Tuesday, March 3, 2020

बुक बिल्डिंग: प्राथमिक निष्कासनमा धितोपत्रको मूल्य निर्धारण बिधी

सन् २००२ मा महाराजगंज नजिकै रहेको डाबर नेपालको सम्पर्क कार्यालयमा डाबर इन्डिया र डाबर नेपालका अधिकारीहरुसंग मिटिंगको आयोजना गरिएको थियो। बिषय थियो: डाबर नेपालको सेयर प्रिमियममा सार्बजनिक निष्काशन गर्ने। त्यसबेलाको सबैभन्दा ठुलो निष्काशन बिक्री प्रबन्धक (इन्भेस्टमेन्ट बैंक) को रुपमा यो बिषयमा छलफल र सल्लाहका लागि डाबरले हामीलाई आमन्त्रण गरेको थियो।

मिटिंगमा डाबर नेपालका प्रमुख अधिकारीहरुको अलावा डाबर इन्डियाका चेयरम्यान मिस्टर बर्मनको पनि उपस्थिति थियो। हामीलाई डाबरको सेयर प्रिमियममा निष्कासन गर्दा कस्तो बित्तिय अवस्था हुन्छ भनेर एजेन्डा प्रस्तुत गर्न अनुरोध गरिएको थियो। मेरो संस्थाको इन्भेस्टमेन्ट बैंकिंग प्रमुखको हैसियतमा मैले तीन प्रकारका बित्तिय प्रक्षेपण (फाइनान्सियल प्रोजेक्सन) प्रस्तुत गरे। तीन फरक दरका प्रिमियममा सेयर निष्कासन गर्दा डाबर नेपालको बित्तिय अवस्था र स्वामित्वमा कस्तो परिबर्तन आउछ भनेर विश्लेषण थियो।

प्रक्षेपणको प्रस्तुतिबाट डाबरका प्रतिनिधिहरु प्रभावित भए र साथै हामीलाई यो बिषय धितोपत्र बोर्डसंग राख्दिन पनि आग्रह गरे। "प्रिमियममा सेयर जारी गर्न पाएको खण्डमा डाबर नेपाल सार्बजनिक निष्काशनमा जान इच्छुक" भन्ने न्युनतम शर्तमा बोर्डसंग छलफल गर्यौं। तर यो बिषय त्यस समयमा अघि बढ्न सकेन। कारण थियो प्रिमियममा सेयर जारी गर्ने बिषय बोर्डको लागी कल्पना बाहिरको सोंच थियो। त्यसो त बोर्ड पनि डाबर नेपाल पब्लिकमा जाओस नै भन्ने चाहन्थ्यो तर अंकित मुल्यमा मात्र। यहि कारण डाबर नेपालले हालसम्म पनि आफ्नो सेयरको सार्बजनिक निष्कासन गरेको छैन।

आज परिस्थिति बदलिएको छ। धितोपत्र बोर्डले माघको अन्तिम साता धितोपत्र सम्बन्धी चार नियामावाली २०७६ फाल्गुन १ देखि लागु हुने गरि संसोधन गरेको छ। यसमा "धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७४" पनि छ, जसमा धितोपत्रको प्रारम्भिक सार्बजनिक निष्काशनमा "बुक बिल्डिंग बिधी" प्रयोगमा ल्याउने ब्यबस्था गरिएकोले प्रिमियममा सेयर निष्कासन गर्न सकिने भएको हो।

भारतमा सेक्युरिटिज बोर्ड अफ इन्डिया (सेबी) ले सन् १९९५ देखि नै यो विधि प्रयोग गरिआएको छ। नेपालमा भने सुरुदेखि नै पराम्परागत रुपमा अंकित मुल्यमा धितोपत्रको सार्बजनिक निष्काशन हुँदै आएको छ। अब बुक बिल्डिंग बिधीलाइ निष्कासन प्रक्रियामा भित्र्याए पश्चात यो कार्यमा गुणात्मक फड्को मार्ने अपेक्षा गर्न सकिन्छ।

बिगत २६-२७ बर्षमा नेपालमा थुप्रै धितोपत्रको सार्बजनिक निष्कासन भैसकेकोले सम्बन्धित धेरै पक्षहरुलाइ सार्बजनिक निष्कासनबारे बताई राख्न जरुरी भएन। तर "बुक बिल्डिंग" बिधी भने धितोपत्र निष्कासनमा नयाँ अभ्यास भएकाले यसबारे ब्यापक छलफल गर्न र जानकारी दिन जरुरी देखिन्छ।
के हो बुक बिल्डिंग : बुक बिल्डिंग धितोपत्रको निष्काशन गर्दा अपनाइने बिधि हो। यो विधिको प्रयोग गरेर धितोपत्रको निष्काशन मूल्य पत्ता लगाईन्छ। यसमा निष्कासन मुल्यको दायरा दिइन्छ र संभावित लगानीकर्ताबाट उनीहरुले खरिद गर्न चाहेको मूल्य र सख्यामा सेयरको विवरण माग गरिन्छ। बुक बिल्डिंगलाइ मूल्य निर्धारणको एक चुस्त तरिका मानिन्छ। अन्तर्राष्ट्रिय अभ्यासमा प्राय यही बिधिद्वारा धितोपत्रको निष्काशन मुल्य तय गर्ने गरिन्छ।

बुक बिल्डिंग विधिको प्रयोगमा धितोपत्रको मूल्यांकन महत्वपूर्ण हुन्छ। यसको कारण हो अन्डरराइटिंग। बुक बिल्डिंग विधिबाट निष्कासन गरिने धितोपत्रमा अन्डरराइटिंग आबश्यक हुन्छ र अन्डरराइटिंग अंकित मुल्यमा नभै निष्काशन मुल्यमा गर्नुपर्ने हुँदा धितोपत्रको मुल्यांकन सहि र चुस्त हुनु आबश्यक छ। निष्काशन पूर्ण बिक्री नभए बाँकी सेयर अन्डरराइटरहरुले खरिद गर्नुपर्ने जोखिमका कारण बुक बिल्डिंग अन्तर्गत अन्डरराइटिंग शुल्क बढेर जान्छ। हालको अभ्यासमा अन्डरराइटिंग शुल्क १-२% रही आएकोमा अब बुक बिल्डिंग बिधि अन्तर्गत ६-७% सम्म पुग्न सक्नेछ।बुक बिल्डिंग प्रक्रिया:

१) लिड अन्डरराइटरको नियुक्ति : बुक बिल्डिंग प्रक्रियाको पहिलो कार्य हो "लिड अन्डरराइटर" (हाम्रो अभ्यासमा निष्काशन प्रबन्धक) को नियुक्ति। निष्कासन गरिने धितोपत्रको निष्काशन मूल्य पत्ता लगाउनका लागि कुनै इन्भेस्टमेन्ट बैंकलाइ लिड अन्डरराइटरको रुपमा छनोट गर्नु हो । उसले निष्काशन गर्दा पुरा गर्नुपर्ने हरेक कानुनी प्रक्रिया अपनाउने र पुरा गर्ने गर्दछ। उसले नै निष्काशन कम्पनीलाई विवरणपत्र लगायतका अन्य कानुनी कागजात बनाउन सल्लाह र सहयोग पनि दिन्छ। निष्कासन गरिने सेयर (धितोपत्र) को बित्तिय मुल्यांकन गर्ने, निष्काशन रकमको आकार र मुल्यको दयारा पनि निष्काशन कम्पनीलाई प्रस्ताब गर्छ। निष्काशनमा मुल्यको दायरामा रहेको न्युनतम कबोल गर्न सकिने मूल्यलाई फ्लोर प्राइस र अधिकतम मूल्यलाइ सिलिङ्ग प्राइस भनिन्छ।

२) बोल-कबोल प्रक्रिया : बुक बिल्डिंगमा दोश्रो कार्य लिड अन्डरराइटरले संभावित लगानीकर्ताहरुबाट उनीहरुले खरिद गर्न चाहेको सेयर शंख्या र तिर्न चाहेको मूल्यको विवरण संकलन गर्नु हो। संभावित लगानीकर्ताले निष्काशन मुल्यको दायरा भित्र रहेर मात्र सेयरको माग गर्नुपर्दछ।
यो कार्य गर्दा लिड अन्डरराइटरले संभावित ठुला लगानीकर्ताहरुलाई सम्पर्क गरि निष्कासन गर्न लागिएको धितोपत्रको बारेमा विस्तृतमा बताउने र सो निष्कासन बारे उनीहरुको धारणा लिने गर्छ

३) मुल्य निर्धारण : यस प्रक्रियाको तेश्रो कार्य हो निष्कासन मुल्यको निर्धारण: यसको लागि संभावित लगानीकर्ताबाट माग गरिएको सेयर सख्या र मूल्यलाई तालिका बनाएर बिश्लेशण गरिन्छ। भारित औसत मूल्य गणना बिधिको प्रयोगद्वारा निष्कासनको मूल्य निर्धारण गरिन्छ। यहि निष्कासन मूल्यलाई कट अफ प्राइस भनिन्छ। बुक बिल्डिंग विधिको मुख्य प्रयोजन नै यहि मूल्य पत्ता लगाउनु हो।

४) प्रकासन: मूल्य निर्धारण पश्चात लिड अन्डरराइटरले लगानीकर्ताहरुले खरिद गर्न चाहेको सेयर संख्या र तिर्न चाहेको मुल्यको विवरणलाइ सार्बजनिक जानकारीको लागि प्रकाशित गर्नेछ। यसको उदेश्य निष्कासनमा पारदर्शिता कायम गर्नु हो।

५) बाँडफाँड : अन्तमा लगानीकर्ताहरुलाई उनीहरुको माग अनुसारको अनुपातमा अन्तिम निष्कासन मुल्यको दरले सेयरको बाँडफाँड गरिन्छ। धितोपत्र निष्काशनमा बुक बिल्डिंग विधिको प्रयोग गर्दा "धितोपत्र निष्काशन तथा बाँडफाँट २०७४" मा रहेको बाँडफाँट ब्यबस्था निस्क्रिय हुनजान्छ। यसको कारण हो बुक बिल्डिंग विधिको प्रयोग गर्दा यसको आफ्नै बाडफाँड प्रक्रिया हुन्छ, जुन बाँडफाँट निर्देशिकामा भएको ब्यबस्थासंग मेल खाँदैन। यो अवस्थाको जानकारी बैंक अफ नेपालले आफ्नो विवरण-पत्र मार्फत सर्बसाधारणलाइ दिनुपर्छ।धितोपत्रको सार्बजनिक निष्काशन कार्य अब ३० दिनबाट १५ दिनमा सम्पन्न गरिसक्नुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासमा यस्तो समयको म्याद ३ दिनको हुन्छ। यो आधारमा १५ दिनको समय धेरै हो र यसलाई ३ वा ५ दिनमा ल्याउन जायज हुन्छ।

माथिको प्रक्रियालाई एक उदाहरणबाट हेरौं। मानौं "बैंक अफ नेपाल" नामको कुनै एक बैकले आफ्नो रु. १००/- अंकित दरका १ अर्ब कित्ता सेयरमध्ये ३०% अर्थात् ३० करोड कित्ता सेयर सर्बसाधारण लगानिकर्ताको लागी सार्बजनिक निष्कासन गर्न चाहन्छ। उसले "इन्भेस्टमेन्ट बैंक अफ नेपाल" नामको इन्भेस्टमेन्ट बैंकरलाइ निष्कासन प्रबन्धक (लिड अन्डरराइटर वा लिड म्यानेजर वा बुक-रनर) नियुक्त गर्दछ। सेयर निष्कासनको ब्यबस्थापन र अन्डरराटिंग गर्ने संस्थालाई नेपालमा निष्कासन प्रबन्धक भनिन्छ भने अन्तर्राष्ट्रिय अभ्यासमा लिड अन्डरराइटर ज्यादा प्रचलित छ। यसलाई लिड म्यानेजर पनि भनिन्छ। बुक बिल्डिंग कार्य ब्यबस्थापन गर्नेलाई बुक-रनर भनिन्छ।

बैंक अफ नेपाललाइ लिड अन्डरराइटर इन्भेस्टमेन्ट बैंक अफ नेपालले बित्तिय मूल्यांकनको आधारमा निष्कासन मुल्यको दायरा सुझाब गर्छ। बोल-कबोल गर्न सकिने निष्काशन मूल्यको यो दयारा लिड अन्डरराइटरले "बैंक अफ नेपाल"को बास्तबिक र प्रक्षेपित बित्तिय तथ्यांकलाइ विभिन्न बित्तिय मुल्यांकन बिधीको प्रयोग गरेर निकालेको मुल्यांकन रकमको आसपास हुन्छ। मानौं बैंक अफ नेपालको प्रति कित्ता सेयरको बित्तिय मुल्यांकन रु. २००/- हुन् आउछ भने यसको निष्काशन मुल्यको दायारा १५-२०% ले बढाएर रु. २००/- देखि रु.२२०/- सम्म राख्न सकिन्छ। यो दायारामा रु.२००/- लाइ न्युनतम आधार मूल्य (फ्लोर प्राइस) भनिन्छ भने रु.२२०/- लाइ अधिकतम मूल्य (सिलिङ्ग प्राइस) भनिन्छ। निष्काशनमा मुल्यको यो दायरा बाहिर गएर कसैले सेयरको माग गर्न सक्दैन।

यो निष्काशनमा इन्भेस्टमेन्ट बैंक अफ नेपालले लगानीकर्ताबाट रु.२००/- मा १५ करोड कित्ता, रु.२०५/- मा १२ करोड कित्ता, रु.२१०/- मा १० करोड कित्ता, रु.२१५/- मा ८ करोड कित्ता र रु.२२०/- मा ५ करोड कित्ता गरि कुल ५० करोड कित्ता सेयर खरिदका लागि आबेदन प्राप्त गरेको छ। यो आबेदनको आधारमा बुक-रनर इन्भेस्टमेन्ट बैंक अफ नेपालले भारित औसत मूल्य निकाल्छ, जुन करिब रु. २०८ हुन् आउछ। यही मुल्य नै प्रत्येक आबेदक लगानीकर्ताको लागि अन्तिम निष्कासन मूल्य हुन्छ। यसरी धितोपत्रको अन्तिम निष्काशन मूल्य पत्ता लगाइन्छ।

निष्कासन मूल्य रु.२०८/- भन्दा धेरै मुल्यमा आबेदन गर्ने लगानीकर्ताले बढी रकम फिर्ता पाउछन भने यो मूल्य भन्दा कममा आबेदन गर्ने लगानीकर्ताहरुले थप रकम जम्मा गर्नुपर्ने हुन्छ। तर निष्कासन मूल्य रु.२०८/- भन्दा कम मुल्यमा आबेदन गर्ने लगानीकर्ताहरुले बढी मुल्यमा सेयरको खरिद गर्न बाध्य हुँदैनन । उनीहरुले बढी मुल्यमा सेयरको खरिद गर्न वा नगर्न सक्छन। अन्तमा लगानीकर्ताहरुलाई उनीहरुको माग अनुसारको अनुपातमा प्रति सेयर रु. २०८/- को दरले सेयरको बाँडफाँड गरिन्छ।

अन्य बिधी: अन्तर्राष्ट्रिय अभ्यासमा बुक बिल्डिंग बिधीको अलावा अन्य बिधीहरुबाट पनि धितोपत्रको सार्बजनिक निष्कासन गरिन्छ, जस्तै: निश्चित मूल्य बिधी, लिलामी बिधी (डच अक्सन, ओपन आइपीओ), डाइरेक्ट लिस्टिंग आदि छन्। ति देशहरुमा यस अलावा अरु बिधीहरु पनि निर्बाध अभ्यास गर्न सकिन्छ। त्यसो त अवस्था हेरी द्रुत बुक बिल्डिंग र आंशिक बुक बिल्डिंग पनि प्रयोग गरिन्छन। नेपालमा भने निश्चित मूल्य बिधी (त्यो पनि अंकित मुल्य) मा मात्र प्राथमिक निष्कासन हुँदै आएको छ।

निश्चित मूल्य बिधीमा बित्तिय मुल्यांकनका विभिन्न बिधी प्रयोग गरेर सेयरको फरक फरक बित्तिय मुल्यांकन गरिन्छ र ति मुल्यांकनको औसत निकालिन्छ। यहि औसत मूल्यमा १० देखि १५% सम्म कम गरेर निष्कासन मूल्य निर्धारण गरिन्छ। यसो गरिनुको कारण संस्थागत लगानीकर्तालाई आकर्षित गर्नु हो। यसमा निष्कासन मूल्य स्थिर (निश्चित) रहन्छ र सोहि मुल्यमा लगानीकर्ताहरुबाट आबेदन माग गरिन्छ।

लिलामी बिधीमा सेयरको बित्तिय मुल्यांकन गरिएको रकमको आसपास कुनै एक मूल्य दिइन्छ र लगानीकर्ताहरुले सो वा सो भन्दा बढी मुल्यमा सेयरको माग गर्नु पर्दछ। यसमा सकेसम्म अधिकतम मूल्यमा सेयरको बिक्री गर्ने कोसिस गरिन्छ। लिलामी विधिमा "डच अक्सन" बिधी धेरै प्रचलित छ। डच अक्सन बिधीको सबैभन्दा ठुलो प्रयोगकर्ता युएस डिपार्टमेन्ट अफ ट्रेजरी (अमेरिकी अर्थमन्त्रालय) हो र उसले "फेडरल रिजर्भ" मार्फत निष्कासन गर्ने ट्रेजरी बिल यसै बिधीको प्रयोग गरी बिक्री गर्दछ। सिंगापुर टेलकम र जापान टोबाकोले १९९४ मा र गुगलले २००३ मा आफ्नो सेयर निष्कासन गर्दा डच अक्सन विधिको प्रयोग गरेका थिए। सेयर पुनर्खरिदमा पनि डच अक्सन विधिको ब्यापक प्रयोग हुन्छ। लसएन्जेलस स्थित बुटिक ईन्भेस्टमेन्ट बैंक डब्लुआर ह्याम्ब्रच्टलाइ डच अक्सनमा एक्स्पर्ट स्पेस्लिष्ट मानिन्छ।

"डाइरेक्ट लिस्टिंग" विधीमा निष्कासन गरिने सम्पूर्ण सेयरहरु सबैभन्दा पहिला स्टक एक्सचेन्जमा लिस्टिंग गरिन्छ। लगानीकर्ता आँफुले चाहेको संख्यामा सिधै स्टक एक्सचेन्जबाट बजार मुल्यमा सेयर किन्नु पर्दछ। स्पटीफाई नामको डच म्युजिक स्ट्रिमिङ्ग कम्पनीले २०१८ मा यो बिधी प्रयोग गरेको थियो। उसले आफ्ना सेयरहरु न्युयोर्क स्टक एक्सचेन्जमा लिस्टिंग गरेर बिक्री गरेको थियो। "डाइरेक्ट लिस्टिंग" बिधीको प्रयोग युरोप, अमेरिकामा पनि नयाँ नै भएकोले त्यसबेला यो त्यहाँको छापामा धेरै छाएको थियो।

अमेरिका, युरोप लगायतका देशहरुमा लिड अन्डरराइटरलाइ धितोपत्र निष्कासनमा धेरै लचकता हुन्छ। उनीहरु धेरै काम आफ्नो तजबिजमा गर्न सक्छन, तर कसरी गर्ने भन्ने प्रक्रिया भने सार्बजनिक गर्नुपर्दछ। लिड अन्डरराइटरले कम्पनीले निष्कासन गर्ने सम्पूर्ण सेयरहरु खरिद गरी आफ्नो तजबिजले मुल्य राखी अन्डरराइटिंग गराउने र आंफुले चाहेका लगानीकर्ताहरुलाइ बिक्री गर्ने गर्नसक्छ। यसलाई "खरिद गरिएको कारोबार" (Bought Deal) भनिन्छ। यसरी किनिएका सेयरहरु बिक्री गर्ने प्रक्रियामा लिड अन्डरराइटरले "रोड शोज" गर्ने गर्छ। "ग्रिन सु अप्सन"को ब्यबस्था भएको अवस्थामा १०-१५% ले अतिरिक्त सेयर बिक्री हुनसक्छ।

यसमा लिड अन्डरराईटरलाइ बाँडफाँडको सम्पूर्ण अधिकार हुन्छ। कसैले धेरै सेयर खरिद गर्ने उदेश्यले धेरै मूल्य राखेर सेयरको माग गर्छ भने उसको आबेदन लिड अन्डरराइटरले रद्द गर्नसक्छ। उसले निष्काशन कम्पनीको सहमतिमा निष्कासन मुल्यको दायरा परिबर्तन गर्नसक्छ। लगानीकर्ताहरुले पनि बाँडफाँड हुनु पहिले आफ्नो माग गरिएको सेयर शंख्या र मुल्यमा परिबर्तन गर्न सक्छन। बाँडफाँड पश्चात सेयर खरिद नगर्न पनि सक्छन।

कुन बिधी सहि: कुनै एक बिधी सर्वथा सर्बमान्य हुँदैन। कुनै एक समयमा एक बिधी ज्यादा उपयुक्त हुन्छ भने अर्को समयमा अर्कै बिधी। निष्कासन कम्पनीको लागि एक बिधी सहि हुनसक्छ भने लगानीकर्ता, अन्डरराइटर र स्टक एक्सचेन्जको लागि अर्कै। तर निष्कासन बिधी छनोट गर्ने अधिकार निष्कासन कम्पनीको हो। निष्कासन कम्पनीले जुनसुकै बिधी रोजे पनि लिड अन्डरराइटरको सल्लाह र सुझाबमा मात्र यसबारे अन्तिम निर्णय हुन्छ।

निष्कासन बिधीको छनोट गर्दा यी दुइ प्रश्नको जवाफ खोज्नै पर्ने हुन्छ: पहिलो, कुन विधिले निष्काशन कम्पनीलाई बढी भन्दा बढी पुंजी संकलन गर्न मद्दत गर्दछ? र दोश्रो, निष्कासन पश्चात स्टक एक्सचेन्जमा कारोबार हुँदा कुन बिधी अन्तर्गत धितोपत्रको बजार मुल्यमा कम उतार चढाब आउछ?

निश्चित मूल्य बिधीले भन्दा बुक बिल्डिंग, लिलामी र डाइरेक्ट लिस्टिंग विधिले निष्कासन कम्पनीलाई बढी लचकता दिन्छ। निश्चित मूल्य बिधी अन्तर्गतको प्राथमिक निष्कासनको मूल्य कि त कम हुन्छ कि त बढी हुन्छ। निष्कासन मूल्य कम हुँदा निष्कासन कम्पनीले गुमाउने र बढी हुँदा लगानीकर्ताले गुमाउने हुन्छ। बुक बिल्डिंग, लिलामी र डाइरेक्ट लिस्टिंग विधिले धेरै हदसम्म यो समस्यालाइ हल गरि सहि मूल्य निर्धारण गर्न मद्दत गर्छन।

बुक बिल्डिंग विधिको सफलता लिड अन्डरराईइटरको दक्षता र धितोपत्रको सहि बित्तिय मूल्यांकनमा भरपर्छ। सहि मुल्यांकन नै बुक बिल्डिंग बिधीको मुटु हो। सहि मुल्यांकनको लागी बृहत साधनहरुको जटिल समायोजन गरि मुल्यांकन गर्न सक्ने जनशक्तिको आबश्यकता पर्दछ। तर त्यस्तो जनशक्ति हाल देशमा उपलब्ध नहुन सक्छ। भएपनि त्यस्ता दक्ष जनशक्ति औलामा गन्न सकिने भन्दा धेरै उपलब्ध नहुनसक्छ।

बुक बिल्डिंग विधिले लिड अन्डरराईइटरलाइ बढी कुसल, दक्ष र जिम्मेवार हुन् दबाब पैदा गर्छ। यदि लिड अन्डरराईइटरले सेयरको सहि, निस्पक्ष र ब्यबसायिक बित्तिय मुल्यांकन गर्नसक्छ भने बुक बिल्डिंग विधिले पुंजी बजारको बिस्तार गर्न मद्दत गर्छ, अन्यथा यो प्रत्युपादक हुनजान्छ। यदि बित्तिय मुल्यांकन धेरै भयो भने लगानीकर्ताले नोक्सानी बेहोर्नुपर्ने हुन्छ र अन्डरराईइटर प्रति उनीहरुको विश्वास र साख घटेर जान्छ। यदि बित्तिय मुल्यांकन कम भयो भने निष्कासन कम्पनीले नोक्सानी बेहोर्नुपर्ने हुन्छ र उनीहरुको अन्डरराईइटर प्रति विश्वास र साख घटेर जान्छ। तसर्थ अन्डरराईइटरलाइ सहि र निष्पक्ष बित्तिय मुल्यांकन गरेर आफ्नो विश्वास र साख बढाउनुपर्ने बाध्यता र दबाब रहन्छ। तसर्थ अन्डरराईइटर कार्य र जिम्मेवारी महत्वपूर्ण छ।

धितोपत्रको प्राथमिक निष्काशनमा सेयरको मूल्य निर्धारण गर्दा ज्यादातर अवस्थामा बुक बिल्डिंग र निश्चित मूल्य बिधि नै प्रयोग हुनेगर्छ।सुरुमा निश्चित मुल्यको ज्यादा प्रयोग हुने गर्थ्यो तर पछि यसको स्थान बुक बिल्डिंग बिधिले लिएर आजकल धेरैले यहि बिधि प्रयोग गर्ने गर्छन। निश्चित मुल्य र अन्य बिधिहरुको तुलनामा बुक बिल्डिंग ज्यादा प्रचलित र ब्यापक छ। कारण यो बिधि अन्तर्गत मूल्य निर्धारणमा धितोपत्र निष्कासनका सबै पक्षको सहभागिता रहन्छ। लगानीकर्ताहरुले मूल्य छान्ने हुँदा बुक बिल्डिंग बिधी मूल्य निर्धारणमा चुस्त र प्रभावकारी हुन्छ। बुक बिल्डिंगमा भारित औसत मूल्य मूल्य छनोट गरिन्छ भने लिलामी र डाइरेक्ट लिस्टिंगमा अधिकतम मूल्य। यहि कारणले बुक बिल्डिंग बिधीलाई लगानीकर्ता, नियमन निकाय र स्टक एक्सचेन्जले पनि मन पराएको पाइन्छ। तर यो बिधी तुलानात्मक रुपमा बढी खर्चिलो र समय लाग्ने प्रकृतिको हुन्छ।

निष्कर्ष: ढिलै भएपनि पुँजीबजारमा केहि नयाँ अबधारणाहरुले प्रवेश पाउदैछन्। बुक बिल्डिंग, स्टक डिलर, कमोडिटी मार्केट यसका केहि उदाहरण हुन्। हेजिङ्ग, हेजफन्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल जस्ता अरु अबधारणा पनि स्थापित हुने क्रममा छन।

धितोपत्रको प्राथमिक निष्काशनमा सेयरको मूल्य निर्धारण गर्न बुक बिल्डिंग बिधीको ब्यबस्था भए पश्चात डाबर नेपाल, सुर्य नेपाल, एनसेल, भाटभटेनी जस्ता अरु पनि धेरै बित्तिय अवस्था राम्रो भएका कम्पनीहरुलाई आफ्नो सेयर प्रिमियममा जारी गर्ने बाटो खुलेको छ। म्यानुफ्याक्चरिङ्ग सेक्टरका पब्लिकमा नगएका तर तर प्रिमियममा सेयर निष्कासन गर्न पाएको अवस्थामा जान चाहने कम्पनीहरुले यो ब्यबस्थाको राम्रो लाभ लिन सक्छन। यसले सेयर निष्कासन गर्ने कम्पनीलाई अतिरिक पुँजी (सेयर प्रिमियम) दिनेछ, जसले गर्दा सो कम्पनीको ऋण/कर्जा घट्न जानेछ। ऋण(कर्जा) घटेमा कम्पनीलाइ ब्याजको बित्तिय दबाब रहने छैन र सेयरधनीहरुलाई छिटो प्रतिफल प्राप्त हुनसक्छ। ऋण कम हुन जाँदा ऋणधनिहरुको लागि पनि जोखिम कम हुन् जानेछ।

यसको फाइदा पुँजीबजारले पनि लिनसक्नेछ। लगानीकर्ताको लागी लगानी र विविधिकरणको अवसर हुनेछ। यहि हो पुँजीको परिचलान र बजारको विस्तार भनेको। तुलनात्मक रुपमा बुक बिल्डिंग मूल्य निर्धारणको उपयुक्त र सहि बिधि हो।

बुक बिल्डिंग भन्ने बित्तिकै यसमा निष्कासन कम्पनी आफ्नो धितोपत्रको मूल्य निर्धारणमा पूर्ण स्वतन्त्र हुन्छ। धितोपत्र बोर्ड जस्तो नियमन निकायले मूल्य निर्धारण र सेयर बाँडफाँडमा कुनै अंकुस लगाउनु उपयुक्त हुँदैन। त्यसो गरिएमा बुक बिल्डिंग बिधीको प्रभाबकरिता फिका भएर जान्छ।

मुक्ति अर्याल // Twitter: @isdbr
(विगतमा एक दशकसम्म नेपाली पुँजी बजारमा कार्यरत अर्याल हाल अमेरिकी पुँजी बजारसँग सम्बद्ध छन्।)

1 comment:

  1. यता पढे पछि पत्रिकामा पढेको त आधि आधी लाग्दो रैछ । दाजुले यहाँ सबै कुरा स्पष्टसँग लेखिदिनु भएको रहेछ । म जस्तै बजारलाई भर्खर भर्खर नियाल्न थालेकाहरुको लागि धेरै उपयोगी र जानकारी मुलक रहेछ । अझ धेरै पढ्न पाईयोस् दाजु । शुभकामना :)

    ReplyDelete