिम्बित हुने हुँदा लगानीकर्ताको लागि गोल्ड म्युचुयल फन्डको तुलनामा गोल्ड ईटिएफ बढी उपयुक्त र प्रभाबकारी देखिन्छ। यसैकारण गोल्ड म्युचुयल फन्डको तुलनामा गोल्ड ईटिएफ बढी लोकप्रिय हुँदै गएको पाइन्छ।

दुनियाँको पहिलो गोल्ड ईटिएफ "स्पाईडर गोल्ड ट्रस्ट" (बास्तबिक नाम एसपिडिआर, उच्चारण स्पाइडर गरिने) २००४ मा सुरु भएको थियो। यो नै सबैभन्दा ठुलो गोल्ड ईटिएफ हो, जसको बजार पुँजीकारण ६० बिलियन अमेरिकी डलर छ। अमेरिकामा मात्रै ३ दर्जन बढी गोल्ड ईटिएफ संचालनमा छन्।

यस आलेखमा ईटिएफ र अझ खासगरि गोल्ड ईटिएफ के हो, सुनलाई कसरी बहु-उपयोगि बित्तिय साधनको रुपमा बिकास गर्ने र यसबाट नेपाली पुँजीबजार र लगानीकर्तालाई कसरी बढी लाभ पुर्याउने भन्ने बारे व्याख्या र विश्लेषण हुनेछ।

के हो ईटिएफ: ईटिएफको पुरा अर्थ एक्सचेन्ज ट्रेडेड फन्ड (Exchange Traded Fund) हो। कुनै फन्डलाई स्टक एक्सचेन्जमा लिस्टिंग गरेर कारोबार योग्य गराइन्छ भने त्यो ईटिएफ हुन्छ।  यसमा सो फन्डको इकाइको किनबेच फन्ड ब्यबस्थापककोमा हुँदैन।

स्टक र म्युचुयल फन्डका राम्रा पक्षलाई समेटेर इटिफ बनाईन्छ। स्टक एक्सचेन्जमा लिस्टिंग गरेर सेयर झैँ कारोबार योग्य गराउनु स्टकको बिशेसता हो भने सामुहिक रुपमा फन्डको ब्यबस्थापन गर्नु म्युचुअल फन्डको बिशेसता हो।

इटिफको अबधारणा म्युचुयल फन्डको बिकल्पको रुपमा आएको हो। यसलाई म्युचुयल फन्डसंग दाँजेर हेर्दा यो के हो भन्ने बढी प्रस्ट हुन्छ। आधारभुत रुपमा यी दुइ बीच धेरै समानता र केहि तात्विक भिन्नता छ। तिनै भिन्नताले इटिफलाई म्युचुयल फन्डसंग फरक देखाउछ।

इटिफ र म्युचुअल फन्डको प्रमुख भिन्नता फन्ड ब्यबस्थापनको बिधि हो। सामान्यता म्युचुअल फण्डले लगानीको सक्रिय ब्यबस्थापन बिधि अंगालेको हुन्छ भने इटिएफले निस्क्रिय ब्यबस्थापन बिधि। सक्रिय लगानीमा मूल्य कम भएका र भोलि मूल्य बढ्न सक्ने कम्पनीहरुको गहिरो अध्ययन,अनुसन्धान र खोज गरेर लगानी गरिन्छ। यसमा खोज्ने, किन्ने, बेच्ने प्रक्रिया निरन्तर चलिरहन्छ। त्यसो गर्दा अनुसन्धान खर्च, ब्रोकर शुल्क, ब्यबस्थापन खर्च र अन्य खर्चहरुको लागत धेरै हुन्छ। निस्क्रिय लगानी बिधिमा बजारमा रहेका राम्रा र स्थापित कम्पनीहरुमा लगानी गरिन्छ र तिनलाई लामो समयसम्म राखिन्छ। तुलनात्मक रुपमा यसमा माथिका धेरै शुल्कहरु आकर्षित हुँदैनन् र कम ब्यबस्थापन खर्च लाग्छ । प्रक्रिया फरक भएपनि दुबैको उदेश्य एकै हो: लगानीकर्तालाई अधिकतम प्रतिफल दिनु।

इटिफ बन्द प्रकृतिको हुन्छ भने म्युचुअल फन्ड बन्द र खुला दुवै प्रकृतिको हुनसक्छ। इटिफ तुलनात्मक रुपमा ब्यबस्थापन गर्न सरल र सजिलो हुन्छ। यिनै कारण ईटिएफले  तुलनात्मक रुपमा धेरै प्रतिफल दिन सक्दछ। यसको लोकप्रियता बढ्दै जानुको कारण पनि यहि हो। इटिएफ खासगरी कुनै बस्तु वा मार्केट वा इन्डस्ट्रीलाई मापन गर्न बनाउने गरिन्छ।

अमेरिका युरोपमा हरेक स्टक मार्केट इन्डेक्स, स्टक सेक्टर, बन्ड, कमोडिटी (बस्तु) मा इटिएफ बनेका छन्। दुनियाभरमा लगभग ७ हजार इटिएफ उपलब्ध छन्। स्ट्यान्डर्ड एण्ड पुअर्स ५०० मार्केट इन्डेक्समा आधारित स्पाइडर इटिएफ विश्वमै सबैभन्दा धेरै पुँजीकरण (२५४ बिलियन अमेरिकी डलर) भएको इटिएफ हो ।

नेपालमा ईटिएफ: धेरैलाई आस्चर्य लाग्नसक्छ नेपालमा थुप्रै इटिएफहरु संचालनमा छन। बास्तबमा नेपालको पहिलो म्युचुयल फण्ड नै इटिएफ थियो। सुरुमा खुलामुखी म्युचुयल फण्डको रुपमा आएको "एनसीएम फर्स्ट म्युचुयल फण्ड" तरलता अभावको कारणले संचालन हुन् नसक्दा नेपाल स्टक एक्सचेन्जमा लिस्टिंग गरेर कारोबार हुने बनाईएको थियो।

नेपालमा हाल संचालनमा रहेका बन्दमुखी म्युचुयल फण्डहरु मात्र स्टक एक्सचेन्जमा लिस्टिंग भै इटिएफ हुन् सक्छन। खुलामुखी म्युचुयल फण्डहरु स्टक एक्सचेन्जमा लिस्टिंग हुन सक्दैनन र म्युचुयल फण्ड नै रहिरहन्छन। तर हाम्रो कानुनी (र ब्यबहारिक) परिभाषा म्युचुयल फण्ड बाहिर निस्कन सकेको छैन र यी फरकहरुलाई मिहिन तवरले विश्लेषण नगरी सबै फन्डलाइ म्युचुयल फण्ड नामाकरण गरिएको छ। त्यसो त बन्दमुखी र खुलामुखी प्रकृतिका म्युचुयल फण्ड कै परिभाषा पनि अन्तर्राष्ट्रिय अभ्यास र मान्यता अनुरुप छैन। अन्तर्राष्ट्रिय अभ्यासमा पुंजी निश्चित हुने बन्दमुखी म्युचुयल फण्ड र पुंजी निश्चित नभई थपघट हुने खुलामुखी म्युचुयल फण्ड हो। तर अन्तर्राष्ट्रिय अभ्यास र मान्यता बिपरित हाम्रो कानुनमा बन्दमुखीलाइ निश्चित अबधिमा समाप्त हुने र खुलामुखीलाइ अनिश्चित अवधिसम्म रहिरहने भनि ब्याख्या गरिएको छ।

नेपालका इटिएफले म्युचुयल फन्डका नराम्रा पक्षहरुलाई छाड्न सकेका छैनन। यिनको ब्यबस्थापन खर्च म्युचुयल फन्डको जस्तै उच्च छ। जब फन्डलाइ स्टक एक्सचेन्जमा लिस्टिंग गरेर कारोबार योग्य गराईन्छ, तब सो फन्डको ब्यबस्थापन खर्च त्यति महँगो हुन् सक्दैन। हाल यी फन्डहरुको ब्यबस्थापन लागत २.५% भन्दा माथि छ। जबकी अन्तर्राराष्ट्रिय अभ्यासमा यस्ता इटिएफको ब्यबस्थापन खर्च ०.५% को हाराहारीमा हुने गर्छ।

नेपालको लागि इटिएफ नौलो बिषय होइन। जानेर वा नजानेर बिगत २५ बर्षदेखि नेपालमा यसको प्रयोग हुँदै आएको छ। तर इटिएफलाई सहि अर्थमा परिभाषित गर्ने काम भएको छैन। हालसम्म इटिएफलाई म्युचुयल फन्ड नै भनेर परिभाषित गरिंदै आएको छ।

गोल्ड ईटिएफ बनाउने तरिका :  गोल्ड इटिएफ बनाउदाको धेरै प्रक्रिया म्युचुअल फन्ड बनाउदा जस्तै नै हो। तर यसमा केहि थप प्रक्रिया अपनाउन जरुरी हुन्छ। खासगरी यसमा इकाई (सेयर/स्टक) विभाजन, पुँजीको लगानी ब्यबस्थापन र ट्रस्टी र कस्टोडियनको ब्यबस्था महत्वपूर्ण छन्।

इकाई विभाजन: गोल्ड इटिएफको प्रमुख उदेश्य नेपालमा सुनको मूल्यलाई मापन (ट्रयाक) गर्नु भएकोले जुन हिसाबमा सुनको कारोबार हुन्छ त्यसै अनुसार इकाइहरु बनाउन जरुरी हुन्छ। नेपालमा सुन प्रति तोलाको मुल्यमा कारोबार हुने हुँदा सोहि अनुसार नै यो गोल्ड इटिएफको इकाईहरुको निर्माण/विभाजन गर्नुपर्छ ताकि यसको प्रत्येक इकाइले १ तोला सुनको मूल्य मापन गर्न मद्दत गरोस। यसको अर्थ यो होइन कि प्रत्येक इकाइको चुक्ता पुंजी १ तोला मूल्य बराबर नै हुनुपर्छ। बजारको आबश्यकता अनुसार इकाईको मूल्य धेरै वा थोरै गर्न सकिन्छ तर त्यसले बजारमा कायम सुनको मूल्यलाई प्रतिबिम्बित भने गरेकै हुनुपर्दछ।

लगानी नीतिमा यसको सम्पूर्ण पुंजी सुन खरिदमा लगाउने कि केहि भाग रकम निक्षेप वा अल्पकालीन बिक्रीयोग्य धितोपत्रमा पनि राख्ने भन्ने हो। यसो गर्नुको कारण यो इटिएफको बार्षिक ब्यबस्थापन खर्चको लागि रकमको ब्यबस्था कसरी गर्ने भन्ने हो।

ट्रस्टी र कस्टोडियन:  यो अर्को महत्वपूर्ण कार्य हो। गोल्ड इटिएफको लागी हाल ट्रस्टी र कस्टोडियनको ब्यबस्था नपुग हुन्छ। यसको लागि ट्रस्टी र कस्टोडियनको कार्य र जिम्मेवारीलाई बिस्तृत रुपमा थप व्याख्या र विश्लेषण गर्न जरुरी हुन्छ।

गोल्ड इटिएफको उपयोगिता: गोल्ड इटिएफको सबैभन्दा महत्वपूर्ण उपयोगिता भनेको लगानीमा विविधिकरण हो। सुनको  इक्विटी मार्केटसंगको सहसम्बन्ध नकारात्मक हुने हुँदा यसले इक्विटी लगानी (इन्भेस्टमेन्ट) लाइ हेज गर्छ। अझ स्टक मार्केटमा ठुलो गिरावट आएको बेलामा त सुनलाई सुरक्षित लगानी (सेफ हेभेन) नै मानिन्छ। बैदेशिक मुद्रा र मूल्यस्फृतिसंग सकारात्मक सहसम्बन्ध हुने हुँदा यसले बैदेशिक मुद्राको जोखिम र मूल्यस्फृतिलाइ पनि हेज गर्दछ।

इटिएफले होल्डरहरुलाई निरन्तर तरलता दिन्छ। सुन हराउने, नासिने, चोरिने, तस्करी हुने डर हुँदैन। भौतिक रुपमा बढी सुरक्षित हुन्छ। होल्डरहरुलाई भण्डारणको जरुरत पर्दैन र स्टोरेज लागतको बचत हुन्छ।

सुन एकमुष्ट रुपमा रहँदा सुनको महत्व र उपयोगिता बढेर जान्छ। सानो रकममा पनि सुनमा लगानी सम्भब हुन्छ। यसमा मार्जिन लोन कम झन्झटिलो हुन्छ। यसले सुनको गैरकानुनी कारोबार नियन्त्रण गर्न र अनाबश्यक आयातमा अंकुश लगाउन पनि मद्दत गर्दछ।

गोल्ड इटिएफको कारोबारमा सरकारलाई लाभकार प्राप्त हुन्छ। ब्रोकर र स्टक एक्सचेन्जलाई आम्दानीको अवसर र सर्बसाधारणलाइ रोजगारीको अवसर पनि पैदा हुन्छ। गोल्ड इटिएफको प्रयोगले पुँजीको परिचालनमा बृद्धि ल्याएर पुँजीबजारको विकास र विस्तारलाई सहयोग पुर्याउछ। यसले पुंजिबजारमा अरु नयाँ बित्तिय साधनको प्रवेशलाई प्रेरित गर्छ,जसले अरु बित्तिय साधनको प्रवेशलाई मार्ग प्रदान गर्छ। यसले थप इटिएफ, इन्डेक्स फन्ड, डेरीभेटिभस्, स्ट्रक्चर्ड प्रडक्टस् जस्ता बित्तिय साधनको बजार प्रवेशलाइ अरु सजिलो र सरल गराऊछ।

सुनमा जोखिम: सुन फाइदामुलक मात्र होइन, जोखिमयुक्त पनि छ। इटिएफको मूल्य प्रत्यक्ष रुपमा सुनको मूल्यसंग सम्बन्धित हुन्छ। सुनको मूल्यमा आउने उतार-चढाब प्रत्यक्ष रुपमा प्रतिबिम्बित हुने गरेर इटिएफ बनाइन्छ।

बिगतमा सुनको मूल्य धेरै तलमाथि भएको छ। विभिन्न कारक तत्वहरुले सुनको मूल्यलाई प्रभाब पार्ने र जोखिम पैदा गर्ने गर्छन। सुनको माग र आपूर्ति, अन्तर्राष्ट्रिय वा क्षेत्रिय राजनैतिक, आर्थिक र बित्तिय घटना, गतिबिधि र परिस्थितिहरु, मुद्रास्फृतिको दरबारे लगानीकर्ताको अपेक्षा, बिदेशी मुद्राको विनिमय दरमा हुने परिबर्तन, ब्याजदरमा आउने परिबर्तन, हेजफन्ड र कमोडिटी फन्डको लगानी र कारोबार गतिविधि, सर्बसाधारणको आयवृद्धि, देशको आर्थिक उत्पादन, केन्द्रिय बैंकको मौद्रिक नीति जस्ता अन्य आर्थिक गतिविधिहरुले सुनको मूल्यलाई प्रभाब पार्ने र जोखिम पैदा गर्ने गर्छन।

यी कारक तत्वहरुले सुनको मुल्यमा नकारात्मक प्रभाब पार्दा सुनको लगानीमा जोखिम पैदा हुन्छ। त्यस्तो जोखिमको सफल ब्यबस्थापनका लागी यी अवस्थालाइ नजिकबाट नियालि रहनु आबश्यक हुन्छ।

निष्कर्ष : सुनलाई विभिन्न लगानीयोग्य बित्तिय उपकरण बनाई बहु-उपयोगी बनाउन सकिन्छ। तिमध्ये सुन ब्यबस्थापनको सबैभन्दा लोकप्रिय, चुस्त र प्रभाबकारी माध्यम गोल्ड ईटिएफ हो।

हालसम्म नेपालमा सुनमा आधारित कुनै बित्तिय साधन उपलब्ध छैन। यसो हुनुमा एक कारण सुनको बहुउपयोगिता बारेको जानकारीमा कमि हो भने अर्को सुनमा आधारित बित्तिय साधन बनाएर समस्या समाधान गर्ने रचनात्मक शैलीको कमि हो।

नेपालमा गोल्ड इटिएफ बनाउन कुनै समस्या छैन। यसकै लागी भनेर अर्को नयाँ कानुन वा ब्यबस्थाको जरुरत पर्दैन। जसरी म्युचुयल फण्डको ब्यबस्थापन भैरहेको छ, त्यसरी नै यो कार्य पनि गर्न सकिन्छ। उपयोगिताको हिसाबले गोल्ड ईटिएफ पुंजी बजारको बिकासको लागि धेरै प्रभाबकारी हुनसक्छ। यसले पुँजीको परिचालनमा बृद्धि गर्ने, अरु नयाँ बित्तिय साधनको प्रवेशलाई प्रेरित गर्छ। चाँदी, तामा, नेप्से इन्डेक्स, बैङ्किङ्ग सेक्टर, फाइनान्सिएल सेक्टर, इन्सुरेन्स सेक्टर, कर्पोरेट बन्ड, सरकारी बन्ड लगायत विभिन्न सेक्टरमा पनि ईटिएफ ल्याउन बाटो खोल्छ। गोल्ड ईटिएफ पुंजीबजारको लागि गेमचेन्जर नै हुनसक्छ।

सरकारको बजेट र राष्ट्रबैंकको मौद्रिक नीतिमा उल्लेख गरिएको सुन ब्यबस्थापनका उदेश्य पुरा गर्न पनि गोल्ड ईटिएफ नै सबैभन्दा उपयुक्त उपाए हुनसक्छ।

पुँजीबजारको द्रुत बिकास र बिस्तार गर्ने हो भने कुनैपनि बस्तु वा सेवालाई कसरी बित्तिय साधन बनाउने र लगानीको अवसर पैदा गर्ने भन्ने सोंचको बिकास गर्न जरुरी छ। रचनात्मक सोंचका साथ नयाँ बित्तिय साधन ल्याउने भूमिका निजीक्षेत्रको हो भने त्यसलाई प्रोत्साहन र प्रबर्धन गर्ने जिम्मेवारी नियमन निकायको हो।नियमन निकायले नयाँ बित्तिय साधन बजारमा सहजै आउने बाताबरण बनाईदिने हो भने गोल्ड इटिएफ मात्र होइन अरु सयौं नयाँ बित्तिय साधनको बजार प्रवेश हुनेछ। तबमात्र हुनेछ बास्तबिक अर्थमा पुँजीबजारको बिकास र बिस्तार ।

मुक्ति अर्याल​//​Twitter : @isdbr​ // Email: aryal.mukti@gmail.com
Note: This one is unfinished article. 

Sunday, May 31, 2020

गोल्ड ईटिएफ : सुनको प्रभाबकारी लगानी ब्यबस्थापन


सुन बहुमुल्य र महत्वपूर्ण धातु हो। यो लगानीको एक प्रमुख साधन पनि हो। यस अर्थमा यो एक बस्तु हो। दुनियाभर यसको व्यापक ​​माग र ठुलो कारोबार छ। क्षय नहुने, ननासिने, खिया नलाग्ने भएकाले अन्य धातुभन्दा सुनको महत्व बढी छ। सुनको प्रमुख उपयोग गरगहनामा नै हुन्छ। केन्द्रिय बैंकहरु र निजिक्षेत्रले लगानीको उदेश्यले सुनको ब्यापक खरिद गर्ने गर्छन। टेक्नोलोजी, इलेक्ट्रोनिक्स, बायुयान, औषधि, दन्त चिकित्सा आदिमा पनि यसको प्रयोग हुन्छ।

सुनको उत्पादन, माग र आपूर्ति : सुनको प्रमुख उत्पादक देशहरुमा अस्ट्रेलिया, चाईना, रसिया छन् भने खरिदकर्ताहरुमा  अमेरिका/युरोप, आईएमएफ, चीन, भारत लगायतका देशहरु छन्। अमेरिकासंग सबैभन्दा धेरै ८१०० टनभन्दा ज्यादा सुन संचित छ। चीन र भारतसंग क्रमस: १९३६ टन र ६१८ टन सुन संचित छ। नेपालमा पनि हरेक बर्ष सुनको माग र कारोबार बढ्दै गएको छ।हाल नेपालसंग ६ टनभन्दा ज्यादा सुन भएको अनुमानित तथ्यांक छ। 
आपूर्ति: बर्ष २०१९ सम्ममा दुनियाभरमा करिब १ लाख ९२ हजार टन सुन उत्पादन भएको तथ्यांक छ।
बर्ष २०१९ मा मात्र ४८१२ टन सुनको आपूर्ति भएको थियो, जसमध्ये ३४८० टन (७२%) सुन खानीबाट उत्पादन भएको थियो भने १३१२ टन (२७%) पुन प्रशोधित (रिसाईकल्ड) भएर आएको थियो। बाँकी २१ टन (१ %) बिगतका फ्युचर्स कन्ट्रयाक्टको डेलिभरीका लागि उत्पादन भएको थियो। 
माग: बर्ष २०१९ मा सुनको कुल माग करिब ४३६८ टन जति थियो। जसमध्ये गहनामा करिब २११९ टन (४९%), लगानीमा १२७५ टन (२९%), केन्द्रिय बैंकहरुको खरिदमा ६४८ टन (१५%) र टेक्नोलोजीमा ३२७ टन (७%) सुन प्रयोग भएको थियो। 
सुनको मूल्य यसको माग र अपुर्तिले निर्धारण गर्दछ। माग र अपुर्तिलाइ अरु धेरै कारक तत्वहरुले निर्धारण गर्छन। गर-गहना र सामाजिक प्रतिष्ठाको लागि सुन खरिद गर्ने ब्यक्तिहरुलाई यसको मूल्य घटबढसंग त्यति सम्बन्ध हुँदैन जति लगानीकर्तालाई हुन्छ। । सुनको मूल्यमा आउने उतार चढाब लगानीकर्ताको लागि मुनाफा गर्ने महत्वपूर्ण अवसर हुन्छ।
बित्तिय संकटको बेला सुन लगानीको आकर्षक माध्यम हुन्छ। यो बेला माग बढेर जाने र मूल्य पनि बढ्ने गर्दछ। स्टक मार्केट बढेको बेला भने सुन कम आकर्षक हुन्छ, जसको कारण सुनको माग घट्ने र मूल्य पनि घट्ने (वा नबढ्ने) गर्दछ।
बिकसित देशहरुमा सुनलाई लगानीको साधनको रुपमा बिकसित गरेर बहु-उपयोगी बनाइएको छ। तर नेपालमा भने अझैपनि यसलाई गर-गहना र इज्जत/प्रतिष्ठाको बिषयमा सिमित राखिएको छ। ति देशमा झैँ नेपालमा पनि सुनलाई बहुउपयोगी बित्तिय साधनको रुपमा बिकसित गरेर लगानीयोग्य बनाउन जरुरी छ।
बजेट र  मौद्रिक नीतिमा सुन: आब २०७७-७८ को लागि हालैको बजेटले सुनमा आयात कर बढाउने बाहेक अरु उल्लेख्य ब्यबस्था केहि गरेको छैन।राष्ट्रबैंकको मौद्रिक नीति भने आउनै बाँकी छ।
तर आब २०७६-७७ को बजेट र त्यस लगत्तै राष्ट्रबैंकले ल्याएको मौद्रिक नीतिमा भने सुन ब्यबस्थापनबारे केहि नीतिगत ब्यबस्था उल्लेख थियो। ति नीतिगत ब्यबस्थामा सुनलाइ बाणिज्य बैंकहरुले निक्षेपको रुपमा स्वीकार गर्ने र सो मा केहि प्रतिशत ब्याज दिने ब्यबस्था थियो। यि ब्यबस्थाको उदेश्य स-साना साईजमा छरिएर रहेको सुनलाई एकमुष्ट रुपमा अर्थतन्त्रको मुलधारमा ल्याएर यसको उपयोगिता बढाउनु हो। यस सम्बन्धी बिस्तृत कार्यविधि नियमावली राष्ट्रबैंकबाट हालसम्म पनि नआएकाले यसमा कुनै प्रगति भएको छैन।
कार्यविधि नियमावली आएकै अवस्थामा पनि यो कार्यक्रम लागु हुनसक्ने सम्भाबना देखिदैन। यस्तो कार्यक्रम भारतमा र त्यो पनि सिमित रुपमा मात्र प्रचलनमा रहेको र त्यहाँ पनि यसले कुनै उल्लेखनीय सफलता हाँसिल गर्न सकेको छैन। उस्तै प्रकारको कार्यक्रम नेपालमा सफल हुने ठुलो आधार देखिदैन। सुनको यस्तो निक्षेपमा बैंकहरुले ब्याज आम्दानी हुने गरि कतै लागनी गर्नसक्ने अवस्था छैन। मूल्य घट्ने वा बढ्ने बाहेक सुनले कुनै नियमित आम्दानी पैदा नगर्ने हुँदा यस्तो निक्षेपमा बैंकहरुले ब्याज दिनसक्ने अवस्था रहदैन। सो नहुँदा सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न र सो मा ब्याज  प्रदान गर्न बैंकहरुलाई कुनै प्रोत्साहन नहुने हुँदा यो कार्यक्रम आर्थिक कारणले सफल हुने देखिदैन
तरलताको अभाब, कर्जा लिन समय लाग्ने, ब्यबस्थापकिय झन्झट र अन्य अव्यवहारिकता कारण पनि यो कार्यक्रम सफल हुन सजिलो छैन। सफल रुपमा सुनको यस्तो ब्यबस्थापन दुनियामा खासै कतै देखिएको छैन। सुनको सहि र चुस्त ब्यबस्थापनको लागि आधुनिक तरिका अपनाउनु आबश्यक देखिन्छ। त्यो भनेको सुनमा आधारित लगानीका विभिन्न बित्तिय साधनहरु बनाउनु हो।
सुनमा लगानी किन: सुनमा लगानी गर्ने धेरै कारण हुनसक्छन। ति मध्ये यी तीन प्रमुख छन् :
पहिलो हो सुनको मूल्यको स्टक मार्केटसंग ऋणात्मक सहसम्बन्ध। अर्थात स्टक मार्केट बढेको बेला सुनको मूल्य घट्ने र स्टक मार्केट घटेको बेला सुनको मूल्य बढ्ने गर्छ। अहिले पनि करोना भाइरसको कारण दुनियाभरका स्टक मार्केट घट्दा सुनको मूल्य बढेर उच्च भएको छ। २००७-०८ को बित्तिय संकटले ल्याएको मन्दीको समयमा पनि सुनको मूल्य एकाएक बढेर गएको थियो। त्यसपश्चात पनि स्टक मार्केटमा बित्तिय अनिश्चितता लम्बिएर २०११-१२ सम्म रहंदा सुनको मूल्य सबैभन्दा उच्च-तहमा पुगेको थियो। त्यसैले स्टक मार्केट घटेको बखतमा सुनले इक्विटी इन्भेस्टमेन्टको जोखिमलाई हेज गरेर नोक्सानी कम गराउछ।तसर्थ स्टक मार्केट घटेको बखत सुनमा लगानी गर्नु ज्यादा प्रभावकारी हुन्छ। 
दोश्रो हो मुद्रास्फृतिले पैदा गर्ने जोखिम न्यून गर्न। मुद्रास्फृति बढेर जाँदा सुनको पनि मूल्य बढ्ने हुँदा सुनले मुद्रास्फृतिको नकारात्मक असरलाई त्यहि अनुरुप प्रतिस्थापन गर्न सक्दछ। सुनले दिएको ऐतिहसिक प्रतिफललाई हेर्दा यो मुद्रास्फृतिको दरसंग लगभग बराबर जस्तै छ। त्यसैले मुद्रास्फृतिलाइ हेज गर्न सुनमा लगानी गर्नु उपयुक्त हुन्छ। 
तेश्रो हो बिदेशी मुद्राको विनिमय दरको जोखिमलाई न्यून गर्न। बिदेशी मुद्राको विनिमय दरमा आउने उतार चढाबबाट हुने जोखिमलाई न्यून गर्न पनि सुन सबैभन्दा उपयुक्त साधन हो। बैदेशिक मुद्राको विनिमय दर बढ्दा सुनको मूल्य (नेपाली मुद्रामा) पनि बढ्छ। सुनमा लगानी गरेको अवस्थामा यस्तो जोखिम न्यून (हेज) हुनजान्छ।
सुनको मूल्य अमेरिकी डलरमा निर्धारण हुने हुँदा सुन र अमेरिकी डलरको सम्बन्ध बुझ्नुपर्ने हुन्छ। सुन र मेरिकी डलरको सहसम्बन्ध ऋणात्मक रहँदै आएको छ। मेरिकी डलर कमजोर हुँदा सुनको मूल्य बढ्ने र मेरिकी डलर बलियो हुँदा सुनको मूल्य घट्ने गर्छ। यी दुवै अवस्थामा नेपालमा सुनको मूल्य बढ्ने गर्छ। मेरिकी डलर र सुनको मूल्य दुबै घट्दा मात्र नेपालमा सुनको मूल्य घट्दछ, जुन अत्यन्तै कम हुने गर्छ। यसको कारण अमेरिकी डलरको तुलनामा कमजोर नेपाली रुपया हो। नेपाली मुद्रामा सुनको यहि मूल्यबृद्धिले अमेरिकी डलर लगायतका बिदेशी मुद्राको विनिमय दरमा आउने उतार चढाबलाई हेज गर्दछ। 
यी तिन अवस्थाले पैदा गर्ने जोखिमलाई ब्यबस्थापन गर्न सुन सबैभन्दा उपयुक्त साधन हो। यस अलावा बहुमुल्य धातु भएकाले सुनलाई तुलनात्मक रुपमा लगानीको सुरक्षित साधन पनि मानिन्छ। तर यसको अर्थ सुनमा गरिने लगानी जोखिम रहित हुन्छ भन्ने होइन। 
सुनमा लगानी गर्नु पुर्ब यो के हो, के होइन, यसले के गर्छ, के गर्दैन, के दिन्छ, के दिंदैन, कस्तो प्रकारको सम्पत्ति हो भन्ने बारे प्रस्ट हुन् जरुरी छ। किनभने सुनको आफ्नै कुनै आम्दानी हुँदैन, यसले कुनै लाभांस दिंदैन र यसले केहि वितरण गर्दैन। मूल्यमा आउने उतार चढाब नै यसको प्रतिफल हो। यसअर्थमा सुन सट्टेबाजीको साधन हो। यसको बाबजुद यो विविधिकरणको एक महत्वपूर्ण साधन हो। बित्तिय संकटको बेला धेरैले सुनलाई नै सुरक्षित लगानीको रुपमा खोज्ने गर्छन। यसले गर्दा सुनको महत्व झनै बढेर गएको छ।
कसरी गर्ने सुनमा लगानी: बिकसित मार्केटमा सुनमा लगानी गर्ने धेरै तरिका छन्। गर-गहना, सिक्का वा गोल्डबारको खरिद गरेर भौतिक रुपमा सुनमा लगानी गर्ने तरिका विश्वब्यापी नै हो, जुन नेपालमा पनि हुँदै आएको छ। र यो लगानीको उत्कृष्ट तरिका भने होइन।बिकसित मार्केटमा सुनमा आधारित विभिन्न बित्तिय साधनहरु बनाएर सुनको लगानी र ब्यबस्थापन गर्ने गरिन्छ। जस्तै: सुन उत्पादन गर्ने कम्पनीको स्टक, गोल्ड अप्सनस्, गोल्ड फ्युचर्स, गोल्ड म्युचुयल फन्ड, गोल्ड ईटिएफ आदि।
सुन उत्पादन गर्ने कम्पनीहरुको स्टकमा लगानी भने नेपालमा सम्भब छैन। नेपालमा त्यस्ता कम्पनीहरु नभएको, त्यस्ता बिदेशी कम्पनीहरु नेपालमा लिस्टिंग हुन् नसक्ने र बिदेशमा कारोबार हुने त्यस्ता कम्पनीमा नेपाली लगानीकर्ताले लगानी गर्न नसक्ने हुँदा सुन उत्पादन गर्ने कम्पनीहरुमा लगानी हुनसक्ने अवस्था छैन। नेपालमा डेरीभेटिभ मार्केट नभएकाले गोल्ड अप्सनस् र फ्युचर्समा पनि लगानी हुनसक्ने अवस्था छैन।
गोल्ड म्युचुयल फन्ड र गोल्ड ईटिएफ जस्ता बित्तिय साधन (फन्ड) हरु पनि नेपालमा उपलब्ध छैनन। तर यी बित्तिय साधन सजिलै सुरु गर्न सकिन्छ। सामान्य रुपमा हेर्दा उस्तै लागेपनि लागत, ब्यबस्थापन, लिस्टिंग, कारोबार, तरलता, प्रभाबकरिताका हिसाबले यी दुई साधनहरु बीच आधारभूत भिन्नता छ। यी बिबिध पक्षहरुको समग्र प्रभाब सुनमा हुने लगानीको प्रतिफलमा प्रतिबिम्बित हुने हुँदा लगानीकर्ताको लागि गोल्ड म्युचुयल फन्ड भन्दा गोल्ड ईटिएफ बढी उपयुक्त र फाइदाजनक हुन्छ।
सुनमा आधारित म्युचुयल फन्ड पनि अभ्यासमा छ तर त्यति लोकप्रिय हुन् सकेको छैन। लोकप्रियताका हिसाबले सुनमा लगानी गर्ने माध्यमको रुपमा गोल्ड ईटिएफ नै बढी प्रचलित छ। पहिलो गोल्ड ईटिएफ "स्पाईडर गोल्ड ट्रस्ट" २००४ मा सुरु भएको थियो। यो नै दुनियाँको सबैभन्दा ठुलो गोल्ड फन्ड हो, जसको बजार पुँजीकारण ६२ बिलियन अमेरिकी डलर छ। अमेरिकामा मात्रै ३ दर्जन बढी गोल्ड ईटिएफ संचालनमा छन्। 
यस आलेखमा ईटिएफ र अझ खासगरि गोल्ड ईटिएफ के हो, सुनलाई कसरी बहु-उपयोगि बित्तिय साधनको रुपमा बिकास गर्ने र यसबाट नेपाली पुँजीबजार र लगानीकर्तालाई कसरी बढी लाभ पुर्याउने भन्ने बारे व्याख्या र विश्लेषण हुनेछ।
के हो ईटिएफ: ईटिएफको पुरा अर्थ एक्सचेन्ज ट्रेडेड फन्ड (Exchange Traded Fund) हो। जब कुनै फन्डको कारोबार फन्ड ब्यबस्थापककोमा नभएर स्टक एक्सचेन्जमा हुन्छ तब त्यो इटिएफ (एक्सचेन्ज ट्रेडेड फन्ड) हुनजान्छ। अर्थात कुनै म्युचुयल फण्डलाइ स्टक एक्सचेन्जमा लिस्टिंग गरेर कारोबार योग्य गराइन्छ भने त्यो इटिएफ हुन्छ।
ईटिएफ फन्ड ब्यबस्थापनका धेरै तरिका मध्येको एक लोकप्रिय तरिका हो। म्युचुअल फन्ड, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटिएफ), इन्डेक्स फन्ड, हेज फन्ड, फन्डस् अफ फन्डस्, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी आदि फन्ड ब्यबस्थापनका बिबिध तरिका हुन्। यीमध्ये म्युचुअल फन्ड सबैभन्दा पुरानो र धेरै प्रचलित तरिका हो। इटिएफ तुलानात्मक रुपमा नयाँ बित्तिय अबधारणा हो।
इटिफको अबधारणा म्युचुयल फन्डको बिकल्पको रुपमा आएको हो। त्यसकारण यसलाई म्युचुयल फन्डसंग दाँजेर हेर्दा यो के हो भन्ने बढी प्रस्ट हुन्छ। आधारभुत रुपमा यी दुइ बीच धेरै समानता र केहि तात्विक भिन्नता छ। तिनै भिन्नताले इटिफलाई म्युचुयल फन्डसंग फरक देखाउछ। 
इटिफ र म्युचुअल फन्डको प्रमुख भिन्नता फन्ड ब्यबस्थापनको बिधि हो। सामान्यता म्युचुअल फण्डले लगानीको सक्रिय ब्यबस्थापन बिधि अंगालेको हुन्छ भने इटिएफले निस्क्रिय ब्यबस्थापन बिधिलाइ। सक्रिय लगानीमा मूल्य कम भएका र भोलि मूल्य बढ्न सक्ने कम्पनीहरुको गहिरो अध्ययन,अनुसन्धान र खोज गरेर लगानी गरिन्छ। यसमा खोज्ने, किन्ने, बेच्ने प्रक्रिया निरन्तर चलिरहन्छ। त्यसो गर्दा अनुसन्धान खर्च, ब्रोकर शुल्क, ब्यबस्थापन खर्च र अन्य खर्चहरुको लागत धेरै हुन्छ। निस्क्रिय लगानी बिधिमा बजारमा रहेका राम्रा र स्थापित कम्पनीहरुमा लगानी गरिन्छ र तिनलाई लामो समयसम्म राखिन्छ। तुलनात्मक रुपमा यसमा माथिका धेरै शुल्कहरु आकर्षित हुँदैनन् र धेरै कम ब्यबस्थापन खर्च लाग्छ प्रक्रिया फरक भएपनि दुबैको उदेश्य एकै हो: लगानीकर्तालाई अधिकतम प्रतिफल दिनु।
स्टक र म्युचुयल फन्डका राम्रा पक्षलाई समेटेर इटिफ बनाईन्छ। त्यसैले इटिफलाइ स्टक एक्सचेन्जमा लिस्टिंग गरेर सेयर झैँ कारोबार योग्य गराईन्छ भने म्युचुअल फन्डको कारोबार सो फन्डको ब्यबस्थापन कम्पनीमा मात्र हुन्छ।
इटिफ बन्द प्रकृतिको हुन्छ भने म्युचुअल फन्ड बन्द र खुला दुवै प्रकृतिको हुनसक्छ। इटिफ तुलनात्मक रुपमा ब्यबस्थापन गर्न सरल र सजिलो हुन्छ। यिनै कारण ईटिएफले  तुलनात्मक रुपमा धेरै प्रतिफल दिन सक्दछ। यसको लोकप्रियता बढ्दै जानुको कारण पनि यहि हो। 
अमेरिका युरोपमा हरेक स्टक मार्केट इन्डेक्स, स्टक सेक्टर, बन्ड, कमोडिटी (बस्तु) मा इटिएफ बनेका छन्। दुनियाभरमा लगभग ७ हजार इटिएफ उपलब्ध छन्। स्ट्यान्डर्ड एण्ड पुअर्स ५०० मार्केट इन्डेक्समा आधारित स्पाइडर (बास्तबिक नाम एसपिडिआर भएपनि उच्चारण स्पाइडर भनेर गरिन्छ) नामको इटिएफ विश्वमै सबैभन्दा धेरै पुँजीकरण भएको इटिएफ हो, जसको पुँजीकरण रकम करिब २५४ बिलियन अमेरिकी डलर छ।
इटिएफ खासगरी कुनै बस्तु वा मार्केट वा इन्डस्ट्रीलाई मापन गर्न बनाउने गरिन्छ। नेपालमा पनि सुन, चाँदी, नेप्से इन्डेक्स, बैङ्किङ्ग सेक्टर, फाइनान्सिएल सेक्टर, इन्सुरेन्स सेक्टर, कर्पोरेट बन्ड, सरकारी बन्ड जस्ता सेक्टरको मूल्य घटबढलाइ मापन गर्ने गरि इटिएफ बनाउन सकिन्छ।
नेपालमा ईटिएफके नेपालमा इटिएफ प्रयोगमा छन्? धेरैलाई आस्चर्य लाग्नसक्छ कि नेपालमा थुप्रै इटिएफहरु संचालनमा छन। बास्तबमा नेपालको पहिलो म्युचुयल फण्ड नै इटिएफ थियो। सुरुमा खुलामुखी म्युचुयल फण्डको रुपमा आएको "एनआईडिसी फर्स्ट म्युचुयल फण्ड" तरलता अभावको कारणले संचालन हुन् नसक्दा नेपाल स्टक एक्सचेन्जमा लिस्टिंग गरेर कारोबार हुने बनाईएको थियो।
नेपालमा हाल संचालनमा रहेका बन्दमुखी प्रकृतिका म्युचुयल फण्डहरु मात्र स्टक एक्सचेन्जमा लिस्टिंग भै इटिएफ हुन् सक्छन। खुलामुखी प्रकृतिका म्युचुयल फण्डहरु स्टक एक्सचेन्जमा लिस्टिंग हुन सक्दैनन र म्युचुयल फण्ड नै रहिरहन्छन। तर हाम्रो कानुनी (र ब्यबहारिक) परिभाषा म्युचुयल फण्ड बाहिर निस्कन सकेको छैन र यी फरकहरुलाई मिहिन तवरले विश्लेषण नगरी सबै किसिमका फन्डलाइ म्युचुयल फण्ड भन्ने गरिएको छ। त्यसो त बन्दमुखी र खुलामुखी प्रकृतिका म्युचुयल फण्ड कै परिभाषा पनि अन्तर्राराष्ट्रिय अभ्यास र मान्यता भन्दा फरक छ।
नेपालका इटिएफले म्युचुयल फन्डका नराम्रा पक्षहरुलाई छाड्न सकेका छैनन। यिनको ब्यबस्थापन खर्च म्युचुयल फन्डको जस्तै उच्च छ। जब फन्डलाइ स्टक एक्सचेन्जमा लिस्टिंग गरेर कारोबार योग्य गराईन्छ, तब सो फन्डको ब्यबस्थापन खर्च त्यति महँगो हुन् सक्दैन। हाल यी फन्डहरुको ब्यबस्थापन लागत २.५% भन्दा माथि छ। जबकी अन्तर्राराष्ट्रिय अभ्यासमा यस्ता इटिएफको ब्यबस्थापन खर्च ०.५% को हाराहारीमा हुने गर्छ।
नेपालको लागि इटिएफ नौलो बिषय होइनजानेर होस् वा नजानेर बिगत २५ बर्षदेखि नेपालमा यसको प्रयोग हुँदै आएको छ। तर इटिएफलाई सहि अर्थमा परिभाषित गर्ने काम भएको छैन। हालसम्म इटिएफलाई म्युचुयल फन्ड नै भनेर परिभाषित गरिंदै आएको छ।
सरी बनाउने गोल्ड ईटिएफ: गोल्ड इटिएफ बनाउदाको धेरै प्रक्रिया म्युचुअल फन्ड बनाउदा जस्तै नै हो। तर यसमा केहि थप प्रक्रिया वा बिधी अपनाउन जरुरी हुन्छ। यसमा खासगरी दुई कार्यलाई ख्याल गर्नुपर्छ: पहिलो सुनमा कति पुँजी लगानी गर्ने र अर्को गोल्ड इटिएफको कुल पुँजीलाई कसरी स-साना इकाई (सेयर/स्टक) मा विभाजन गर्ने। यस अलावा अलावा ट्रस्टी र कस्टोडियनको ब्यबस्था पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
लगानी नीति: सुनमा आधारित फन्ड भएकाले यसको लगानी नीति सजिलो हुन्छ। म्युचुअल फण्डको जस्तो बारम्बार किनबेच नहुने हुँदा यसमा कुनै जटिल लगानी नीतिको आबश्यकता पर्दैन तर केहि बिचार भने पक्कै पुर्याउनु पर्दछ। त्यो भनेको यसको सम्पूर्ण पुंजी सुन खरिदमा लगाउने कि केहि भाग रकम निक्षेप वा अल्पकालीन बिक्रीयोग्य धितोपत्रमा पनि राख्ने भन्ने हो। यसो गर्नुको कारण यो इटिएफको बार्षिक ब्यबस्थापन खर्चको लागि रकमको ब्यबस्था कसरी गर्ने भन्ने हो। दुवै तरिका अपनाउन सकिन्छ। सबै पूंजी सुनमा लगानी गर्दा बार्षिक ब्यबस्थापन खर्चको लागि हरेक बर्ष लगानी गरिएको सुनको केहि भाग बिक्री गर्नुपर्ने हुन्छ। केहि प्रतिशत रकम छुट्टयाएर निक्षेप वा अल्पकालीन बिक्रीयोग्य धितोपत्रमा लगानी गर्दा सो को आम्दानीले ब्यबस्थापन खर्च थेग्ने हुन्छ।
इकाई विभाजन: गोल्ड इटिएफको प्रमुख उदेश्य नेपालमा सुनको मूल्यलाई मापन (ट्रयाक) गर्नु भएकोले जुन हिसाब (वा मात्रा)​ ​मा नेपालमा सुनको कारोबार हुन्छ त्यसै अनुसार इकाइहरु बनाउनु प्रभाबकारी हुन्छ।नेपालमा सुन प्रति तोलाको मुल्यमा कारोबार हुने हुँदा सोहि अनुसार नै यो गोल्ड इटिएफको इकाईहरुको निर्माण/विभाजन गर्नुपर्छ ताकि यसको प्रत्येक इकाइले १ तोला सुनको मूल्य मापन गर्न मद्दत गरोस।
जस्तै मानौं यो गोल्ड इटिएफको कुल पुँजी रु. १ अर्ब ६० करोड छ। आज सुनको मूल्य रु. ८० हजार प्रति तोला छ भने यसका प्रत्येक इकाइलाइ रु. ८० हजार वा रु. ८ हजार वा रु. ८ सय वा रु. ८० हुने गरेर विभाजन गर्न सकिन्छ। यदि प्रति इकाइ चुक्ता मूल्य रु. ८ सय हुने गरेर इकाई विभाजन गर्ने हो भने २० लाख इकाई सेयरजारी गर्नुपर्ने हुन्छ। बजारको आबश्यकता अनुसार इकाईको मूल्य धेरै वा थोरै गर्न सकिन्छ तर त्यसले बजारमा कायम सुनको मूल्यलाई प्रतिबिम्बित भने गरेकै हुनुपर्दछ।
त्यस बाहेक अर्को महत्वपूर्ण कार्य भनेको ट्रस्टी र कस्टोडियनको ब्यबस्था हो। गोल्ड इटिएफको लागी हाल ट्रस्टी र कस्टोडियनको ब्यबस्था नपुग हुन्छ। यसको लागि ट्रस्टी र कस्टोडियनको कार्य र जिम्मेवारीलाई बिस्तृत रुपमा थप व्याख्या र विश्लेषण गर्न जरुरी ​हुन्छ
गोल्ड इटिएफको उपयोगिता: गोल्ड इटिएफको सबैभन्दा महत्वपूर्ण उपयोगिता भनेको लगानीमा विविधिकरण हो। सुनको ​ ​इक्विटी मार्केटसंगको सहसम्बन्ध नकारात्मक हुने हुँदा यसले इक्विटी लगानी (इन्भेस्टमेन्ट) लाइ हेज गर्छ। अझ स्टक मार्केटमा ठुलो गिरावट आएको बेलामा त सुनलाई सुरक्षित लगानी (सेफ हेभेन) नै मानिन्छ। बैदेशिक मुद्रा र मूल्यस्फृतिसंग सकारात्मक सहसम्बन्ध हुने हुँदा यसले बैदेशिक मुद्राको जोखिम र मूल्यस्फृतिलाइ पनि हेज गर्दछ। 
यसले होल्डरहरुलाई निरन्तर र तुरुन्त तरलता दिन्छ, जुन सुनको भौतिक खरिदमा हुँदैन। भौतिक रुपमा भन्दा गोल्ड इटिएफ खरिद गर्दा सुनको बढी सुरक्षा हुन्छ। यसमा सुन हराउने, नासिने, चोरिने, तस्करी हुने डर हुँदैन। ​यसमा भण्डारणको जरुरत पर्दैन र स्टोरेज लागतको बचत हुन्छ।
ससानो मात्रामा छरिएर रहंदा भन्दा एकमुष्ट रुपमा रहँदा सुनको महत्व र उपयोगिता बढेर जान्छ। इटिएफको माध्यमबाट स-सानो रकममा पनि सुनमा लगानी सम्भब हुन्छ। इटिएफमा मार्जिन लोन पनि लिन सकिन्छ। ​यसले सुनको गैरकानुनी कारोबार नियन्त्रण गर्न र अनाबश्यक आयातमा अंकुश लगाउन पनि मद्दत गर्दछ।
गोल्ड इटिएफको कारोबारमा सरकारलाई लाभकार प्राप्त हुन्छ। ब्रोकर र स्टक एक्सचेन्जलाई आम्दानीको अवसर उपलब्ध हुन्छ। केहि रोजगारीको अवसर पनि पैदा हुन्छ।
गोल्ड इटिएफको प्रयोगले पुँजीको परिचालनमा बृद्धि ल्याएर पुँजीबजारको विकास र विस्तारलाई सहयोग पुर्याउछ। यसले पुंजिबजारमा अरु नयाँ बित्तिय साधनको प्रवेशलाई प्रेरित गर्छ,जसले अरु बित्तिय साधनको प्रवेशलाई मार्ग प्रदान गर्छ। यसले थप इटिएफ, इन्डेक्स फन्ड, डेरीभेटिभस्, स्ट्रक्चर्ड प्रडक्टस् जस्ता बित्तिय साधनको बजार प्रवेशलाइ अरु सजिलो र सरल गराऊछ।
सुन लगानीमा जोखिम: गोल्ड इटिफ वा भौतिक रुपमा जसरी लगानी गरेपनि सुन फाइदामुलक मात्र होइन, जोखिमयुक्त पनि हुन्छ। सुनको मूल्यमा आउने उतार-चढाब प्रत्यक्ष रुपमा प्रतिबिम्बित हुने गरेर इटिएफ बनाइन्छ। त्यसैले इटिएफको मूल्य प्रत्यक्ष रुपमा सुनको मूल्यसंग सम्बन्धित हुन्छ।
बिगतमा सुनको मूल्य धेरै तलमाथि भएको छ। विभिन्न कारक तत्वहरुले सुनको मूल्यलाई प्रभाब पार्ने र जोखिम पैदा गर्ने गर्छन । यी केहि त्यस्ता कारक तत्व हुन् : (१) सुनको अन्तर्राष्ट्रिय माग र आपूर्ति, (२) अस्वाभाविक रुपमा घट्ने अन्तर्राष्ट्रिय वा क्षेत्रिय राजनैतिक, आर्थिक र बित्तिय घटना, गतिबिधि र परिस्थितिहरु, (३) मुद्रास्फृतिको दरबारे लगानीकर्ताको अपेक्षा, (४) बिदेशी मुद्राको विनिमय दरमा हुने परिबर्तनहरु, (५) ब्याजदरमा आउने परिबर्तन, (६) हेजफन्ड र कमोडिटी फन्डको लगानी र कारोबार गतिविधि, (७) सर्बसाधारणको आयवृद्धि, देशको आर्थिक उत्पादन, केन्द्रिय बैंकको मौद्रिक नीति जस्ता अन्य आर्थिक गतिविधिहरु।
यी कारक तत्वहरुले सुनको मुल्यमा नकारात्मक प्रभाब पार्दा सुनको लगानीमा जोखिम पैदा हुन्छ। त्यस्तो जोखिमको सफल ब्यबस्थापन गर्न यी अवस्थालाइ नजिकबाट नियालिरहनु बान्छनिय हुन्छ।
निष्कर्ष : सुनलाई विभिन्न लगानीयोग्य बित्तिय उपकरण बनाई बहु-उपयोगी बनाउन सकिन्छ। तिमध्ये सबैभन्दा लोकप्रिय बित्तिय साधन गोल्ड ईटिएफ हो। सुन ब्यबस्थापनको सबैभन्दा चुस्त र प्रभाबकारी माध्यम पनि गोल्ड ईटिएफ नै हो।
हालसम्म नेपालमा सुनमा आधारित कुनै बित्तिय साधन उपलब्ध छैन। यसो हुनुमा एक कारण सुनको बहुउपयोगिता बारेको जानकारीमा कमि हो भने अर्को कारण सुनमा आधारित बित्तिय साधन बनाएर समस्या समाधान गर्ने रचनात्मक शैलीको कमि हो।
नेपालमा गोल्ड इटिएफ बनाउन कुनै समस्या छैन। यसकै लागि भनेर नयाँ कानुन वा ब्यबस्थाको जरुरत पर्दैन। जसरी म्युचुयल फण्डको ब्यबस्थापन भैरहेको छ, त्यसरी नै गोल्ड इटिएफलाइ पनि ब्यबस्थापन गर्न सकिन्छ।
उपयोगिताको हिसाबले गोल्ड ईटिएफ पुंजी बजारको बिकासको लागि धेरै प्रभाबकारी हुन्छ। यसले पुँजीको परिचालनमा बृद्धि गर्छ। पुंजिबजारमा अरु नयाँ बित्तिय साधनको प्रवेशलाई प्रेरित गर्छ। चाँदी, तामा जस्ता अन्य धातु र विभिन्न सेक्टरमा पनि ईटिएफ ल्याउन बाटो खोल्छ। ईटिएफ पुंजीबजारको लागि गेमचेन्जर नै हुनसक्छ।
२०७६/७७ को बजेट र राष्ट्रबैंकको मौद्रिक नीतिमा उल्लेख गरिएको सुन ब्यबस्थापनका उदेश्य पुरा गर्न पनि गोल्ड ईटिएफ सबैभन्दा उपयुक्त माध्यम हो।
पुँजीबजारको द्रुत बिकास र बिस्तार गर्ने हो भने कुनैपनि बस्तु वा सेवालाई कसरी बित्तिय साधन बनाउने र लगानीको अवसर पैदा गर्ने भन्ने सोंचको बिकास गर्न जरुरी छ। निजीक्षेत्रले रचनात्मक सोंचका साथ नयाँ बित्तिय साधन लिएर आउंछ भने त्यसलाई प्रोत्साहन र प्रबर्धन गर्न जरुरी छ। नियमन निकायले नयाँ बित्तिय साधन बजारमा सहजै आउने बाताबरण बनाईदिने हो भने गोल्ड इटिएफ मात्र होइन, अरु सयौं नयाँ बित्तिय साधनको बजार प्रवेश हुनेछ। तब मात्र हुनेछ बास्तबिक अर्थमा पुँजीबजारको बिकास र बिस्तार  
मुक्ति अर्याल
Twitter : @isdbr